दुःख विसाउने घरेलु ‘चौपारी’ संगको बिछोड !

चिरञ्जिवि ठानीएको निर्दलीय पंचायति ब्यवस्थाको ३० बर्षको अल्पायुमा अवसानसँगै आखिर २०४६ साल पनि सकियो । पलेँटी कसेरै खरो कम्युनिष्ट भैरहने हाम्रा दिनहरु पनि सँगसँगै ओह्रालो लाग्ने तर्खरतिर देखिए । राजनीतिक दलहरु धुवाँको मुश्लोले गुम्सिएर निसासिंदै दुलाबाट निस्केर ढुनुमुनाएको ढाडे दुम्सी जस्तै चारैतिर जनसभाहरु आयोजना गर्न तँछाड मछाडको दौडाहामा निस्कन कस्सिँन थालेका थिए । हाम्रो पार्टी एकता संयोजन समितिलाई पार्टी एकताको सान्दर्भिकता र महत्वसँगै ‘२०४६ को सम्झौता धोखा हो’ भन्ने कुरा जनतालाई सुनाउनमै भ्याई नभ्याई चटारो थियो । मैनापोखर चोकलाई ‘मशाल’ चोक भनेर स्थापित गराउने हामी दुई दाजुभाई शालिग्रामजि र मेरो बिचमा भने एउटा अनौठो संकट थियो ।मोहन विक्रम सिंहले नेतृत्व गरेको चौथो माधिवेशनबाट २०३७ मा ऋषी देवकोटा आजादले विद्रोह गरे सँगै प्रस्तावित वैकल्पिक केन्द्रीय सदस्य (!) भनिए पनि दाजु चौ.म. बाट अलग हुनु भएर यता नेकपा (मशाल) को समर्थकको भुमिकामा मात्र सिमित हुनहुन्थ्यो । मैले नसकेपनि आखिर बाटो त्यही ठिक हो, ‘मेरो स्वास्थ्यले पनि साथ दिईराखेको छैन, जवान पनि छौ तिमीले गर्दा ठिकै हुन्छ’ भनेर कहिंकतै कुनै कमिटीमा पनि संगठित हुने तिर छलफल गर्नै मान्नु भएन । दिनभर पसलमा आएका वा नआएका पनि कसैकसैलाई त पसलमा नै बोलाएर दह्रो राजनीतिक छलफल चलाउने भएकाले अरुको नजरमा नेकपा मशालको ठुलै नेता ठानिनु हुनुहुन्थ्यो । अलिक सांगठनिक प्रकृया बुझेकाहरुले भने वाम बुद्धिजिवि भनेर बुझ्दथे । कस्तो विडम्वना ! चुपचाप बस्न पनि नसक्ने र सांगठनिक प्रकृयामा बाँधिन पनि नचाहने बडो विचित्रको स्थिति थियो वहाँको । पछि यसो अट्कल गरेँ शायद यसो गरेर वहाँले मलाई सहयोग पनि पुर्याउने र आफ्नो उपस्थिति पनि जनाईरहन चाहनुहुन्थ्यो कि खै !? किनकि यो क्षेत्रमा जिल्लास्तरको सकृय प्रतिनिधिको रुपमा म एक्लै पनि थिएँ र असजिलो पनि भैरहेको थियो ।

‘छिपछिपे बाट गहीराई तिर र सरलबाट जटिल तिर’ भन्ने सैद्धान्तिक संष्श्लेषणको ब्यवहारिक प्रयोग म आँफैमाथि शुरू हुँदै थियो । घरनै पहिलो पाठशाला हो भनिए जस्तै राजनीतिको पहीलो पाठशाला विद्यार्थी जिवनताका साथिहरुबिच बन्ने सर्कल पनि एक हो रहेछ । तर मेरो विद्यार्थिकाल भने विद्रोह त गर्ने, संगठित भएर होईन एकलकाटे (Heroism) संघर्षमा घोटिने गुरुहरुको विचमा बढी गुज्रेकोले ‘घुईरो घुईरो सुनेको तर सांगो पांगो थाहा नपाएको अभिमन्यु’ को भन्दा फरक थिएन । यसो गुपचुप बस्न खोजेको भनक पाउनु भयो भने दाजुले उत्प्रेरीत गर्न जोडबल लगाउनु हुन्थ्यो । दौडिन खोज्यो भने खुट्टा लुटुपुटु हुने साह्रै गाह्रो उफ !

हाम्रो परिवार (निरक्षर श्रीमति, भन्ट्याङभुन्टुङ छोराछोरी) को विचमा जिविकाको मुख्यश्रोत फगत त्यही एउटा दैनिक उपभोग्य वस्तुको दोकान मात्र थियो । यद्यपि तुलनात्मक रुपमा स्थानीय स्तरमा ग्राहकलाई संतुलित राखेको अत्यन्त स्थापित पसल थियो र लागानीकर्ता साहुहरुलाई विश्वस्त पार्न पनि सफल नै थियो । तथापि केहीगरि उधारो दिने साहुहरुले खुट्टा झिकिदिएको खण्डमा उति नै वेला गर्ल्याम गुर्लुम ढल्ने चुनौति प्रशस्त थियो । मेरो क्रियाशीलतामा कमि हुन थालेपछि सुस्तसुस्त दोकान र सांगठनिक जिम्मेवारी विचको अन्तरविरोधले मज्जाले गाँज्न शुरु गर्यो । भर्खर १४-१५ बर्षका नावालिगहरु नै भएपनि दोकानमा छोराछोरीबाट सहयोग लिएर तत्कालको गर्जो टार्ने विचको बाटो खोज्ने सोचेको थिएँ । फेरी छोरीलाई लगाउँदा छोराको पढाई विग्रन्छ भनेर छोरीलाई दोकानमा लगाएर पढाई बिगारि दियो भन्ने आरोप खेप्नुपर्ने । छोरोलाई लगाउँदा छोरीलाई अविश्वास गरेर उ भन्दा सानो छोरोलाई दोकानमा लगाएर छोराको भविष्य खतम पार्यो भनेर परिवार/समाजमा हुनसक्ने एकखाले टिप्पणीको सामना गर्नुपर्ने त्रासले बाटो छेक्न खोज्यो । असमन्जस्यताको गाँठो नफुके पछि दाजुसँग उपयुक्त राय मागेँ । दाजुले हुनत अहीले हामीले लड्ने भनेको सामजिक विभेदको अन्त्यको लडाईं नै हो । तथापि ‘सम्पतिको उत्तराधिकारी छोरो हुने समाजिक मान्यता अहीले नै विस्थापित भैहाल्न सक्ने देखिन्न ।’ नेपोलियन बोनापार्टले ‘मलाई तिमिले योग्य पचास ओटी आमा देउ, म तिमिलाई सिंगो राष्ट्र दिन्छु’ भन्ने गरेको उक्ति बिर्सन हुँदैन । सामाजिक अवगालबाट बच्ने उदेश्यले मात्र नभएर सचेत तप्काले छोरीको पढाई लेखाईमा सक्दो जोड गरेर योग्य बनाउन खोजिएन भने भोली उनीहरुले नै सराप्ने स्थिति आउन सक्छ र समाज झन फछाडी धकेलिन सक्छ भनेर लामो ब्याख्या गर्नु भयो । ठिकै हो भन्ने लाग्यो । सानै भएपनि दिपकलाई ब्यवहारिक पाटो सिकाउनु उपयुक्त नै लाग्यो र सुस्तसुस्त दोकानको जिम्मेवारी बढाईदिन थालेँ । हुनपनि उसले आफु सानैमा घरब्यवहारमा बाँधिन परेकोले कहिलै वालपनको उल्लासमय उमंगको स्पर्स नै गर्न पाएन । ब्यवहारमा गरिखान सक्ने बनेपनि अरुको बारेमा सोच्दा सोच्दै आफुलाई विर्सन बाध्य भयो । त्यसो त घरमा भएपछि सामान्य सहयोग सबैको रहने नै भयो र रह्यो पनि । म भने घरी मशाल नै सजिलो थियो । कम्युनिष्ट पनि भैईने पिंडिको डिल छोडेर यताउता जान पनि नपर्ने भनेजस्तो, फेरी कतिबेला भने यो भन्दा ठुलो सबैको ब्यवस्थापन हुने भएपछि आ ! किन ‘घाँसी’ नबन्ने भन्ने धुन पनि छँदैथियो । जेहोस मेरो गति अकर्मण्यताबाट पार हुँदै पसलतिर ध्यान दिने र राजनैतिक काम तिर जोडदिने गरी एउटा पसलेको भेषमा दिनभर जनसम्पर्क शुत्रहरु ठोस गर्ने र राति छलफलमा क्रियाशिल हुने तिर मोडीयो । यो मेरो स्तरको पहिलो छलांग थियो ।

मोतिपुर गाविस अन्तर्गत पुनर्वासी गाँउ दमौलीमा चितवनबाट बसाईं सराई गरेर आएका गाउँलेहरुको बसोवास थियो।राजनीतिक प्रभावका दृष्टिले कामरेड मोहन विक्रमको संयुक्त नेतृत्व छउन्ज्याल पार्टीमा रहेर काम गरेका तर फुटपछि मशालतिर आकर्षित भएकाहरु र केही नेकपा मानन्धर समुहमा आस्था राख्ने शिक्षक, स्वस्थ्यकर्मी आदिको वसोवास थियो । मानन्धर समुहका केन्द्रीय नेता निलाम्बर आचार्य क. विष्णु लामिछानेको घरमा आउने जाने गरेको सुनिन्थ्यो । सुस्तसुस्त विष्णुजि स्वयंको निष्क्रियता बढे पछि दमौलिको सित्कोपित्को पनि मशालले नै ततेर्नु स्वभाविक बन्यो । यसरी नेकपा (मशाल) को दह्रो प्रभाव रहेको दमौलि गाँउ नेकपा (एकता केन्द्र) बर्दीयाको भरपर्दो जनाधारयुक्त गाउँ बन्नपुग्यो । हाल माईति गाँउको नामले चिनिने जगतियामा पुरानो नेता रामलौटन थारु त्यहिँको भएकोले काम गर्न धेरै असजिलो थिएन । गाविस जमुनीमा युवाजन शक्ति YCL को मुख्य प्रतिनित्व भाई नन्दप्रसाद बराल (बरालकान्छा) ले गर्थे ।

जिल्ला पार्टिको सांगठनिक स्थिति त्यति मजबुत नभएकोले पुर्वी बेल्ट हेर्ने अर्को जिल्ला सदस्य थिएन । भाषण भिषणको मौसम थियो । म आफु भने मासलिडर थिईन । मास लिडर हुनु र वैचारिक, राजनीतिक संगठक (Organiger) हुनु निकै फरक कुरा हो रहेछ । आफुलाई भने छिटो छिटो अरु दलहरुलाई उछिन्ने धुन थियो । तर अप्ठयारो एकपछि अर्को गर्दै घेर्न अगाडी अगाडी आईपुग्थ्यो । लखतरान पर्दै घरपुगे पछि दुख विसाउने घरेलु ‘चौपारी’ छँदै थियो । यसो कुरा चलायो दाजुले फेरी अन्तर्विरोधको सार्वभौमिकता बारे लाम्है प्रवचन दिनु हुन्थ्यो । केहीगरी सुख थिएन । वाह ! अभिरुचि पनि कस्तो विहान त सबै विर्सेर फेरी बुर्कुसी !

२०४६ को संयुक्त जनआन्दोलनमा दुई धारमा मोर्चावद्ध भएर नेतृत्त्व गरेका कम्युनिष्ट पार्टीहरु मध्ये नेकपा (मशाल), चौ.म, रुपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक संगठन र क. हरिबोल गजुरेल नेतृत्वको पातलो मसाल समेत ४ दलको पार्टी एकता संयोजन समिति बनेकै थियो । २०४७ मंसिरमा एकता महाधिवेशन सम्पन्न भएपछि विधिवत रुपमा नेकपा (एकता केन्द्र) बन्यो । बाममोर्चा भित्रको नेकपा मार्क्सवादी र नेकपा माले विच २०४७ पौषमा एकिकरण भएर नेकपा (एमाले) बन्यो । एकता केन्द्र पार्टी भुमिगत राखेर डा. बाबुराम भट्टराईको नेतृत्वमा संयुक्त जनमोर्चा नेपाल नामक खुलामोर्चाको नामबाट उपयगको नीति लिएर निर्वाचनमा जाने भयो । झण्डै सँगसँगै जस्तो एकिकरण सम्पन्न गरेका यी दुई संगठन मध्य एमाले पार्टी आफै सरकार बनाउने गरी निर्वाचनमा जाने भएपछि यी दुई पार्टी विचको सैद्धान्तिक मतान्तरले गर्दा समाजमा, विशेषगरि समर्थक र कार्यकर्ताहरु माझ माओ विचारधारा बोक्नेहरु एकिकृत भएर बनेको एकताकेन्द्र क्रान्तिकारी तथा मार्क्सवादीसंग मालेको एकता पश्चात बनेको एमाले झन बढी दक्षिणपन्थि भाषमा भासिएको भन्ने संदेश प्रवाहित हुन पुगेको थियो । यसको भरपुर फाईदा उठाउने हेतुले पनि क्रान्तिकारीहरु गोलबद्ध होऔं भन्ने हाम्रो अघोषित अभियान नै थियो । यस्तैमा नेकपा (माले) का स्थापित स्थानीय नेता क. बलराम काफ्ले भित्र आफु संगठित रहेको पार्टी एमाले बनेपछि तिब्र हुँदै गएको असन्तुष्टि स्वयं मदन भण्डारीसंगै पोख्नु भएर बढी चर्चामा हुनुहुन्थ्यो । वहाँलाई त्यहाँबाट विद्रोह गराउन प्रतक्ष अप्रतक्ष संलग्नता थियो नै ।यसको भरपुर सदुपयोग गर्दै जाँदा अन्ततः मेरो सम्पर्कमा आईपुगेको भएर पनि बढी सम्मानित ढंगले प्रवेश गरेको महशुस होस भन्ने हेतुले त्यसवेलाका चर्चित ब्यक्तित्व क. नरेन्द्रजंग पिटरको माध्यमबाट संगठित हुने प्रपंच मिलाईयो (यद्यपि वहाँले त्यति गम्भिर ढंगले लिनुभएन) । हाम्रो विच पार्टी स्कुलिंगको अन्तरले कहिले काहीं गिजोल्थ्यो तापनि मासलिडरको विश्वसनीय क्षमता भएको, सडक आन्दोलनको निमित्त भरपर्दो र ईमान्दार ब्यक्तित्व, वहाँ संगठित भएपछि भने धेरै सहज भयो । एक त म मासलिडर थिईन अर्कोतर्फ नेतृत्वको हैसियतले भावि जिम्मेवारी प्रतिको जवाफदेहिताले केही सतर्कताको कुरा पनि हुन्थ्यो । तर सारमा काफ्लेजिको जति मलाई सडक आन्दोलनको अनुभव पटक्कै थिएन । त्यसैले यदाकदा ‘डरपोक’ नेतृत्व भनेर वहाँबाट मलाई हुने आलोचना मिठै मानेर पचाईदिन्थेँ । एकताको अर्को घटक सर्वहारावादी संगठन र पातलो मसालको प्रभाव मोटो मशालको तुलनामा अत्यन्त झिनो र सिमित ब्यक्तिहरु विच मात्र देखिन्थ्यो । ….श्रमिक संगठनबाट प्रतिनीधित्व गर्नु भएको रेशम सापकोटा, बिष्णु अधिकारी लगायतको टिमसंग यतिवेलैबाट सहकार्य जोडीएको हो । काफ्लेजिसंग प्रकारान्तरले १३-१४ बर्ष साथ संगत रह्यो । ठट्टा गर्ने, झगडा पनि गरि हाल्ने र छिट्टै मिलि पनि हाल्ने एकापसमा अत्यन्त माया गर्ने निकटको साथि पनि वहाँ नै रहनु भयो ।

यता अन्तरिम सरकारले २०४८ बैशाख २९ गते प्रतिनीधि सभाको चुनाब तोकिसकेको थियो । वुताले भ्याए सम्म लागियो । अरु संसदीय पार्टीहरुको तुलनामा हाम्रो पार्टीको स्थिति कम्जोर थियो । बर्दीयाको पार्टी ईन्चार्जसिप लिनुभएका क. कृष्ण भट्टराई ’सुवास’ मिलनसार, सज्जन ब्यक्ति हुनुहुन्थ्यो पछि क. भानु पनि आउनु भयो सबै राम्रै थियो । क. विष्णु पोख्रेल, क. वेदप्रसाद थारु लगायतको हाम्रो टिममा कमाण्डका हिसाबले हाम्रै तर्क माथि पर्दथ्यो । क. तिलक चालिसे ’हिमाल’, ग्यामप्रसाद चालिसे, सरला रेग्मी, लेखनाथ पौडेल र सुनिता सापकोटा (सहिद छोरी) विद्यार्थी संगठनमा थिए । २०४८ को निर्वाचनमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट उमेदवार बनाईएका क. रामचरण चौधरी राजापुर क्षेत्रकै वासिन्दा र जनताको एउटा हिस्सामा प्रभाव पनि राम्रै रहेको भनेर वहाँलाई नै उमेद्वार बनाईएको थियो । पटक पटक मत सर्वेक्षण गर्दा वहाँले जित्ने पक्का भन्ने नै रिपोर्ट आउथ्यो । मत गणना गर्दा त नराम्रो पराजय भोगियो ।

धाँधलि पनि भएको छैन आखिर किन हार भयो त ? भनेर बुझ्न जाँदा त यता थारु समुदायको मुखबाट हसीयाँ ठोकिया (हथौडा) लाई भोट दिने हो भन्ने बाहेक अरु नसुनिने, संयुक्त जनमोर्चाको चुनाब चिन्ह पनि तारा अंकित हँसीया हथौडा नै रहेकोले हामीलाई नै भोटदिने भनेका हुन जित हाम्रै हुन्छ भन्ने भ्रममा हाम्रा रिपोर्टरहरु परेका रहेछन । उता थारुहरुले हँसीया ठोकीयालाई मत दिन्छौं भनेको मोटो मशाललाई भोट दिन्छौं भनेका हुन भन्ने बुझेको एमाले पंक्तिले दिनहुँ रात रातभरी जसो मशाल लगायत सबै कम्युनिष्टहरु मिलेर एमाले बनेको हो । त्यो भर्खर कहाँबाट आएको को हो को हो संयुक्त जनमोर्चा भन्छ चिन्दै नचिनेकोलाई त्यसै किन भोट खेर फाल्छौ भनेर पढाउँदो रहेछन । हाम्रो पार्टी पंक्तिले यसरी यसरी एकताकेन्द्र बनेर संयुक्त जनमोर्चाको नामबाट चुनाब लडेको हो भनेर बोध गराउन त सकेन सकेन थारु समुदयले हँसिया ठोकीयालाई भोट दिन्छौं भनेको संयुक्त जनमोर्चालाई दिन्छौं भनेको होईन मशाल खोजेका छन भन्ने सामान्य मेशोपनि नपाएर हाम्रो चुनाब चिन्ह ‘तारा अंकित हँसीया हथौडा’ भएकोले यिनीहरुले हामीलाई नै दिने भनेका हुन ठानेर मक्ख परेकोले ड्याङ्ग खान पुगेको स्थिति रहेछ । त्यस्तै यता पुर्वी क्षेत्रमा पनि प्रचारप्रसार र जनसभा विच राम्रो तालमेल नमिलको जस्तो लागेकै थियो ।आखिर उमेद्वार क. विष्णु पोख्रेल पनि पराजित हुनुभयो ।

क. रामचरण चौधरी निर्वाचनमा पराजित भएपछि समिक्षा बैठकमा आफुले नेपालगञ्जमा गर्दै आएको नोकरी तिरै फर्कने मन्साय राख्नुभएको थियो । पार्टी केन्द्रको तर्फबाट ईन्चार्जसिप सम्हाल्नु भएका क. मेघराज ज्ञवाली र हाम्रो संयुक्त प्रयासबाट जिल्लाको राजनीति नछाड्न गरिएको छलफल र सुझावलाई बल्लतल्ल मानेर रामचरणजि जिल्लामा नै रहेर काम गर्न तयार हुनुभयो । भिन्न पार्टीबाट आउने नवआगन्तुकहरु प्रति जिल्ला पार्टी अलिक संकुचित रहेको महशुस हुन्थ्यो । त्यसैले अलिक ढिलो भएपनि काफ्ले जि जिल्ला समितिमा पुग्नुभएकोले पुर्वी बेल्टको रिक्तता पुर्ति भएको थियो । एकातिर निर्वाचनमा लगातार खटेर पनि हार ब्यहोर्न परेको टेन्सन थियो । अर्कोतिर यतिबेला नै कोहलपुर बसाईसराई गर्ने भनेर घरमा चलेको छलफलले मुर्तता खोजेको थियो । त्यसैले समिक्षा बैठकमा म आफु बाँके बसाईसराई गर्ने स्वकृतिको लागि अनुरोध गरिसकेको थिएँ । आफ्नो अनुपस्थितिकै कारण डामाडोल हुनेगरी दोकानको स्थिति खलवलिएको बेला आर्थिक हिसाबले बसाईसराई सजिलो थिएन । मानिसहरु कोहलपुर सरेपछि बुटोबाटै बर्सन्छ जस्तै एकप्रकारको प्रोपोगण्डा नै चलाएका थिए । कतै घरसल्लाह मेरो मनको भित्री पत्रमा चुनाबी हारको हीनताबोध टार्ने वहाना पो बन्यो कि खै !

अन्ततः २०५० बैशाख २० गते कोहलपुरको चप्परगौढीमा बसाईसराई गरीयो । त्यहाँ दुबैजना दाजुभाईको एकएक ओटा घडेरी नजिक नजिकै छँदै थिए । म सेटल भैसकेपछि यतै सार्नुपर्ला भन्ने सामान्य सल्लाह भएकै थियो । खोई किन हो दाजु चितवन फर्कने निर्णय गर्नु भएछ । दाजुसँग अद्याब्धि विछोडको स्थिति निकै अपृयताका बाब्जुद सहन परको स्थिति छ । तथापि राजनीतिक वैचारिक दृष्टिले आफ्नो वैकल्पिक उत्तराधिकरीको रुपमा मलाई विकास गराउन भरपुर प्रयास गर्नुहुने आदरणीय दाजु शालग्रामबाट विचार निर्माणको सवालमा मैले पाएको अमुल्य सहयोग सदा स्तुत्य एवं स्मरणीय रहि रहेको छ । क्रमशः

https://kanchulikhabar.com/news/24612

https://kanchulikhabar.com/news/24167