‘छोरो हराए पो दुःख, नत्र क्या का दु:ख’

पारीपट्टि खिद्रिमिद्री बेच्न राखेका पसलबाट ती महिला फर्किइन्। उनको हातमा ‘यम यम’ चाउचाउको पोको थियो। ती महिलाको अनुहार झपक्क बलेको उज्यालो र हँसिलो थियो।

मैले पानी रित्याएको हरियो गिलास उनको हातमा थमाउन इसारा गर्दै उनले मलाई सोधिन्, ‘तिम्रा कोही आफन्ती छन् सुर्खेतमा ?’

मैले धुलौटे सडकको पारिपट्टिको पीपल चौतारातिर हेरेँ र पोहोर साल सम्झिएँ।

पोहोरसाल बाको पैसा चोरी भएको यही चौतारोमा हो। बेलुका ‘सँगै चुरोट खाउँ’ भन्दै बगालमा मिसीए एक जना जोगी। तमाखु मात्र तानिरहने बा लगायतका साथीहरू ती जोगीले खल्तीबाट निकालेको ‘देउराली’ चुरोट देखेर मख्ख परे। सँगै बसेर ती जोगीले पातमा भातसमेत सँगै खाएको सम्झना छ मलाई।

जोगीले चुरोटमा के मिसाएछन्। सबै बेहोस भए, बिहान सबैको खल्ती छुराले काटेको जस्तो देखिन्थ्यो। जोगीले सबैको पैसा उडाएछन्।

सबैको खल्ती रित्तो भएपछि बा र बाका साथीहरूले ‘सहयोग माग्नलाई हाम्रो तिरका कोही छन् कि’ भन्दै खोजी गरेका थिए।

‘एक राज नाती छ। एयरपोर्टमा बस्छ रे। केही उपाया निकालुँला। अब झोक्राइ क्यान्या छौ’ बाले भने।

मैले यो नाम बिहानैदेखि सम्झिन खोजेको थिएँ। बाटोमा कसैले रोकेर सोधीहाले भने एयरपोर्टमा बस्ने एकराजलाई खोजेको भनौला भन्ने सोचेको थिएँ। न कसैले बाटोमा मलाई सोधेँ, न मैले यो नाम सम्झिन सकेँ।

सुर्खेतको तल्लो र उपल्लो कुना दौडिदै पत्ता लगाउन खोजेको पिपल चौतारो र सम्झिन खोजेको एकराज गिरीको नाम थियो। मैले मरिगए यो नाम सम्झिन सकेको थिइनँ।

अस्ति बाटोमा शंका लागेर होला आर्मीको कपडा लगाएका एक जना मान्छेले रोकेरै सोधेका थिए, ‘काँ जान ला’को कान्छा ?’ त्यो बेला पनि मैले एकराज गिरीको सम्झिन खोजेको थिएँ, अह ! सकिनँ। के के लटरपटर बोलेर म उँधो रातामाटोको ओरालो झरेँ। म तलै पुगिन्जेलसम्म उनले हेरिराखेका थिए।

अहिले यी महिलाका अगाडि उभिएपछि पोहोर सालको घटना, एयरपोर्ट, एकराज सिलसिलेवार भएर आयो।

अहिले यो नाम सम्झिएपछि सकुन भयो। यो एक जना गाँउलेको नामले मात्रै बा छेउमै उभिएको जस्तो आनन्द भयो।

चाउचाउ पकाउन कागजका टुक्राटुक्री जम्मा गरेर ठिग्रिङ्ग तीन वटा ढुंगा ठाडो पारेर बनाएको चुलोमा आगो झोस्दै थिइन् ती महिला। टहरो भित्र छिर्नलाई जुटको बोरा झुण्ड्याएर ढोका बनाइएको थियो। त्यहीँनेर उत्तानो परेको पुरानो कालो किटली ल्याउन अह्राइन ती महिलाले मलाई।

मैले किटली उनको हातमा थमाउँदै गर्दा भन्दै थिइन्, ‘यसरी नाना मान्छे भागेर आएपछि हराइन्छ। अनी, घरमा बा आमालाई दुःख हुन्छ नि कान्छा।’ उनले अझ थपिन्, ‘घरमा बाआमालाई छोरो हरायो भनेर कति दुस्ख होला।’

पोहोरसाल बाले पनि यस्तै भन्थ्ये।

यो पारिपट्टिको पीपल चौतारोबाट पैसा चोरी भएको बिहान साथीहरूलाई ढाडस दिइरहेका बाको आफ्नै अनुहार रून्चे देखिन्थ्यो।

अन्य ६ जनाको अनुहार मोसो दलेको भन्दा कालो भएको थियो। कसैको एउटा शब्द फुटेको थिएन। त्यही बेला मैले कम्मरमा बाले बाँधेको पटुगाको छेउ समातेर बाल प्रश्न सोधेको थिएँ ‘बा अब हामीन दुःख हुन्छ हो ?’

बाले मलाई जुरुक्क उचालेर काँधमाथि चढाउँदै भनेका थिए, ‘मेरो छोरो हराए पो दुःख, पैसा हराए के को दुःख छोरा। सुर्खेतमा काम गरेर बँसुला। दुःख हुन्न छोरा।’

बाले दुःख हुन्न भने पनि मेरा आँखा त्यो दिनभरी ओभाएनन्। आठ वर्षे कलिलो छोरोको अनुहारमा हाँसो हेर्न बाले बारम्बार भनिरहन्थ्ये, ‘छोरो हराए पो दुस्ख। नत्र क्या का दुस्ख।’

बाले नुन ब्यापारीसँग पैसाको जोहो गरे।

पैसाको जोहो गरेको भोलिपल्ट दिउँसो हामी चढेको बस नेपालगन्ज बसपार्क पुग्यो। रातो घाम र हपक्क गर्मी। बसपार्क वरिपरिका दोकानमा बजेका हिन्दी गीतहरूको चर्को आवाज। बुढो साइकिलको बिचबाट एउटा खुट्टो बाहिर निकालेर साइकिल चलाइरहेका म जस्ता साना केटाहरू। रिक्सामा चम्किला लुगा लगाएर हिँडेका महिलाहरू।

यी सब दृश्यहरुले मेरो मन तरंगीत भयो। हिजो बा’को पैसा चोरी भएदेखि मेरो अनुहारमा छोपिएको पर्दा बिस्तारै उघ्रिन थाल्यो।

हामी बसको छतमा बसेका थियौं। छतबाट तल ओर्लिदै गर्दा ‘भात खाने हो’ भन्ने हिन्दी टोन मिसीएका मान्छेहरु बालाई धेरेर बोलाउन थाले। ‘कति ब्यग्र भएर हामीलाई भात खुवाउन कुरेका रछन्’ मलाई मनमा लाग्यो, ‘मान्छे त्यसै भारत जान खोज्ने होइन र छन्।’

मलाई भात खाएको पैसा तिर्नुपर्ने हो भन्ने कुराको ज्ञान थिएन। यसरी बलजफ्ती बोलाउँदा पनि बाले नटेरेको देखेर मैले बाको सदरीको (हाफकोट) फेर तारेर भने ‘बा म भात खाने।’

मैले बाको रिस र प्रेम दुवै देखेको छु। बाको निधारको छाला चाउरी पर्‍यो। मन भित्र सोचेँ, ‘अब मेरो खैरियत छैन।’ बाले देब्रे हात उठाए र कसेर मेरो दाहिने गालामा हाने र भने, ‘गु खा…..’ सँगैका गाउँले बासँग झर्किए, ‘हानी हाल्नु पड्न्या क्या थियो त। ट्वाटीकी त हो।’

बाले फेरि भातखान बोलाइरहेको मान्छेतिर फर्केर हिन्दी टोन मिसाउँदै झपार्न थाले, ‘हामी बाहिर पकाएको भात नही खाता है।’ बाँकि बाको गाली मैले बुझिनँ। मेरा दुवै आँखा टिलपिलाए। एकछिन अगाडि खुलेको मेरो अनुहार अध्यारो भयो।

मैले देब्रेहातको कमिजका बाहुलाले अरूले नदेख्ने गरी आँखा पुछेँ।

बाले बसको छतबाट ओढ्ने कम्बल, ओछ्याउने खसीको छाला, खाना पकाउने भाँडाकुडी र खाने सामलको भारी झारेर पिठ्यूमा बोके। र मलाई जुरुक्क उचालेर काखमा टाँसे। मेरा दुबै आँखाका डिलमा सुकेको माटोजस्तो सारो हातको हत्केलाले बगिरहेको नुनिलो पानी पुछ्दै भने, ‘छोरा, अरूले दिएको खाएर बेली हामी सप्पैको पैसा हरायो। अरुले दिएको खान हुन्न छोरा।’

मेरो आँखामा खुसी फर्काउन पेटमा काउकुती लगाए। रून्चे हाँसो अनुहारमा देखिन थालेपछि बाले मलाई जमिनमा राखे। मेरो देब्रे हात समातेर निहुरिएर भने, ‘छोरा औषधि हालीकन हामी बेहोस भयौं। तँ हराइस् भन्या म कसरी घर फर्किउँला !’ सबैले आ-आफ्नो भारी बोकेर हिँडन तयार भए। बाले मेरो देब्रे हातको चोर औंला समाते र भने ‘एक छिन हिँड। मेरो हात नछोड, नत्र हराउँछ। बागेश्वरीमा गएर भात खाँउला।’

बाले मलाई भारत लगेर गएको वर्ष घर नफर्कुन्जेलसम्म एउटै चिन्ता थियो, ‘छोरो कतै हराउला कि।’

त्यत्रो भारतभरी कतै नहाएको बालख घर बाटै हराउला भन्ने बाले के कल्पना गरे होलान र ! मलाई पो थाहाँ छ म भागेको हुँ। बालाई त छोरो हरायो भन्ने लागेको होला।

अहिले यी महिलाले भनेपछि मैले मनमनै सम्झेँ ‘बाले छोरो हरायो भनिरहेका होलान्।’

‘राति चिसो पस्छ, ओढ्ने टालो नफाल…..’ भन्दै मेरा दुइटै खुट्टालाई आफ्नो तिख्राभित्र च्यापेर मलाई छातिमा टाँसेर सुताउन बानी परेका बा ९ वर्षको छोरो हराएपछि अस्तीबाट कसरी सुत्न सकेका होलान्।

मेरो आँखा अगाडि म्याक्सी लगाएकी यी महिलाको छायाँ चलिरहेको थियो। मस्तिष्कमा पोहोर सालका यी सबै भिडियो चित्र घुमिरहे।

‘तिम्रा कोही आफन्ती छन् सुर्खेतमा ?’ भन्ने प्रश्नको एक बाक्यमा जवाफ दिए ‘एकराज गिरी छन्, एयरपोर्टमा ती हाम्मा मान्ठ हुन्।’

त्यो बिचमा यी महिलाले के के सोधिन् सोधिन्। मलाइ धमिलो सम्झना मात्र छ। आगो बल्यो। पानी उम्लियो। चाउचाउको पोको खोलिन्। उम्लिएको पानीमा चाउचाउ ओइरिइन्। पाकिसकेपछि जुन गीलासमा पानी ल्याएर दिइएकी थिइन् त्यही गिलासमा चाउचाउ हालिन्।

त्यो हरियो गिलासमा खाएको यमयम चाउचाको झोलको स्वाद र ती महिलाको अनुहार मेरो मस्तिस्कबाट कहिल्यै नमेटिने र फेरि नभेटीने मिठो तृष्णा मात्रै हो अब।

यति बेलासम्म सुर्खेतको घाम ओरालो लाग्न थालिसकेको थियो…….

स्रोत : बिएल नेपाली सेवा