नेकपा १० नं. वडा कमिटिको पहिलो बैठक सम्पन्न

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कोहलपुर १० नं. वडा कमिटिको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी एकतापछिको पहिलो पुर्णकालिन बैठक शनिबार सम्पन्न भएको हो । संविधान सभा सदस्य देबराज भारको प्रमुख आतिथ्यतामा सम्पन्न पहिलो बैठकले पार्टी सुदृढिकरणलाई जोड दिएको छ ।

बैठकले १० नं. वडाभित्र रहेका नेकपा कार्यकर्ताहरुको नामावली संकलन गर्ने, टोलस्तरीय सेल कमिटिहरु गठन गर्ने, कोहलपुर वडा नं. ६ मा हुन गईरहेको उप-निर्वाचनमा केन्द्रित हुने, पार्टी सुदृढिकरणकालागि अभियान संचालन गर्ने लगायतका निर्णयहरु गरेको वडा कमिटि सचिव देबिलाल बोहोराले जानकारी दिए ।

बैठकमा सहभागी नेकपा कोहलपुर नगर कमिटिका सचिव तुलाराज विष्ट बिहानीले कोहलपुर वडा नं. ६ मा हुन गईरहेको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिए । उनले वर्तमान सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्नुकासाथै वडाको विकासमा संथागत भूमिका निर्वाह गर्न समेत वडा कमिटिलाई आग्रह गरेका छन ।

नेकपा ५ नं. प्रदेश सदस्य तथा बाँके निर्वाचन क्षेत्र नं. १ (ख) का ईन्चार्ज नरेन्द्र न्यौपानेले वडाभित्र रहेका प्रत्येक टोलमा सेल कमिटि गठन गरी पार्टी सदस्यहरुलाई एकत्रित गर्नुपर्ने बताए । वर्तमान सरकार समाजबादतर्फ उन्मुख भएको उल्लेख गर्दै न्यौपानेले तल्लो कमिटिसम्म पार्टीको सिद्धान्त लागु गराउन वडा कमिटिको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए । उनले कोहलपुर वडा नं. ६ मा हुन गईरहेको उपनिर्वाचन नेकपाकालागि प्रतिष्ठाको विषय बनेकाले सबै निर्वाचनमा केन्द्रित हुन निर्देशन समेत दिए ।

बैठकका प्रमुख अतिथि देबराज भारले केन्द्र, प्रदेश र स्थानिय तहसम्म नेकपाको सरकार रहेकाले जनताले प्रत्यक्ष महशुस गर्ने गरी सामाजिक गतिविधिहरुमा सहभागी हुन वडा कमिटि सदस्यहरुलाई आग्रह गरे । स्थानिय स्तरमा हुने गतिविधिहरुलाई उजागर गरी विकासको मुलधारमा ल्याउनु वडा कमिटिको पहिलो कर्तब्य रहेको उल्लेख गर्दै भारले पार्टीलाई सुदृढिकरण गर्न अभियान संचालन गर्नुपर्ने बताए ।

वडा कमिटि अध्यक्ष मकर रोकाको सभापतीत्वमा सम्पन्न भएको बैठकको सहजीकरण वडा सचिव देबिलाल बोहोराले गरेका थिए ।