भारतीय पक्षले अचानक जमुनाह नाका सिल गर्यो

नेपाल भारत सीमा नाका जमुनाहा सिल गरिएको छ । भारतमा विवादास्पद राम जन्मभूमि सम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतले आज अन्तिम फैसला गर्ने भएपछि सुरक्षा सर्तकता अपनाउदै नेपाल भारत नाका सिल गरिएको हो ।

भारतको सर्वोच्च अदालतमा ४० दिन लामो बहस सकिएपछि आज सो विवादमाथि अन्तिम फैसला हुनेछ । अन्तिम फैसला हुने भएपछि भारतको उत्तर प्रदेश पूर्णरुपमा बन्द गरिएको छ भने नेपालगन्जस्थित नेपाल-भारत सीमा नाका जमुनाहा सिल गरिएको हो । हिन्दू र मुस्लिम सम्प्रदायबीच अयोध्यास्थित विवादास्पद सो भूमिलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो । हिन्दूले विवादास्पद भूमिमा राम जन्मभूमि भएको दाबी गर्दै आएका छन् भने मुस्लिमले बाबरी मस्जिदको भूमि भएको अडान राख्दै आएका छन् । उक्त भूमि विवादमा आज भारतको सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने छ ।

नेपाल-भारत सीमा नाका सील भएपछि बाँके प्रहरीले पनि सावधानी अपनाएको छ । ‘आकस्मिक अवस्थाबाहेक आवतजावत पूर्णरुपमा बन्द गरिएको छ,’ इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायव निरीक्षक माधव रिजालले भने, ‘आज विहान १ बजेदेखि नाका सिल गरिएको छ ।’

एका-एक नाका बन्द भएपछि भारतबाट आउने र भारततर्फ जाने सबै सवारीसाधन तथा सर्वसाधारण सीमामै रोकिएका छन् । यद्यपी भारतबाट नेपाल आउने पैदल यात्रुलाई भने नेपाल प्रवेश गर्न दिइएको प्रहरी नायव निरीक्षक रिजालले बताए ।