बैतडीमा डोजर आक्रमण : एक महिला अचेत, आधा दर्जन घाइते

अंशबन्डा नमिलेकाले केही समय सडक निर्माण रोक्न माग गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ९, ग्वाल्लेकमा बासिन्दालाई सडक खनिरहेको डोजरबाट आक्रमण भएको छ । आक्रमणबाट आधा दर्जन घाइते भएकोमा २ जनाको अवस्था गम्भीर छ ।

अंशबण्डाको विवाद मिलेपछि मात्रै सडक खन्न माग गर्दै आएका स्थानीयलाई डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा अचेत छिन् । गौरालाई चालकले डोजरको बकेटले आक्रमण गरेका थिए ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको स्थानीय हेमराज जोशीले जानकारी दिए । जोशीका अनुसार, घटनामा अन्य ८ स्थानीय पनि घाइते भएका छन् ।

स्थानीयको माग र विगतको सहमतिबेगर बाटो खन्न थालेपछि स्थानीयबासीले डोजरमाथि ढुंगा प्रहार गरेको र त्यहीबीचमा डोजरको बकेटले हान्दा एक महिला लडेकी छन् । एभिन्युज टेलिभिजनबाट प्रसारित यो भिडियोलाई सामाजिक सन्जालमा धेरैले शेयर गरेका छन् । डोजर चालकको अमानवीय हर्कतको विरोध गर्दै उनीहरुले कारबाहीको मागसमेत गरेका छन् ।

विवादको जड के हो ?

नगरपालिकाको योजनाअ न्तर्गत सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माण स्थानीय उपभोक्ता समितिले सञ्चालन गर्दै आएको छ । यो सडकखण्ड अन्तर्गत अन्य स्थानमा खासै विवाद नभए पनि ग्वाल्लेकको केही जग्गाको अंशबन्डा नभएकाले केही समय सडक निर्माण कार्य नगरिदिन स्थानीयले आग्रह गर्दै आएका थिए । स्थानीय यही आग्रह लिएर केही दिनअघि दशरथचन्द नगरपालिकामा समेत पुगेका थिए ।

नगरपालिकाले स्थानीय र उपभोक्ता समितिबीच जग्गाको अंशबन्डा बाँकी रहेकाले त्यो सकिएपछि मात्रै निर्माण गर्नेगरी सहमति गराएको नगरपालिकाकी उपमेयर मीना चन्दले जानकारी दिइन् ।

नगरपालिका र स्थानीयबीच सहमति बनिसकेको उपभोक्ता समितिले मनपरी डोजर चलाएर आक्रमण गरेको स्थानीय दुर्गादत्त जोशीले गुनासो गरे ।

तिहारपछि सडक निर्माण अघि बढाउने सहमति भएपनि त्यसविपरीत उपभोक्ता समितिले निर्माण प्रक्रिया अघि बढाएर स्थानीयमाथि अमानवीय हर्कत गरेको उपमेयर चन्दको पनि आरोप छ ।
अनलाईनखबरबाट