विज्ञ टोली लिएर किसानको खेतमै पुगे ‘अथक’

बाँके क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज अथक फौजी किराले पारेको असर बुझ्न आफै मैदानमा खटिएका छन । सोमबार कृषि ज्ञान केन्द्र र क्षेत्रिय कृषि अनुसन्धान केन्द्रका विज्ञलाई लिएर साँसद अथक फौजी किरा प्रभावित क्षेत्रमा पुगेका हुन । कृषकहरुको समस्या बुझ्न साँसद अथक सहित प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकाल, क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराका बाली विज्ञ बशिष्ट आचार्य, राप्तीसोनारी गाँउपालिका ६ र ७ का वडाध्यक्ष सहितको टीम कृषकको खेतमै पुगेका छन ।

मानो फलाएर मुरी भित्राउने समयमा धानबाली सखाप भएपछि यहाँ कृषकहरु चिन्तित भएका छन । फौजी किराले एक्कासि धान बाली सखाप पारेपछि किसानको लगानी समेत डुबेको छ । भित्र्याउन तयारी अवस्थाको धानबाली फौजी किराले नष्ट गरेकाले त्यसको क्षतिपूर्ति राज्यले दिनुपर्ने किसानले माग गरेका छन् ।

फौजी किराबाट प्रभावित भएका स्थानिय कृषकहरुले फौजी किरा नियन्त्रणकालागि आवश्यक पहल गर्न टोलीलाई आग्रह गरेका थिए । वर्षभरी खाने अन्न सखाप भएपछि चिन्तित भएका कृषकहरुले उचित क्षतीपूर्तिको ब्यवस्था मिलाईदिन समेत आग्रह गरे ।

क्षतीको जायजा लिन पुगेका साँसद अथकले फौजी किराबाट पिडित कृषकको तथ्याङ्क संकलन गरी उचित क्षतीपूर्तिको ब्यवस्था मिलाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन । आफुले केन्द्रिय सरकारका कृषि मन्त्रीसँग त्यसबारेमा छलफल गरीरहेको बताउँदै साँसद अथकले कम्तीमा कृषकको अगानी सुनिश्चित हुने गरी राहत कार्यक्रम ल्याउने तयारी भईरहेको जानकारी दिए ।

धानका अलावा अन्य बालीमा समेत फौजी किराले असर गर्ने भएकाले तत्काल त्यसको न्यूनिकरणका उपायहरु अपनाउन उनले कृषकहरुलाई आग्रह समेत गरेका थिए ।

अनुगमनमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले तत्काल कृषकहरुलाई राहत हुने गरी कार्यक्रम ल्याउन कृषि कार्यालयका कर्मचारीलाई निर्देशन दिए । उनले फौजी किराले पुर्याएको क्षतीको तथ्याङ्क संकलन गरी स्थानिय, प्रदेश र केन्द्र सरकारबाट राहत उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाए ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बाँकेमा हालसम्म १७ हजार हेक्टर धान बालीमा फौजी किराले क्षती पुर्याएको जनाए । जिल्लाको राप्तीसोनारी, नरैनापुर, डुडुवा र खजुरा क्षेत्रमा फौजी किराको प्रकोप बढि पाईएको बताउँदै ढकालले कृषकको प्रत्यक्ष सहभागीतामा मात्रै फौजी किरा नियन्त्रण गर्न सकिने बताए । उनले अहिलेको अवस्थाबाट पाठ सिक्दै लगत्तै केही दिनभित्रै बाँकेका कृषकहरुलाई फौजी किरा रोकथामकालागी तालिम उपलब्ध गराउने बताए ।

दिनभर निस्क्रीय हुने फैजी किराले एकै रातमा सयौं हेक्टर धानबाली काटेर क्षती पुर्याउने गरेको स्थानिय कृषकहरु बताउँछन । दिनभरी धानको गाँजमा लुकेर बस्ने फौजी किरा रातीको समयमा बढि सक्रिय हुने गरेको छ ।

धानको रस चुसेर जिवित हुने फौजी किराले धान नखाने तर धानको बाला काटेर क्षती पुर्याउने गरेको क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराका बाली विज्ञ बशिष्ट आचार्यले बताए । विशेष गरी भदौदेखि कात्र्तिकसम्म बढि सक्रिय हुने फौजी किराले धानका अलावा मकै, गहुँ, मसुरो लगायतका अन्नवालीमा क्षती पुर्याउने आचार्य बताउँछन ।

विगतमा समेत बाँकेमा फौजी किराको समस्या देखिएपनि यस वर्ष अत्याधिक मात्रामा धानबालीमा क्षती पुर्याएको आचार्यले बताए । कहिलेकाँही मात्र प्रकोपका रुपमा देखापर्ने फौजी किराको स्थायी नियन्त्रण सम्भव नभएपनि समयमै कृषकले सजगता अपनाउन सके क्षती कम गर्न सकिने आचार्यले बताए । तयारी अवस्थामा रहेको धान तत्काल काटेर खेतमा नछोडी त्यसलाई सुरक्षित स्थानमा राखी घरमै भित्र्याउन आचार्यले कृषिकहरुलाई सुझाव समेत दिए ।