११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

समितिले कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको जनाएको छ ।

कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।

यस वर्ष यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक ९ गते शनिबार काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औंशी तिथि पर्दछ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।