नेपालगन्ज बनिसक्यो, अब कोहलपुर बनाउँछु : मन्त्री राइ

नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राइले कोहलपुरलाई बिकासोन्मुख सहरका रुपमा विकास गरिने बताएका छन । कोहलपुरमा निर्माण गरीएको छोटो दुरीको बसपार्कको उद्घाटन गर्दै मन्त्री राइले कोहलपुर केही वर्षभित्रै विकशित सहरका रुपमा स्थापित हुने बताए ।

आफ्नो गृहजिल्ला समेत रहेकाले बाँकेको समग्र विकासमा आफु प्रतिवद्ध रहेको मन्त्री राइले जिकिर गरे । घर बलियो नभएसम्म छिमेकी बलियो नहुने तर्क गर्दैै मन्त्री राइले गृहनगर नेपालगन्जलाई पहिलो प्राथमकिमतामा राखीएको स्विकार गरे । ‘हामीले नेपालगन्जलाई पूर्ण विकसीत सहरमा रुपान्तरण गरीसक्यौ’, मन्त्री राईले भने, ‘अब पालो कोहलपुरको ।’

४ करोड ३९ लाख लागतमा नगर विकास समिति कोहलपुरले निर्माण गरेको कोहलपुर बसपार्कको शनिबार मन्त्री राइले औपचारीक उद्घाटन गरेका हुन । नयाँ बसपार्कभित्र ११० मिटरका १३ वटा लेन निर्माण गरीएको छ । करिब ८ सय सवारी साधनहरु आवत जावत गर्न सक्ने क्षमताको कोहलपुर बसपार्कलाई छोटो दुरीको बसपार्कका रुपमा बिकास गरीने कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए । रावतले कोहलपुरमै आगामी तिन वर्षभित्र अत्याधुनिक सुविधा सहितको लामो दुरीको बसपार्क निर्माण गरीने बताए ।

कोहलपुर चौराहदेखी पूर्वतर्फ लामो दुरीको बसपार्क निर्माणकालागि प्रक्रिया अगाडी बढाईएको र बढिमा ३ वर्षभित्र बसपार्क निर्माण सम्पन्न गरीने रावतले जिकिर गरे ।

यद्यपी बसपार्क संचालनमा आउदै गर्दा बसपार्कमा रहेको संर्घष समितीले भने असन्तुष्टि जनाएको छ । बसपार्क निर्माणका लागि करिब ९ करोड बजेट छुट्टाए पनि बसपार्कमा आधुनिक कम्प्लेक्स निर्माण हुन सकेको छैन । बसपार्कमा रहेका टहरा हटाउनका लागि अदालतले आदेश दिएता पनि हालसम्म टहरा नहटाएको भन्दै संघर्ष समितिले असन्तुष्टि ब्यक्त गरेको हो ।