बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

धनुषा जिल्लाको एक निजी विद्यालयका शिक्षक दुई छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । मिथिला नगरपालिका, ढल्केबरमा रहेको ढल्केबर एकेडेमी बोर्डिङ स्कुलका शिक्षक ४३ वर्षीय टेकेन्द्र दहाल पक्राउ परेका हुन् ।

दहालालाई स्कुलको मिनी बोडर्समा पढ्ने सात र नौ वर्षीया बालिकामाथि ४३ वर्षीय शिक्षक टेकेन्द्र दाहालले पटकपटक जबर्जस्ती करणी गरेको घटना बाहिर आएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिएका छन् ।

झापाको मेचीनगर नगरपालिका-३ घर भएका शिक्षक दहाल स्कुलमा सामाजिक विषय अध्यापन गराउँदै आएका थिए । दसैं अघि विदाको मौका छोपी बोडर्समा बस्दै गरेका दुई बालिकालाई शिक्षक टेकेन्द्रले फकाएर एवं धम्की दिएर पटकपटक जबर्जस्ती करणी गर्ने गरेको पनि खुलासा भएको छ ।

शिक्षकले बलात्कारका बारेमा कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएकाले लामो समय पीडित बालिकाले घटना गोप्य राखेको पनि बताइएको छ । घटना सार्वजनिक भएपछि पीडित बालिका र शिक्षकको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

आरोपी शिक्षकमाथि जबर्जस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।