महोत्तरीको सडक दुर्घटनामा तीनको मृत्यु

महोत्तरीमा भएको सडक दुर्घटनामा परि तीन जनाले ज्यान गुमाएका छन ।

बिहीबार राति र शुक्रबार बिहान भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । बिहीबार राति ज ४ प २३९० को पल्सर मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको छ ।

गौशाला नजिक भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका गौशालाका ३० वर्षीय दिलिप महतो र बर्दिवासका पलजित महतोलाई उपचारका लागि बर्दिवासस्थित स्वस्तिक अस्पताल लगिएकोमा उपचारका क्रमा दुवैजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनास्थलमा एक पाडोसमेत घाइते भेटिएकाले मोटरसाइकल दुर्घटनाको कारण अहिलेनै भन्न नसकिने प्रहरीको भनाइ छ ।

त्यस्तै ज १ क ४६६ नम्बरको टिपरले किच्दा सम्सी गाउँपालिका-२ का दश वर्षीय बालक शेष वकासको ज्यान गएको छ । स्थानीयले टिपर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

सम्सी-गौशाला-माईस्थान हुँदै राजमार्गमा जोडिएको हुलाकी सडकमा विगतका समयमा समेत दर्जनौँ सवारी दुर्घटना भइसकेको छ भने टिपरले ठक्करका कारण केही बालकको ज्यान गइसकेको छ ।
जनतासमाचारबाट