बम काण्डमा संलग्न भएको आरोपमा काँग्रेस सांसद पक्राउ

नेपाली काँग्रेसका सांसद महोम्मद अफ्ताव आलम रौतहटको गौरबाट पक्राउ परेका छन् । २०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।

उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । उनीमाथि प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप थियो । मारिनेमा भारतीय र नेपाली नागरिक भएको बताइएको छ ।

रौतहटको राजपुर-४ खरहवामा भएको सो विस्फोटनमा घाइते भएपछि जलाइएका दुईजना नेपाली युवाहरु त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । तर, प्रहरीले आलमबिरुद्ध जाहेरी लिन नमानेपछि मृतकका अविभावकहरुले दोषीमाथिको जाहेरी निवेदन लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सो रिटमाथि सुनुवाई गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।
आलम काँग्रेसका पूर्व जिल्ला सभापति र वनमन्त्री पनि हुन् ।