घरभित्रै भेटियो श्रीमान, श्रीमती र छोरीको शव

सुनसरीको इटहरी १७ मा दसैंको टिकाको दिन दर्दनाक घटना घटेको छ । मंगलबार एउटै घरका श्रीमान्, श्रीमती र छोरी मृत भेटिएका छन् । श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको शव बाकस र बोरामा हालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाको प्रारम्भिक अनुसन्धानले श्रीमानले श्रीमती र छोरीको हत्या गरेर आफू पनि झुन्डिएको प्रहरीले आशंका गरेको छ ।

प्रहरीका अनुसार सुरुमा गाउँलेले राजेशलाई झुण्डिएको देखेपछि अस्पताल लगेका थिए । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेपछि शव घरमा लगिएको थियो र शव बेर्नका लागि कपडा खोज्ने क्रममा टिनको बाकस खोल्दा मृतककी श्रीमती पुनमको शव भेटियो ।

६ वर्षीया छोरी स्वस्तीकाको शव पनि बोरामा हालेर मुख बाँधेको अवस्थामा फेला परेको प्रहरीले बताएका छन् । प्रहरीका अनुसार श्रीमतीको टाउकोमा चोट छ भने छोरीको घाँटी च्या पेर हत्या गरिएको देखिन्छ ।

लामो समयदेखि राकेश र पुनमबिच घरायसी विवाद रहँदै आएको थियो । उनीहरुको झगडा प्रहरी चौकीसम्म पुगेको थियो । मंगलबार बिहान नहुँदै श्रीमती र छोरीलाई मारेर दिउँसो राकेश झुन्डिएको हुनसक्ने बताइएको छ । राकेशका अन्य दुई छोराछोरी भने अलि पर हजुरबाकोमा बस्दै आएका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।