धुमधामका साथ सकियो बिजुलीकोटको मेला (राम)

प्युठान जिल्लाको ऐरावती गाउँपालिका वडा नं. ६ मा पर्छ, बिजुलीकोट । वरीपरीका टाकुराहरु मध्य सबभन्दा अग्लो स्थानमा अवस्थित छ, बिजुलीकोट । प्रत्येक बर्ष राम नवमीको दिन ठूलो मेला (राम) लाग्ने गर्दछ । बिजुलीकोटमा मेला हेर्नका लागि जिल्लाका विभिन्न भाग लगायत अर्घाखाँची, गुल्मी र दाङ्ग छिमेकी जिल्लाबाट हजारौं भक्तजनरु यहाँ पुग्ने गर्दछन् ।

बिजुलीकोटमा अवस्थित खड्ग भगवतीमा ठूलो शक्ति भएको र शक्तिकी देवी भगवतीलाई दर्शन गरेर ‘वर’ मागेमा मनोकांक्षा पूरा हुने आम भक्तजनहरुमा जनविश्वास रहेको छ । कोटकी खड्ग भगवतीलाई भाकाल गरि मनोकांक्षा पूरा भएपछि राँगा, बोका र परेवा चढाउने प्राचिन प्रचलन रहेको छ । कोटमा प्रत्येक बर्ष सयौँ राँगा र बोकाको बलि दिईन्छ भने दर्जनौँ परेवा पनि चढाउने गरिन्छ ।

बिजुलीकोटमा दशंैको पहिलो दिन घटस्थापना देखि पुजारी, पण्डित, खड्का, भारे र डाले बस्ने गर्दछन् । दैनिक बिहान बेलुका पुजा–आजा गर्ने गरिन्छ । फुलपातिको दिनमा नजिकैको जङ्गलबाट बेलपत्र (फुलपाती) टिपि डोलामा ल्याई भित्र्याउने गरिन्छ । अष्ठमीका दिन मध्य रातमा बोकाको बली दिई कालरात्री पुजा गर्ने प्रचलन रहेको छ । रामनवमीका दिन भने ठूलो मेला लाग्ने गर्दछ । उक्त दिन खड्क भगवतिलाई भक्तजनहरुका लागि दर्शन गर्नका लागि खुल्ला गर्ने गरिन्छ । दशमीका दिन भगवतीलाई टीका चढाउने र एकादशीका दिनमा परम्परागत शैलीमा तरवार र बाजागाजा सहित सराएँ नाच नाच्ने ऐतिहासिक प्रचलन रहेको छ । कोटमा पहिला देखि नै मगर मुख्य पुजारी रहदै आएका छन् ।

सोमबार बिजुलीकोटमा हजारौंको संख्यामा भक्तजनहरुको भिडभाड रहेको थियो । भगवतीको दर्शन गर्नका लागि टाढा टाढाबाट हजारौंको संख्यामा भक्तजनहरु यहाँ उपस्तिथि भएका थिए । मेला व्यवस्थापन गर्न र पुजा आजा गर्नका लागि कोटमा ‘खड्ग भगवती बिजुलीकोट मन्दिर व्यवस्थापन समिती’ सक्रिय छ ।

कोटमा आउने भक्तजनहरुका लागि ऐरावती बुङ्स क्लब र जनता माध्यामिक बिद्यालय बिजुलीका जुरेसका विद्यार्थीहरुले निशुल्क पानी बितरण गरेका थिए ।

प्रत्येक बर्ष रामनवमीका दिन लाग्ने मेलामा राँगा, बोका तथा परेवाका अलावा भक्तजनहरुले नगद भेटी पनि चढाउने गर्दछन् । प्रत्येक बर्ष लाखौँ भेटी उठ्ने गरेको बताउँछन्, व्यवस्थापन समितिका अध्यक्ष नारायण थापा । सोमबार पनि एक लाख ८८ हजार भेटी उठेको उनले बताए ।

ऐतिहासिक बिजुलीकोटलाई रामनवमीका दिनमा मात्र नभएर धार्मिक पर्यटकीय स्थलका रुपमा विकशित गरि व्यापक प्रचार–प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई वर्षौं भरी ल्याउन सके स्थानीय स्तरमै स्थानियको आय स्तर बढाउन पनि मद्दत पुग्ने देखिन्छ । सरोकारवालाहरुको ध्यानाकर्षण हुनु जरुरी छ ।