शोभायात्रा टोलीलाई मन्त्री राइले गरे स्वागतसँगै विदाई

सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले गुरुनानक जयन्तीले काठमाडौंदेखि भारतको पञ्जावसम्मका लागि सुरु गरेको शोभायात्राको टोलीलाई शनिबार नेपालगञ्जमा स्वागत गरेका छन । सो अवसरमा मन्त्री राईले संविधानले सबै धर्मावलम्बीहरुलाई समानताको अधिकार दिएको भन्दै विविधतायुक्त मुलुक भएका कारण यहाँ धार्मिक विशिष्टता रहेको बताए ।

‘यहाँ विभिन्न धर्मका मानिस बस्छन, सयबढि भाषाभाषी बोलिन्छन’, मन्त्री राईले भने, ‘भौगोलिक रुपमा तराई, पहाड, हिमाल र मधेस छन, तर सबै मिलेर बसेका छन ।’ मन्त्री राईले नेपालगञ्जले धार्मिक तथा सामाजिक सद्भावको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको जिकिर गरे ।

दशैंको अवसर पारेर गृहजिल्ला आएका मन्त्री राईले शोभायात्राको टोलीलाई स्वागत गरेका हुन । स्वागतसँगै मन्त्री राईले उक्त टोलीलाई विदाई समेत गरेका छन । एक हप्ताका लागि मन्त्री राइ गृहजिल्ला आएको मन्त्रीको सचिवालयले जनाएको छ ।