नेपालगञ्जलाई पछाडी पर्न दिइने छैन : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सबै जिल्लालाई पायक पर्ने स्थानमा स्थायी राजधानी तोकिने बताएका छन् । उनले प्रदेश भित्रका सबै जिल्लालाई पायक पर्ने ठाउँमा प्रदेशको स्थायी राजधानी बनोस भन्ने सरकारको चाहना रहेको बताए । नेपालगन्जमा निर्माण गरिएको आधुनिक बसपार्कको शनिवार एक समारोहका विच उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले कुनै पनि सहरलाई उपेक्षा नगरेको प्रष्ट पार्दै सबै सहरको विकासमा बिशेष ध्यान दिईरहेको बताए ।

‘नेपालगन्जलाई कुनै पनि हालतमा पछाडी पारिने छैन, यो सहर आज पनि हिजो भन्दा राम्रो र विकसित हुँदैछ, भोली पनि झन झन विकसित हुँदै जानेछ । यसलाई कसैले पछाडी पारेर पछाडी पर्ने छैन’ मुख्यमन्त्री पोखरेलले भने ।

नेपालगन्ज र सोही प्रकारका अन्य ठुला सहरलाई भारतको कोलकता र मुम्बई जस्तै गरेर आर्थिक केन्द्रका रुपमा विकास गर्न सकिने उनले बताए ।

सोही अवसरमा बोल्दै प्रदेशसभाका सभासद आइपी खरेलले नेपालगन्जलाई राजधानी बनाउनु पर्ने माग गर्दै त्यसो नगरिए सबैलाई पायक पर्ने स्थानमा बनाउनु पर्ने कुरामा जोड दिए ।

नेपालगन्ज उपमहानगरका मेयर डा. धवल शमसेर राणाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपमहासचिव डेकनाथ गौतम, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, राप्रपा नेपाल बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, खजुरा गाउँपालिकाका कार्यवाहक प्रमुख एकमाया विक र शरद पौडेल लगायतले बसपार्कको संरक्षणमा जोड दिनु दिएका थिए ।

१६ करोड १६ लाखको लगानीमा ४ कठ्ठा जग्गामा निर्माण गरिएको सो आधुनिक बसपार्कमा ठुला १२३ बस र साना ५६ वटा हाइस गाडी अट्ने क्षमता रहेको छ भने सो भित्र ६६ वटा व्यवसायीक सटर निर्माण गरिएका छन् ।