वडाको निति, ‘वडाअध्यक्षसँग जेष्ठ नागरिक’

कोहलपुर नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै विभिन्न उपभोग्य सामग्री वितरण गरेको छ । २९ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा कोहलपुर वडा नं. १० का जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

वडा कार्यलयमा आयोजित शुभकामना आदानप्रदान तथा सामाग्री बितरण कार्यक्रममा कोहलपुर नगरपालिकाका उप प्रमुख सन्जु कुमारी थारुले जेष्ठ नागरिकहरुलाई विभन्न सामग्री वितरण गरेकी हुन ।

कार्यक्रममा बोल्दै उपप्रमुख थारुले बिगतमा ज्येष्ठ नागरिकले गरेको योगदानका कारण अहिलेको अवस्था आको भन्दै जेष्ठ नागरिकलाई माया ममता सहित सम्मानपुर्वक राख्नुपर्ने बताइन । उपप्रमुख थारुले ज्येष्ठ नागरिकलाई नगरपालिकाले बिशेष ध्यान दिएको बताउँदै यस वर्षदेखि सम्बन्धित वडा कार्यालयबाट नै बृद भत्ता बितरण गर्ने ब्यवस्था मिलाएको जानकारी दिइन।

कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष निरज चलाउनेले आफुले सधै जेष्ठ नागरिकलाई सम्मान गर्ने तथा सल्लाह सुझाव लिने गरेको स्पष्ट पारे । वडा अध्यक्ष चलाउनेले वडा भित्रका जेष्ठ नागरिकसँग सल्लाह सुझाव लिन तथा उनिहरुको अवस्था बुझ्न ‘वडा अध्यक्षसँग जेष्ठ नागरिक’ कार्यक्रम संचालन गर्न लागेको बताए। कार्यक्रम अन्तर्गत दशै पछाडी प्रत्येक टोल टोलमा पुगेर ज्येष्ठ नागरिकसँग भेटघाट गरी सल्लाह सुझाव लिने तथा समस्या बुझ्ने योजना रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै समाजसेवी तथा जेष्ठ नागरक नारायण सिग्देल, काँग्रेस नेतृ गौरा भट्टराई, नेकपा वडा नं. १० का नेता मकर रोका लगाएतले जेष्ठ नागरिकको उचित सम्मान गर्नुपर्ने बताएका थिए ।