पर्व नजिकिएसँगै मुर्ति बनाउन भ्याईनभ्याई

चाडपर्व सुरु भएसँगै नेपालगन्जका मूर्तिकारहरुलाई मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ ।

दसैं सुरु हुनुभन्दा पहिलादेखि नै पूजाअर्चना गर्नुपर्ने भएकाले विगतको जस्तै यस वर्ष पनि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याइ भएकोे हो । घटस्थापना नजिकिएसँगै बाँके, बर्दिया लगायत तराईका जिल्लामा विभिन्न टोल तथा गाँउपिच्छे पूजा समिति गठन गरी दूर्गा भवानीको मूर्ति राख्ने गरिन्छ । नौरथाभरी देवीको पूजा हुने भएकाले घटस्थापना सुरु हुनुअघि नै मुर्ति बनाइसक्नु पर्ने मूर्तिकार अंकित मिश्रा बताउँछन् । मूर्ति बनाएरै जिविकोपार्जन गर्न सकिने मिश्राको भनाइ छ । एउटा मुर्ती पाँच हजार देखि २५ हजारसम्ममा बिक्रि बितरण हुने गरेको मिश्रले बताए । मुर्ति बनाउने काममा अरु काम भन्दा बढि समय लाग्ने र गाह्रो हुने मिश्रले बताए ।

घटस्थापनाभन्दा पहिले नै मुर्ती निर्माण गरिसक्नुपर्ने भएकाले अहिलेको आफुहरु निकै ब्यस्त रहेको अमित मिश्राले बताए । दशैं तिहार नजिकिएसँगै भारतीयहरु मुर्ती बनाउन नेपालका सिमावर्ती जिल्लामा आउने गरेका छन । राम्रो मुर्ति निर्माणकालागि छ महिना लाग्ने भएपनि छोटो समयमै मुर्ती तयार गरी दिनुपर्ने भएकाले भएकाले आफुहरु दिन रात नभनी मुर्ति निर्माणमा जुटेको राजकुमार हरिजनले बताए । यद्यपी पछिल्लो समय मुर्ति निर्माणबाट मुनाफा हुन छाडेकाले मुर्तीकारहरु पेसालाई छाड्ने क्रम बढेको हरिजनले बताए । नेपालगन्जमा दशैंका अवसरमा दुर्गादेवी मूर्ति हरेक टोल टोलमा स्थापना गरि पुजा गर्ने चलन छ ।