‘विदेशी फिल्म बन्द गर्ने होइन, नेपाली फिल्म राम्रा बनाउने हो’

हास्यप्रधान फिल्म  ‘कबड्डी’ प्रदर्शनमा आएपछि निर्देशक रामबाबु गुरुङको चर्चा खुबै चुलियो । फिल्मलाई दर्शकले रुचाएपछि यस्तै शैलीका अन्य कैयन् फिल्म पनि निर्माण भए । स्वयम् रामबाबुले पनि यसको तेस्रो सिक्वेलसम्म निर्देशन गरे । यसको चौथो सिक्वेलपछि भने फिल्मको कथाले बिट मार्नेछ ।

गुरुङ यतिबेला भने ‘कबड्डी ३’ लिएर दर्शकमाझ आउँदै छन् । पुरानो डुङ्गा, झुम्की, साइँली, मिस्टर झोले लगायतका फिल्म निर्देशन गरेका गुरुङले प्राय फिल्ममा अभिनेता दयाहाङ राईलाई छुटाउँदैनन् । यसैबीच हामीले गुरुङसँग नेपाली फिल्म वरिपरि रहेर कुराकानी गरेका छौँ ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

तपार्ईले आफ्ना हरेक सिनेमामा अभिनेता दयाहाङ राईसँग सहकार्य गर्नुभएको हुन्छ । यसको खास कारण छ?

दया (दयाहाङ राई) सँग एकदमै लामो संगत भयो । दुःख सुखका कुरादेखि लिएर व्यवहारिक र पारिवारिक कुरादेखि हरेक कुरामा हामी सल्लाह गरेर अगाडि बढिरहेका हुन्छौँ । मार्केटमा म जोडिएको फिल्ममा दयाहाङ हुन्छ भन्ने जुन धारणा छ, त्यो हामीले बनाएको भन्दा पनि संयोगवश जुरेको कुरा हो । हामी कुनै पनि फिल्म योजना बनाएर काम गर्दैनौँ । संयोगवश जोडिएका हुन्छौँ ।

दर्शकले रुचाएको तपाईंका फिल्ममध्ये ‘कबड्डी’लाई कतिपयले मूलधारको फिल्मभन्दा पनि आदिवासी फिल्म भन्नुहुन्छ, किनकि, यो फिल्मले गुरुङ समुदायको कथा उठाएको छ । यसलाई आदिवासी चलचित्र भन्न सकिन्छ ?

यो विषयमा अलिक लामो छलफल गर्नुपर्छ होला । किनभन्दा, मूलधार फरक कुरा हो । कुनै पनि फिल्म बनाउँदा समेट्ने विषय जुनै पनि हुन सक्छ । चाहे ब्राह्मण समुदायको कथा होस्, चाहे गुरुङ समुदायको । मुख्य कुरा त कथा के समेटिएको छ भन्नेमा भर पर्छ । मूलधारे फिल्म भनेको मूल बजारमा आम दर्शकले के रुचाउनुभएको छ, त्यसका आधारमा फिल्मको मुख्य बजार हेरेर निर्माण गरिएका फिल्म भन्ने बुझिन्छ ।

यसरी हेर्दा केलाई मूलधार भन्ने फरक कुरा हो । हाम्रो फिल्मको मुख्य बजारलाई के ले प्रतिनिधित्व गरिरहेको छ भन्ने पनि अर्को आधार हो । हामीले अन्तक्रिया गर्ने क्रममा मूलधार र अलग धारको कुरा उठाइरहेका हुन्छौँ । तर, फिल्म कुन बजारका लागि बनाउने भन्ने फिल्ममेकरमा भर पर्ने कुरा हो ।

बरु दीपक रौनियार, मीन भाम लगायतका निर्देशनले बनाएका फिल्मलाई फरक खालका फिल्म भन्न सुहाउला । उहाँहरुले गरिरहेको काम फरक हुनसक्ला । सिनेमाको आखिर काम त व्यावसायिक रुपमा कमाउने भन्ने नै हुन्छ । हामी मूलधारमा त्यसरी नै गइरहेका छौँ । तर उहाँहरुले फरक मेकिङ शैलीसँगै बजार खोजिरहनुभएको छ ।

कुनै समुदायमा फोकस भयो भन्दैमा त्यसलाई मूलधार र अलग धार छुट्याउनुपर्छ जस्तो लाग्दैन । फिल्मले कुन बजारलाई कसरी टार्गेट गरेको छ भन्ने महत्त्वपूर्ण हो । कथाको विषयवस्तु त जे पनि हुनसक्यो नि ।

कबड्डी’ ले तपाईंलाई आम मानिस र फिल्ममेकरबीच चिनायो । फिल्मको पनि पुग्दो चर्चा भयोे । पहिले यस्तै चर्चा होला भन्ने लागेको थियो?

हामीले नेपाली फिल्म उद्योगमा ‘कबड्डी’ प्रयोगात्मक फिल्म हुन्छ भन्ने हिसाबले बनाएका थिएनौँ । केही मिल्ने टिम र साथीहरु मिलेर आफ्नो हिसाबको फिल्म बनाएका थियौँ । पछि दर्शकले मन पराउनुभयो । जसकारण यो फिल्म तेस्रो सिरिजसम्म बन्ने अवस्था आयो ।

बरु टिम बसेर कुन कथा कसरी प्रस्तुत गर्दा राम्रो होला भन्ने हिसाबले हामीले फिल्म बनाएका थियौँ । अहिले पनि हामीले सन्तुष्टिका लागि मात्र फिल्म बनाइरहेको हो । फिल्मले भयानकै प्रभाव पार्छ भन्ने हिसाबले हामीले कहिल्यै पनि फिल्म बनाएका छैनौँ । तर, हो के भन्दा हामीले गरिरहेको प्रयोग पनि नेपाली फिल्ममा आइरहेको भन्दा थोरै फरक स्वादको फिल्म चाहिँ हो भन्ने लाग्छ ।

‘कबड्डी’ फिल्म हिट भएपछि त्यो शैलीका फिल्म त धेरै आए नि है?

अघि तपाईंले उठाएको मूलधार र अलग धारको कुरा गरेझैँ फिल्म पनि बजारमा भर पर्छ । बजारमा के चीज बिकिरहेको छ, त्यसको पछाडि जोकोही लाग्छ नै । र, यसरी बनाउने फिल्म मूलधार बनेर जान्छ । मूलधार र अलग धार भन्ने हामीले भन्ने कुरा नै होइन । आम दर्शकले के रुचाउनुभएको हुन्छ भन्नेमा पनि धेरै फरक पर्छ । त्यही भएर पनि यस्ता खालका फिल्म धेरै बनेको हुनसक्छ ।

नेपाली फिल्मलाई आम दर्शकले कसरी हेरिरहेका छन् भनेर बुझ्नुभएको छ?

पछिल्लो दशकयताको नेपाली फिल्म उद्योग हेर्ने हो भने अहिले मल्टिप्लेक्स हलहरु थपिने क्रम जारी छ । ती हलप्रति दर्शकको आकर्षण पनि छ । यसले के देखाउँछ भने नेपाली फिल्मको बजार पहिले र अहिले फरक छ ।

पहिले ६० लाखमा बनेको फिल्मको १ करोड शेयर आउँदा उक्त फिल्म सुपरडुपर हिट मानिन्थ्यो । तर, अहिले बजारले त्यस्तो भन्दैन । अहिले प्राविधिकदेखि हरेक कुराको मूल्य बढिरहेको छ । यसरी हेर्दा अहिलेको नेपाली फिल्मले पनि मार्केट बढाउने काम गरिरहेको छ । तर पनि, हरेक जनरामा निर्माण भएका फिल्ममा कमेडी शैलीप्रति दर्शकको रुचि छ । अनमोल केसी, प्रदीप खड्का फिल्मदेखि एक्सन, पारिवारिक तथा फरक खालका फिल्ममा पनि दर्शकले कमेडी चाहेको देखिन्छ ।

म त अझ के चाहन्छु भने फिल्ममा मनोरञ्जन र कमेडी हुनुपर्छ तर जबरजस्ती कमेडी बनाइनुहुँदैन । हुन त कमेडीको पनि आफ्नै शैली र प्रस्तुति छ । पछिल्लो समय नेपाली फिल्मको बजार हेर्ने हो भने नेपाली डायस्पोरामा पनि घरेलु फिल्मले राम्रो बजार बनाउँदै गएको छ । डिजिटल मार्केटमा पनि हामीले उस्तै सम्भावना खोजेका छौँ । मलाई लाग्छ, अबको एक दशकपछि नेपाली फिल्मको बजार धेरै राम्रो हुन्छ ।

नेपाली फिल्मको बजार राम्रो हुँदैछ पनि भन्नुहुन्छ, तर विदेशी फिल्मले नै नेपाली फिल्मलाई दबाबमा पारिरहेका छन् भन्ने लाग्दैन ? हिन्दी फिल्म ‘साहो’ रिलिज हुँदा ‘कबड्डी ३’ को रिलिज मिति नै सार्नुपर्ने अवस्था आयो त?

हामी फिल्मको बजारलाई अन्तर्राष्ट्रिय बजारमा पनि स्थापित गरिनुपर्छ भनेर विशेष महत्त्वसाथ बोलिरहेका हुन्छौँ । जिम्मेवार निकायले पनि यस विषयमा उत्तिकै वकालत गरिरहेका छन् । तर, विदेशी फिल्महरु नेपाली फिल्मलाई दबाब छ भन्दैमा विदेशी फिल्म बन्द गरिनुपर्छ भन्ने पक्षमा चाहिँ म छैन ।

किनकि, यदि हामी आफ्नै घरेलु बजारमा विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ भने अन्तर्राष्ट्रिय बजारमा विदेशी फिल्मसँग कसरी प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने प्रश्न उठ्छ ।

अर्को कुरा हामीले हाम्रो मेकिङको स्तर उकास्ने हो, त्यो चीजका लागि हामीले थप मेहनत गर्नुपर्ने हो कि, तालिम चाहिएको हो कि, आर्थिक र व्यावसायिक हिसाबले अरु केही गर्न सकिन्छ कि भन्नेमा फोकस हुने हो । तर, हामीले विदेशी फिल्मलाई एन्टी बनाउन हुँदैन । अझ हामी त नेपालमा फिल्मको संस्कृति नै विदेशी फिल्मले बनाइदिएको हो । उनीहरुलाई बन्देज गरेर हामी सबल हुन सक्दैनौँ । हामी आन्तरिक रुपमा नै आफै सक्षम हुनुपर्छ ।

तर, अहिले त बन्देज हुनुपर्छ भन्ने उठिरहेको छ त?

त्यो मलाई ठीक लाग्दैन । हामी पनि त विदेशमा हाम्रो बजार खोजिरहेका छौँ । यति भनेर पनि के चाहिँ हुन्छ भने नेपाली फिल्म उद्योगलाई कसरी विकास गर्ने भन्नेमा विशेष प्राथमिकतामा राख्नुपर्छ भन्ने राम्रो कुरा हो तर बन्द नै गरेर चाहिँ सम्भव छैन ।

अहिले थिएटर मात्र छैन, नेटफिल्क्स, अमेजन प्राइमदेखि हरेक मान्छेको डिभाइसमा चलचित्र हेर्ने सुविधा छ । त्यसैले विदेशी फिल्मको बजार बन्द गरेर हैन, हामीले आफ्नो दर्शक तान्न राम्रो फिल्म बनाउन सक्नुपर्छ ।

कुनै बेला रमाइलाका लागि फिल्म बनाएको थिएँ भन्नुहुन्थ्यो, अहिले त ब्याक टु ब्याक फिल्म बनाउनुभयो…

त्यतिखेर मेरो अचेतन मनमा म यस्तो बन्छु भन्ने कुनै ठोस उद्देश्य थिएन । न त त्यो हामीले अध्ययन गरेको कुनै कोर्षमा नै थियो । सबै कुरा रहरले नै निर्णय गर्ने कुरा हो । मलाई पनि रहरले नै यो क्षेत्रमा ल्यायो । तर काम गर्दागर्दै के भयो भने, मैले जुन चीजलाई समय दिइरहेको छु, जुन काम मैले बढी जानेँ, त्यो काम पछि व्यावसायिक बन्दै गयो । त्यसपछि मैले फिल्मकै माध्यमबाट जीवन चलाउनुपर्ने अवस्था आयो ।

संसारमा बन्ने हरेक फिल्महरुको उद्देश्य कुनै न कुनै हिसाबले लगानी फर्कियोस् भन्ने हुन्छ…

हो, उनीहरुको बजार खोज्ने तरिका मात्र फरक हुन्छ ।

मैले भन्दै थेँ, नेपालमा चाहिँ के छ भने समीक्षात्मक रुपमा राम्रो तारिफ पाएको फिल्म नराम्रोसँग डुब्छ, समीक्षा राम्रो नपाएका फिल्मले निर्माता जोगाउँछ । दर्शक, समीक्षा र फिल्ममेकरबीचको यो ‘खाडल’ किन बनिरहेको छ?

सबै क्षेत्रमा एउटा न एउटा फरक वर्ग या धार हुन्छ । त्यसले कुनै पनि वस्तुको दृष्टिकोणमा नै फरक पार्न सक्छ । जसले ‘छक्का पञ्जा’ को रिभ्यु गरिरहेको छ, उहाँहरुले ‘कालो पोथी’ र ‘ह्वाइट सन’को समीक्षा गरिरहेको छैन ।

जुन सर्कलको विश्लेषकहरुले ‘ह्वाइट सन’, ‘कालो पोथी’, ‘हरि’ जस्ता फिल्मलाई पनि प्रोस्ताहन गर्ने गरी विश्लेषण गरिरहनुभएको छ, उहाँहरुले अरु फिल्मको विश्लेषण शायदै गरिरहनुभएको हुन्छ । त्यसैको प्रभाव हो कि !

आफ्नो फिल्म मेकिङबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हरेक बाआमालाई के लाग्छ भने आफ्नो छोरा कमजोर नै भए पनि ऊ अरुभन्दा कम छैन । यो मान्छेको जन्मजात स्वभाव नै हो । यस्तै मैले बनाएका फिल्ममा पनि ‘यार गज्जबै भो’ भन्ने कुनैमा पनि छैन । तर, अर्को फिल्म पनि बनाउन सकिने रहेछ भनेर उत्प्रेरणा चाहिँ मिलेको छ । पूर्ण सन्तुष्टि नभए पनि एक तहमा म आफ्ना फिल्मबाट सन्तुष्ट चाहिँ छु ।

अन्त्यमा, चलचित्र ‘कबड्डी’ सिरिजबाट राम्रो प्रतिक्रिया पाइरहनुभएको छ, तेस्रो सिरिज प्रदर्शनका क्रममा छ, दर्शकले योभन्दा अरु स्तरीय फिल्मको अपेक्षा गर्दा हुन्छ?

व्यक्तिगत रुपमा मलाई ‘कबड्डी’ सिरिजमा भन्दा बढी चासो मेरा अरु ड्रिम प्रोजेक्टमा छ । फिल्म ठीकै चले पनि बजारले एक हिसाबले लखेटिरहेको हुन्छ । समयले व्यस्त गराइदिन्छ । फेरि मान्छे आफैमा लोभी जात पनि हो । व्यस्त हुँदा आफ्नो खालको तयारी गर्न सकिरहेको छैन ।

‘कबड्डी’ को तेस्रो सिरिज दर्शकले रुचाउनुभयो भने ‘कबड्डी ४’ त पक्कै बन्छ । त्यो बाहेक अरु फिल्मबाट पनि दर्शकलाई चित्त बुझाउने प्रोजेक्ट बनाउनुपर्छ भन्ने सधै हुन्छ । पहिले त ‘कबड्डी’ को दोस्रो सिरिजमै बिट मार्ने योजनामा थियौँ । अब भने चौथो सिरिजसम्म बनाउने योजना छ । त्यसपछि अरु फिल्म पनि छँदैछन् ।

खबर हबबाट साभार ।