म दलितको मात्र नेता होइन : महेश्वरजंग गहतराज

नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश्वरजंग गहतराजको नाम निकै कमले सुनेका छन् । तर, उनी माओवादीका पुराना नेता हुन् ।

माओवादी जनयुद्धको सुरुवातमा ०५२ साल फागुन १ गते राति भएका चार आक्रमणमध्ये एउटामा गहतराज संलग्न थिए । उनको नेतृत्वमा रुकुमको राडीज्युला प्रहरी चौकीमा आक्रमण भएको थियो । त्यसपछि उनले कैयन आक्रमणमा मोर्चा सम्हालेका छन् ।

दलित समुदायका नेता भएपनि उनी आफूलाई कुनै जातीविशेषको प्रतिनिधि मान्दैनन् । यद्यपि, एउटा जातीय विभेदको एउटा सानो घटनालाई उनलाई राजनीतिमा लाग्न प्रेरित गरेको थियो । गहतराजले आफ्नो राजनीतिक जीवनको वृतान्त यसरी सुनाए ।

त्यो बिर्सिन नसक्ने घटना

म रुकुमको वीरेन्द्र माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्दै थिएँ । ध्रुवविक्रम शाहको परिवारका सदस्यहरु मेरो एउटै स्कुलमा पढ्ने साथी थिए । एक दिन म उनको घरमा पुगेँ ।

आफ्नो साथीको नाम लिँदै मैले फलानो कहाँ छ भनेर शाहकी श्रीमतीलाई सोधेँ । उहाँ त एकाएक पड्किनुभयो । ‘तँ….. यस्तो भन्ने ? बक्स्योस भन्न तँलाई आउँदैन ?’ भन्दै च्याँठ्ठिनुभयो । ए, बक्सियोस भन्नुपर्ने ! भनेर ममा पनि इगो सुरु भयो ।

०४३ सालको त्यही एउटा घटनाले मलाई राजनीतितिर मोडिन प्रेरित गर्‍यो । शाह परिवारप्रति घृणा पैदा भयो । अरु सामाजिक विभेदहरुको त सामना गर्नु त छँदै थियो । त्यसैले राजनीतिबाटै यस्ता विभेदको अन्त्य गर्न सकिन्छ भन्ने निस्कर्षमा पुगेँ ।
त्यही वर्ष पञ्चायतको चुनाव थियो । जनपक्षीय उम्मेदवारका रुपमा नेता पदमरत्न तुलाधर उठ्नुभएको थियो । उहाँले गरेको भाषण स्कुलका सरहरुले क्यासेट चक्कामा लिएर जाने र सुन्ने गर्नुहुन्थ्यो । त्यसबाट ओहो ! यो पो रहेछ पञ्चायत व्यवस्था, देशमा यस्तो भइरहेको छ भन्ने चेत खुल्न थाल्यो ।

बाँसकोट, मुसिकोट र रुकुमकोट, तीनवटा रुकुमका प्रमुख राजनीतिक सेन्टर थिए । तीनवटै क्षेत्रमा शाहहरुको हैकम चल्थ्यो । मेरो गाउँ पञ्चायतका ‘राजा’ झैं थिए ध्रुवविक्रम । नारायणहिटीमा बस्ने राजालाई भन्दा उहाँलाई धेरै मान्थे स्थानीयवासी । उहाँ पञ्चायतमा मन्त्री पनि हुनुभएको थियो ।

राजनीतिमा लाग्ने ध्येयका साथ तत्कालीन मोटो मशालको भातृ संगठन अनेरास्ववियुमा संगठित भएँ । त्यसको नेतृत्व थियो प्रचण्डको हातमा । ०४५ सालमा म अनेरास्ववियुको जिल्ला कोषाध्यक्ष भएँ । ०४६ सालमा चितवनमा राष्ट्रिय भेला भएको थियो । भेलामा भाग लिन आउँदा मैले पहिलोपटक गाडी चढेँ । रुकुमबाट हिँड्दै दाङसम्म र दाङदेखि चितवनसम्म गाडीमा यात्रा गरेको थिएँ । सो वर्ष जनआन्दोलन भयो । जनआन्दोलनमा बिद्यार्थी हकहितका नारा लगाएर तत्कालीन व्यवस्थाविरुद्ध आवाज उठाइयो ।

आन्दोलन सफल भएपछि बहुदल घोषणा भयो । त्यसपछि म कलेज पढ्न खलङ्गा आएँ । एसएलसी दिएपछि शिक्षक बनिहाल्न पाइन्थ्यो त्यो बेला । तर मैले जागिर होइन, राजनीतिमा लाग्छु भन्ने निधो गरेँ र बुबाआमालाई सम्झाएँ । ०४८ सालमा मुसिकोट क्याम्पसको स्ववियु सभापतिमा उठेँ तर, हारेँ । राष्ट्रिय जनमोर्चासँग पार्टी एकता भएपछि अखिल क्रान्तिकारी राप्ती अञ्चल समन्वय समितिको सचिव भएर काम गरेँ । राप्ती अञ्चलभर काम गर्ने र जान्ने बुझ्ने अवसर मिल्यो ।

विद्यार्थी राजनीतिबाट जनयुद्धमा

विद्यार्थी राजनीतिमा लामो समय रहिनँ । ०५१ मा काठमाडौंमा सम्पन्न अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट विद्यार्थी राजनीति त्यागेँ । म जन्मिएको ठाउँमा पार्टीको झोला बोकेर हिँड्ने मान्छे थिएनन् । शिक्षकहरुले शनिबार मात्रै राजनीति गर्ने, किसानले आफ्नो अनुकुलतामा गर्ने । यो अवस्थामा पार्टीले मलाई पूर्णकालीन भएर जिम्मेवारी सम्हाल्न भनिसकेको थियो । राप्ती अञ्चल कमिटीको मागअनुसार नेताहरुले पनि यही भनेका थिए ।

बन्द सत्रको अध्यक्ष मण्डलमा थिएँ । साथीहरुले मलाई नेतृत्वमा बस्न आग्रह गरिरहेका थिए । डा. बाबुराम भट्टराई आउनुभयो र, ‘हामी राजनीति छोड्दै छैनौं । थप जिम्मेवारी लिने गरी विद्यार्थी राजनीति मात्र छोड्दै छौं । यो पार्टीको आवश्यकता हो’ भन्नुभयो ।

पार्टी जनयुद्धको अन्तिम तयारीमा थियो । पार्टीले रुकुम र रोल्पालाई प्रमुख आधार बनाएर जनयुद्ध थाल्न खोजेको अवस्थामा रामबहादुर थापा ‘वादल’ त्यहीँ अड्डा जमाएर बस्नुभएको थियो । प्रचण्ड र अरु नेताहरु गएर प्रशिक्षण दिइरहनुहुन्थ्यो । देशभरको शक्ति केन्द्रीकरण गर्ने र जागरण पैदा गराउने अभियान चलेको थियो । जनयुद्ध थालनी गर्न जिल्लामा ३२ जनाको प्रारम्भिक टिम तयारी गरियो । त्यसमा ४ जना कमाण्डार छानियो । एउटा कमाण्डर म भएँ । तत्कालीन चार कमान्डरमध्ये दुई जना गणेशमान पुन र म मात्रै अहिले जीवित छौं ।

जनयुद्धले ल्याएको परिवर्तन

०५२ फागुन १ गते सांकेतिक कारबाहीको रुपमा चारवटा प्रहरी चौकी कब्जामा लिने केन्द्रिय निर्णय थियो ।

रुकुम, होलेरी, सिन्धुपाल्चोक र गोरखामा एकरएक वटा प्रहरी चौकीमा आक्रमण गरी त्यहाँका हातहतियार/गोली गट्ठा नियन्त्रणमा लिएर जनयुद्धको थालनी भयो । जसमध्ये एउटा मेरो इलाकाको थियो, राडीज्युला प्रहरी चौकी ।

सिंगो प्रहरी चौकी कब्जा गर्‍यौं । प्रहरीहरुलाई नेपालमा जनयुद्ध सुरु भइसक्यो भन्यौं । आगामी दिनमा यो आन्दोलनविरुद्ध कहीँ पनि नलड्नु, नभिड्नु भनेर छाडिदियौं ।

जनयुद्ध सुरु भइसकेपछि विस्तारै सामाजिक विभेद देखिन छाडे । सुरुमा मैले आफ्नै गाउँमा सामाजिक विभेद अन्त्य गर्न सकेँ भन्ने लाग्छ । यिनीहरुले केही त गर्छन् भन्ने प्रभाव राख्न सकेको भएर पनि छिटो परिवर्तन सम्भव भयो होला । यो फलानो जातिको हो भन्ने भएन । आफूलाई ठूला जातिको भन्ने मानिसहरु पनि उनीहरुको घरमा जाँदा ‘भित्रै आएर बसौं’ भन्थे । बुढापाकाहरु नै यस्तो भन्न थाले । संगै बसेर गफ सुन्न थाले ।

जनयुद्ध सुरु भएको एक वर्ष पछाडि मेरो विवाह भयो, अन्तरजातीय । आफ्नै गाविसभित्रकी पार्टीमै लाग्नुभएकी पार्वती पुन (उशा) सँग आफूखुशी बिहे गरियो । बिहेपछि उनको घरमा एक्लै गएँ । बुबा (ससुरा) ले चिन्नु भएको थियो तर, सासुले चिन्नुभएको थिएन । मैले भनेँ, ‘म हजुरको छोरीको श्रीमान ।’

हाम्रो बिहे भएको सुनेपछि रिसाउनुभएको थियो रे । तर, म आफैँ गएपछि सहजै स्वीकार्नुभयो । त्यसो भएपछि समाज बदलियो है भन्ने अनुभुत भयो । मलाई सुरु देखि नै डररत्रास थिएन । पटक-पटक पार्टीमा आलोचना खेप्नुपरेको विषय, ‘धेरै खुला नहुनुस् है’ भन्ने थियो । ‘धेरै खुला हुँदा क्षती हुन सक्छ है’ भन्ने खालका सुझाव आउँथे । तर, मलाई जनतासँग किन लुक्ने भन्ने लाग्थ्यो ।

जनयुद्धकै बीचमा-बीचमा म पार्टीको जिल्ला सचिव भएँ । तत्कालिन राज्य हामीलाई सिध्याउन लागिराखेको थियो । त्यो परिस्थितिमा ३ वर्षजति काम गर्दा एक वर्ष जिल्ला इन्चार्ज भएँ । ०५७ सालमा म पढेकै विद्यालयमा कार्यक्रम गरी हजारौं जनताको बीचमा जनसरकार घोषणा गर्‍यौं । त्यो देशकै पहिलो जनसरकार थियो । म जनसरकार उपप्रमुख भएँ, पूर्ण घर्ती प्रमुख हुनुहुन्थ्यो । अहिले उहाँ (पूर्ण घर्ती) ५ नम्बर प्रदेशको सभामुख हुनुहुन्छ ।

०५८ सालमा पार्टीले रुकुमबाट कर्णाली खटायो । हुम्ला, जुम्ला, मुगु, कालीकोट जिल्लाको इन्चार्ज भएर म एक वर्ष कर्णाली बसेँ । त्यसपछि तराई झरेँ बाँके, बर्दिया र सुर्खेत हेर्ने गरेर । पार्टीको केन्द्रिय समितिमा पनि थिएँ । त्यसबेला रणनीति तय गरियो, राज्य व्यवस्थालाई हाम्रा आधार क्षेत्रहरुमा जान नदिने ।

सबैभन्दा ठूलो घनत्व, राज्यको उपस्थिति त तराईमा र शहरी क्षेत्रमा थियो । तराईमा हामीले व्यापक गतिविधि चलायौं । पार्टीका आधिकारिक कुराहरु बुझ्नका लागि नेपालका र अन्तर्राष्ट्रिय मिडिया समेत बाँके, बर्दिया जान्थे । मलाई भेट्थे । हामीले सञ्चारकर्मीहरु काठमाडौंबाट नेपालगञ्ज, नेपालगञ्जबाट सोझै गाउँ गएर हामीलाई भेट्न सक्ने तारतम्य मिलाएका थियौं ।

१२ बुँदे सहमति भइसकेपछि जनआन्दोलनको आधार तयार गर्नका लागि सबैभन्दा पहिले बाँके-बर्दियामा नेकपा माओवादी र स्थानीय सात राजनीतिक दलका बीचमा चारबुँदे सम्झौता गरियो । त्यसबेला काठमाडौंमा जुन स्तरको आन्दोलन उठेको थियो, त्यस्तै स्तरमा बाँके-बर्दियामा हामीले गर्‍यौं ।

मनमा विद्रोह, मुखमा संविधानसभा

शान्ति प्रक्रियामा आइसकेपछि पार्टीको स्कुलिङ थियो, मनमा विद्रोह र मुखमा संविधानसभा निर्वाचनको नारा । जनता र संगठनलाई परिचालन गर्न सक्ने ठूलो पङ्ती निर्वाचनको प्रक्रियाभन्दा बाहिर रह्यो । असमझदारी भएर होइन कि तत्कालीन राज्य व्यवस्थाले निर्वाचन नै गर्न दिँदैन र त्यो अवस्थामा फेरि आन्दोलनमा जानुपर्छ भन्ने आँकलनमा । पार्टीको यो खालको निर्देशन भएकाले ०६४ मा म पनि उम्मेदवार नभई बाहिर बसेँ । नेत्रविक्रम चन्द, शक्ति बस्नेत लगायतका धेरै नेताहरु उम्मेदवार हुनुभएन ।

निर्वाचन भइहाल्यो भने पनि अरु प्रक्रिया लामो जाँदैन भन्ने थियो । संविधान निर्माण गर्नै ८ वर्ष लाग्छ भन्ने थिएन । डेड वर्षमै टुङ्गिएला भन्ने थियो । यही स्पिरिटमा ०६४ को निर्वाचन भयो । नेकपा माओवादी सबैभन्दा ठूलो पार्टी बनेर उदायो ।

तर, पार्टीभित्र पनि कतै न कतै शान्तिपूर्ण रुपले सत्ता रुपान्तरणको सम्भावनाबारे आशंकाहरु थिए । संसदीय राजनीतिमा आएपछि पार्टीभित्र बेमेलको अवस्था रह्यो ।

नेताहरुमा पहिलेजस्तो विश्वास देखिएन । माओवादी बाह्य घेराबन्दीमा पनि पर्‍यो । अन्तत, संविधान सभाको दोस्रो निर्वाचन हुने स्थिति पैदा भयो । ०७० मा म बाँके क्षेत्र नम्बर १ (हाल जितेको निर्वाचन क्षेत्र) बाट उम्मेदवार बनेँ तर, पराजित हुन पुगेँ । म भुतले खाजा खाने बेलामा चुनाव लड्न पुगेँ । जतिबेला पार्टी विभाजित भएको थियो र पार्टीप्रति जनतामा वितृष्णा उत्पन्न भएको थियो ।

म दलितको मात्रै नेता होइन

०४६ देखि ०५२ माघ २६ गतेसम्म म जनयुद्धको आवश्यकताबारे भाषण गर्दै हिड्थेँ । एउटा प्रखर वक्ताको रुपमा चिनिन्थेँ । जनयुद्ध औपचारिक रुपमा सुरु हुनुभन्दा अगाडि अन्तिम पटक माघ २६ गते खलंगामा भाषण गरेको थिएँ ।

त्यो बेला मलाई धेरैले भन्थे, अब मारेर फालिदिन्छन् । तर, यस्ता कुरामा ख्याल नगरी ठूला भनिएका जातमा पनि हुने शोषणका कुरा उठाउँथे । म एउटा समुदायको मात्रै प्रतिनिधित्व गरेर आएको होइन । दलितको मात्र नेता होइन । मेरो जिम्मेवारी सबैप्रति उत्तिकै छ ।

जनयुद्ध सुरु नहुँदै रुकुममा राजा रजौटाहरुको विकल्प यो हो कि त भन्ने आम किसानलाई महसुस गराउन सकेको थिएँ । त्यो जिम्मेवारी अहिले पनि छ । तथापि, मलाई समुदायको प्रतिनिधिका रुपमा कतिपयले हेर्छन् । म भने समुदायको क्लस्टरबाट प्रतिनिधित्व गरेका साथीहरुलाई सम्बन्धित समुदायका इस्यूहरुलाई उठाउनुस् भन्छु । यसको अर्थ मैले नउठाउने भन्ने होइन । हामी प्रत्यक्ष निर्वाचित भएकाले सबै समुदायको प्रतिनिधित्व गर्नुपर्छ र मेरो स्वभाव पनि त्यस्तै खालको छ ।

केही समय अगाडि एउटा किताब निस्क्यो, ‘दलित आन्दोलनका अगुवाहरु’ भनेर । त्यहाँ मेरो आएन किनभने म दलित आन्दोलनमा मात्रै सिमित रहिनँ ।

जनसरकार र संसदको अनुभव

जतिबेला जनयुद्ध लडिरहेका थियौं, हामी अहिलेको प्रक्रियाभित्र आउँछौं भन्ने थिएन । त्यसकारण हामीले हिजो जे सोच राखेका थियौं, त्यो यहाँ हुँदैन । तर, के सोच्नुपर्ने अवस्था हो भने अहिलेको प्रणालीबाटै समृद्धि सम्भव छ ।

गरिवि, अभाव र विपन्नताबाट समाजवादरसाम्यवाद आउँदैन । समाजवाद-साम्यवाद समृद्धि हासिल गरेर आउने हो । यति मात्रै फरक हो, समाजवादी व्यवस्थाले सबैलाई समृद्ध बनाउँछ । अहिले अभ्यास गरिरहेको व्यवस्थाले एउटा वर्गलाई पुराका पुरा समृद्ध बनाउँछ र अर्को वर्गको आधारभुत रुपले मात्रै हित गर्छ । यसले विभेद भएर फेरि आन्दोलनका संभावना बचाइराख्छ ।

र, अर्को कुरा हाम्रो संसद औपचारिकतामा सिमित भयो । यसको आफ्नै परम्परागत मान्यताहरु छन् । कहिलेकाँही संसदमा विधेयकहरु घुमिरहेको स्थिति देखिन्छ । त्यहाँ भएको छलफलको सिस्टमहरु हेरिन्छ । आफैँ पनि भाग लिइन्छ ।

संसदमा उठ्ने विषयलाई कार्यपालिका, न्यायपालिकाले आत्मसात नगरेको अनुभुत हुन्छ । कसले सुनेको छ र कहिले कार्यान्वयन हुने हो भन्ने केही जानकारी हुँदैन । तर, पनि हामी पुरानो संसदीय व्यवस्थाकै धारमा भने छैनौं । यो लोकतान्त्रिक गणतन्त्रको धार हो । निर्वाचन त कम्युनिस्ट मुलुकहरुमा पनि भइहाल्छ ।

अमेरिकामा संसदीय गणतन्त्र हो, त्यहाँ प्रत्यक्ष निर्वाचित राष्ट्रपति छ । ड्याङ ड्याङ निर्णय गरेर जाने आधार हुन्छ । कम्युनिस्ट मुलुकमा पार्टीले नेतृत्व छान्छ र त्यसले पनि आफ्नै ढङ्गले निर्णय गरी जान्छ । प्रतिपक्षीको अवरोध भइराखेको हुँदैन ।

ज्ञानेन्द्रको ‘कु’ ले फाइदा

तत्कालीन राजा ज्ञानेन्द्रले ०५९ माघ १९ मा जुन ढङ्गको शासन लाद्न खोज्नुभयो, त्यो पनि माओवादी आन्दोलनको एउटा पर्खाइ थियो । अर्थात, फरक ढङ्गले पहलकदमी लिनुपर्छ भन्ने ठाउँमा पुर्‍यायो । तत्कालिन राजा ज्ञानेन्द्रले दलहरुलाई बाइपास गर्दै जान खोजे । त्यतिबेला सबै राजनीतिक दलहरु संवैधानिक राजतन्त्र स्वीकार गरेको अवस्था थियो । त्यो हुँदाहुँदै पनि ज्ञानेन्द्रले सबै शक्ति केन्द्रीकृत गर्न खोजे । वीरेन्द्रको वंश नाश पनि भएको स्थितिमा पञ्चायतदेखि लुकेर बसेकाहरुले ल अब स्थिति हाम्रो अनुकुल आयो भनेर ज्ञानेन्द्रलाई उक्साए र त्यो कदम भयो ।

त्यो संसदीय दलहरु र राजाबीचको अन्तरविरोधको उत्कर्ष थियो । ०५९ को ज्ञानेन्द्रको कू पछि हामी के निश्कर्षमा पुग्यौं भने, दलहरुलाई संरक्षित गर्दै शान्तिपूर्ण जनआन्दोलनबाट परिवर्तन हुने बेला आइपुग्यो ।

अर्थात, हरेक आन्दोलनको लक्ष्य तत्कालिन शासक वर्गका बीचमै अन्तरविरोध पैदा गराउने हुन्छ । जबसम्म उनीहरुका बीचमा अन्तरविरोध पैदा हुँदैन, जित्न गाह्रो हुन्छ । हामीलाई पनि राजतन्त्र मानेर बसेका राजनीतिक दल र राजतन्त्रका बीचमा अन्तरविरोध पैदा गराउन १० वर्ष लाग्यो ।

माओवादी युद्ध सुरु भएपछि उनीहरुका बीचमा यस्तो अन्तरविरोध पैदा भयो कि, गिरिजाप्रसाद कोइराला नजरबन्दमा बस्नुपर्ने अवस्था आयो । कैयौं नेताहरु बाहिर जानुपर्ने, जेल जानुपर्ने भयो । त्यो अन्तरविरोधलाई सही ढङ्गले सदुपयोग गर्नुपर्छ भन्ने निश्कर्षमा पार्टी पुगेकैले १२ बुँदे समझदारी हुन सक्यो ।

एकतापछिको उत्साह

दुई ठूला कम्युनिष्ट पार्टीबीच ऐतिहासिक एकता भएको छ । कम्युनिस्टहरु ऐतिहासिक कडीलाई बुझेर अगाडि बढ्छन् । जस्तै–सहिद स्मृति दिवस । यो फागुन १४ देखि २१ सम्म मनाइनेछ ।

जनयुद्धमा दिलबहदुर रम्तेल पहिलो सहिद भएको दिन हो फागुन १४ । १४ देखि २१ किन भनेको भन्दा सुखानीका घटनामा कृष्ण कुइँकेल, रत्न वान्तवाहरु २१ गते मारिएका थिए । यस्ता ऐतिहासिक कडीलाई जोड्नुपर्छ । कम्युनिस्टहरुले ऐतिहासिक कडीलाई जोड्ने हो नि । त्यसलाई काट्ने होइन । यो कसले आन्दोलन गर्‍यो भन्ने हिसावले गर्ने होइन ।

म गुटको विरोधी हुँ । गुटप्रति घृणा गर्ने स्वभाव छ । सबैलाई संगै लिएर जानुपर्छ र सबैका योगदान र भुमिकालाई स्वीकार गर्नुपर्छ भन्ने लाग्छ । साथीहरु कसैले मेरो कुरा काट्छन् भने त के लाग्यो ।

मैले आफ्नो निर्वाचन क्षेत्रमा एउटा संस्कृति स्थापित गर्न खोजेको छु । हरेक महिना मेरो निर्वाचन क्षेत्रमा दुई पटक अनिवार्य जान्छु । ३-४ चोटिसम्म पनि पुगेको हुन्छु ।

तल नै केही गरौं भन्ने सोच राख्छु । संसदमा गम्भिर छलफल भइराखेको बेला पनि म आफ्नो निर्वाचन क्षेत्रमा जान्छु र त्यहाँका वुद्धिजिवी, मजदुर, व्यवसायीहरुसँग बस्छु । उहाँहरुबाट सन्दर्भ सामग्री लिएर फर्किन्छु र बहसमा भाग लिन्छु ।

मैले आफ्नो निर्वाचन क्षेत्रमा केही योजनाहरु बुनेको छु । निर्वाचन क्षेत्रलाई विद्युतिकरण गर्नुपर्ने छ । त्यसका लागि मन्त्रीज्यूसहित सिंगो टिम जानुभयो । विद्युत प्राधिकरणको प्रमुख कुलमान घिसिङ, सामुदायिक विद्युतिकरणको डाइरेक्टर सबैलाई लगेर यस्तो समस्या छ है भनेको छु । यसर्थ यहाँबाट भन्नलाई सजिलो छ ।

मेरो जिल्लामा तटबन्धको ठूलो समस्या छ । उर्जामन्त्री आफैँ पुगेर सबै हेर्नुभएको छ । त्यो टोलीमा नीति निर्माण तहका व्यक्तित्वहरु पनि भएकाले भन्नलाई सजिलो भयो ।

पर्यटन क्षेत्रमा केही काम गर्नुछ । त्यसका लागि पहिलो कामको रुपमा नेपालगञ्ज विमानस्थललाई अन्र्तराष्ट्रिय बनाउने र त्यसपछि अरु पूर्वाधार विकास गर्ने योजना छन् । मेरो निर्वाचन क्षेत्र वनसँग जोडिएको छ र आरक्ष छ । त्यससँग सम्बन्धित विषयको विकास गर्नु छ भने मन्त्रीहरुसँग बस्छु । दुईजना मन्त्री त साथी नै हुनुहुन्छ । त्यसकारण पनि रेसपोन्स राम्रै छ ।

पैसा दिएर प्रमुख अतिथि !

कहिलेकाँही क्षमता अनुसारको जिम्मेवारी लिन सकिएन कि भन्ने अनुभूति हुन्छ । क्षमता प्रयोग गर्नका लागि पनि जिम्मेवारी चाहिन्छ । त्यो महसुस हुन्छ तर, त्यसको लागि झगडा गर्ने मेरो स्वभाव छैन । निहुँ खोज्ने, बहाना गर्ने बानी छैन ।

कसैको दया-माया भएर, फलानो जाति, क्षेत्रको भएर आएको पनि होइन । प्रतिस्पर्धा गरेर, पुरै पार्टीभित्र भन्दा अलिक बढी गरेर आएको हुनाले पनि यस्तो लाग्छ ।

अर्कोतर्फ, बुझेर नबुझेर नेपालमा नेताहरुको भाषण सस्तो छ । तपाईं प्रमुख अतिथि भएर आउनु पर्‍यो है भन्छन् । कोशिस गर्छु भन्यो । भोलिपल्ट फेरि फोन आउँछ, अलिकति सहयोग गर्नुपर्‍यो कार्यक्रममा ।

पैसा दिएर कार्यक्रममा प्रमुख अतिथि कसरी बनाउनुहुन्छ ? भन्छु । अमेरिकामा त कार्यक्रममा गएको वक्तालाई पैसा दिन्छन् । पूर्व राष्ट्रपतिहरु भाषण बेचेर जिविका चलाउँछन् । एउटा भाषणको ४ करोड, ५ करोड लिएर बेच्छन् ।

नेपाली राजनेताहरुको भाषण त सस्तो भयो । आफैँ व्यवस्थापन गरेर जानुपर्ने, कार्यक्रम समेतको व्यवस्थापन गरिदिनुपर्ने । महोत्सवहरु हुन्छ, तपाईंले भनिदिनुपर्‍यो, अलिकति थपिदिन्छन् कि भन्छन् । यस्तो स्थिति छ ।

(सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा सांसद महेश्वरजंग गहतराजसँग रघुनाथ बजगाँईले अनलाईनखबरकालागि गरेको कुराकानीमा आधारित)