पोखरामा दुई दिने प्रदेश स्तरीय युवा सम्मेलन शुरु

नेपाल युवा परिषद कास्की जिल्लाको आयोजनामा दुई दिने गण्डकी प्रदेश स्तरीय युवा सम्मेलन पोखरामा शुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको उदघाटन कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख अतित्थतामा भएको थियो भने जिल्लाका अध्यक्ष मोनिका रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा परिवर्तनका सम्वाहक भएकोले युवाहरुमा लगानी गर्नु पर्ने आवश्यक रहेको बताए । उदघाटन कार्यक्रममा प्रदेश सांसद राजीव पहारी, राष्ट्रिय युवा परिषदका प्रतिनिधी आर्शिवाद सुवेदीले लगाएतले सम्मेलनको शुभकामना दिएका थिए ।

पहिलो दिनको कार्यक्रममा नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाँले नेपाल युवा परिषदको यात्राको बारे जानकारी गराए । गण्डकी प्रदेशका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गिरीधारी सुवेदीले गण्डकी प्रदेशको निति तथा योजनाको प्रस्तुतिकरण गरेका थिए ।

यसैगरी कोकाकोलाका प्रतिनिधि विक्रम केसीले कोकाकोलाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरुको प्रस्तुतिकरण गरे भने युवा उधमशीलता शिर्षकमा प्यानल संवाद गरिएको थियो । प्यानल संवादमा पोखरा उद्योग वाणिज्य महासंघका महासचिव अर्जुन पोखरेल, हिमालय अर्गनाइजेसनका प्रतिनिधि एवम महिला उद्यमी मिलन थापा र नेपाल युवा उद्यमी कास्कीका अध्यक्ष वैभव पौडेलको सहभागीता रहेको थियो भने सहजीकरण संचारकर्मी एवम महिला अधिकारकर्मी सरिता तिमल्सिना पङ्गेनीले गरेकी थिइन ।

द पावर अफ आईडिया नामक सेसनको सहजीकरण सुजन रेग्मीले गरे भने विकासमा मानव सेक्युरिटी विषयको सहजीकरण कास्की जिल्लाका एस.पी धन बहादुर कार्कीले गरेका थिए । पहिलो दिनको सम्पूर्ण विषयगत कार्यक्रम पछि विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा नेपाल युवा परिषद कास्कीका सदस्य संकेत तिम्सिनाले स्वागत मन्तव्य, नेपाल युवा परिषद केन्द्रका अध्यक्ष सरोज बानियाले परिषदको परिचय र कास्की परिषदका सचिव अनुपमा पुरीले कार्यक्रमको संचालन गरेकी थिइन ।