हुरीपप र नेपालगन्ज ग्यालरीको पहलमा बारा र पर्साका घाइतेहरुका लागि बाँकेमा रगत संकलन

बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको उपचारका लागि बाँकेमा रक्तदान कार्यक्रमको आयोजना गरि रगत संकलन गरिएको छ । आइतबार राति आएको हावाहुरीबाट घाइते भएकाहरुको उपचारमा रगतको अभाव भएको समाचार सार्वजानिक भए पछि मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) को आयोजना र नेपालगन्जमा सक्रिय रहेको फेसबुक ग्रुप नेपालगंज ग्यालेरीको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रगत संकलन गरी हवाइ मार्गबाट काठमाडौ हुँदै बारा र पर्सा पठाइने तयारी भए पनि बारा र पर्सामा रगत प्रयाप्त भएको जानकारी आए पछि संकलित रगतलाई रक्त संचार केन्द्र नेपालगन्जमा राखिएको हुरीपपका अध्यक्ष आलम खानले जानकारी दिए ।

हुरीपपका सचिव असलम भाट र सहसचिव मोहिनी बाल्मीकीको संयोजकत्वमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा सामाजिक अभियानकर्मी, विभिन्न संघ संस्था, विभिन्न क्लब सङ्ग सम्बन्धित २० जना यूवाहरुले रक्तदान गरेको नेपालगन्ज ग्यालरीका संस्थापक एड्मिन समिरमान श्रेष्ठले जानकारी गराए ।

प्रेस बिज्ञप्ति र अपिल

यसै सन्दर्भमा थर्ड एलायन्सका संचार संयोजक रक्षाराम हरिजनले ठूलो जनधनको क्षति हुने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रकोप प्रभावित बारा र पर्सामा आवश्यक औषधि र दक्ष चिकित्सकहरुको टोली तत्काल व्यवस्था गर्नुपर्ने, घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन र मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन एक प्रेस बिज्ञप्ति मार्फत माग गरेका छन । उनले घाइतेहरुको उद्धार, उपचार तथा मानवीय सहायताका लागि अविलम्ब सहभागी हुन राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय संघसंस्था, नागरिक समाजलगायत सबैलाई अपील गरेका छन ।

त्यसैगरी नयाँ शक्ति पार्टी सम्बद्व युवक संगठन युवा शक्ति नेपाल संघीय समितिका तर्फबाट महासचिब जिएस गुरुङ्गले पनि एक अपिल प्रकाशित गर्दै २ नम्बर प्रदेशको बारा र पर्सा जिल्लामा आएको बिनासकारी हावाहुरीका कारण मृत्यु भएकाहरु प्रती श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । ‘यो बिपदको घडीमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तदारुकताका साथ हावाहुरीमा मृत्यु हुनेहरुको परिवारलाई उचित क्षतिपूर्ति गराउन तथा घाईतेहरुको उद्दार तथा उपचारमा कुनै कसर बाकी नराखि राहत उपलब्ध गराउनका साथै सबै नेपाली जनताहरुलाई उद्दारमा खटिनुका साथै राहत सहयोग गरिदिनका लागि अपिल गर्दछौं  ‘ महासचिब गुरुङ्गद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ ।