बदनाम घुमुवा प्रहरी !  उद्देश्य सही, काम ‘हप्ता असुली’

काठमाडौं-  गत वर्ष माघ तेस्रो साता अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाँ, धनुषामा कार्यरत प्रहरी जवान मनोज प्रसैला घुससहित रंगेहात समातिए । अपराधको सूचना संकलनका लागि राखिएका घुमुवा प्रहरी प्रसैलाले कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक सन्तोषकुमार सिंहको ग्रीन सिग्नलमा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासका अनुसार प्रसैलाले मदिराको विक्री वितरणलाई सहज बनाइदिने आश्वासनमा रकम माग गरेका थिए ।  त्यस्तै दुई वर्षअघि व्यवसायीलाई अपहरण गरेको आरोपमा घुमुवा प्रहरी सम्बत लामा र सूर्यबहादुर थापा पक्राउ परेका थिए । लामा महानगरीय अपराध अनुसन्धान महशाखाका सई थिए भने थापा महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत थिए ।

टाइगर ओभरसिज प्रा।लि।का व्यवसायी बद्री राईलाई सुन कारोबारी भन्दै बन्धक बनाएर उनीहरुले एक करोड २५ लाखको चेक लिएका थिए । पछि उनीहरु आफ्नै कार्यायलका अधिकारीहरुको फन्दामा परे । अनुसन्धानका क्रममा दुई प्रहरी अधिकारीको संलग्नता खुलेपछि अपराध महाशाखाले नै उनीहरुलाई पक्राउ गर्‍यो र काठमाडौं प्रहरी परिसरबाट मुद्दा दायर भयो ।

०७१ सालमा बाँकेका तत्कालीन प्रहरी प्रमुख एसपी शेखर कोइराला घुमुवा प्रहरीकै कारण निलम्बित भए । बाँकेका तत्कालीन घुमुवा प्रहरी नायब निरीक्षक (सई) सुमन खरेललाई अख्तियारले २५ हजार रुपैयाँ घुससहित एक रेष्टुरेन्टबाट पक्राउ गरेको थियो ।

खरेललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र आयोगका टोलीबीच घम्साघम्सी नै भयो । त्यसक्रममा केही घाइते पनि भए । घटनामा प्रहरी प्रमुख कोइराला पनि जोडिएपछि अख्यितयारको सिफारिसमा प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको थियो ।

८ भदौ ०७० मा काठमाडौं प्रहरी परिसर, टेकुका घुमुवा प्रहरी जवान नारायण थापा र राजकुमार माझी २५ किलो सुन लुटपाटमा संलग्न भएको भेटियो । उनीहरुले १६ किलो सुनको सूचना दिएका वेला चुत्तबुझ्दो कमिसन नपाएपछि आफैं लुटपाटमा संलग्न भएको प्रहरीले बताएको थियो ।

पछिल्लो समय घुमुवा प्रहरीमाथि मुद्दा चलेको घटना कमै सार्वजनिक भए पनि उनीहरुको असुली धन्दा भने रोकिएको छैन । विशेषः तराईका जिल्लाहरुतिर घुमुवा प्रहरीहरु असुलीमा संलग्न हुने गरेको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह–सचिव रामेश्वर दंगाल बताउँछन् ।

‘म यहाँ आएपछि ६ महिनाको अवधिमा एक जना घुमुवामाथि मुद्दा दायर भएको थियो’, उनले  भने, ‘उनीभन्दा माथिल्लो तहमा भने नेक्सस देखिएको थिएन ।’ उनले त्यो काम कसैको निर्देशनमा गरेका थिए वा आफैंले गरे भन्ने नखुलेको उनको भनाइ छ ।

अख्तियारका प्रवक्तासमेत रहेका दंगाल थप्छन्, ‘प्रहरीको इन्टलिजेन्समा काम गर्ने घुमुवा प्रहरीहरु विश्वास गरिएका मान्छेहरु हुन् । तर, यदाकदा बीचमै खेल्ने गरेको देखिएको छ ।’

राजधानीमै पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्व हुने प्रहरी वृत्तदेखि प्रहरी निरीक्षकको कमाण्ड हुने प्रभागसम्ममा घुमुवा राखिएका छन्

त्यसो त पछिल्लो समय अख्तियारको फन्दामा परेका घुमुवाको संख्या न्यून भए पनि प्रहरी प्रधान कार्यालको उजुरी छानविन शाखामा भने उनीहरुको कर्तुतको चाङ लाग्ने गरेको छ । कतिपय घुमुवालाई अन्यत्र सरुवा पनि गरिएका छन् । तर, उनीहरु राजनीतिक पहुँच र प्रहरीको उच्च अधिकारीको सोर्स लगाएर पुनः पुरानै स्थानमा फर्किने गरेका छन् ।

यसअघिका प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले घुमुवाहरुको दबदबाबारे गुनासो व्यापक भएपछि विभिन्न अञ्चल प्रहरी कार्यालयका सिभिल प्रहरीलाई हटाएका थिए । त्यसवेला अञ्चल प्रहरी कार्यालय, बाँकेदेखि जिल्लामा हेटौंडा, नुवाकोट लगायतका जिल्लाका सिभिल टोली हटाइएको थियो ।

उनीभन्दा अघिका आईजीपी उपेन्द्रकान्तको पालामा त घुमुवा प्रहरी हटाउने अभियान नै चल्यो । यद्यपि, त्यति प्रभावकारी हुन सकेन ।

को हुन् घुमुवा प्रहरी ?

सामान्य रुपमा बुझ्दा घुमुवा सादा पोशाकका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हो । तर, पछिल्ला वर्षहरुमा उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय छन् ।

इञ्चार्जसमक्ष पैसा पुर्‍याउने विश्वासिलो माध्यम बनेका छन्, उनीहरु । घुमुवा प्रहरी विशेषतः तराईका जिल्लामा बढी सक्रिय देखिन्छन् । सीमा नाकाबाट हुने चोरी, तस्करीमा उनीहरु जोडिँदै आएका छन् ।

घमुवा प्रहरी भनेर छुट्टै दरबन्दी हुँदैन । जिल्ला प्रहरी कार्यालयहरुमा ५ देखि १० जनासम्म घुमुवा राखिएको देखिन्छ ।

राजधानीमै पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्व हुने प्रहरी वृत्तदेखि प्रहरी निरीक्षकको कमाण्ड हुने प्रभागसम्ममा घुमुवा राखिएका छन् । कतिपयमा कार्यालयमा असईको कमाण्डमा उनीहरुलाई राखिएको छ भने केही वृत्तहरुमा हवल्दारको कमाण्डमा छन् । जिल्लामा भने प्रहरी निरीक्षकको कमाण्डमा पनि घुमुवा खटाइएका छन् ।

उपत्यकाका अधिकांश प्रहरी कार्यालयहरुमा दुईदेखि ५ जनासम्म घुमुवा परिचालित रहेको भेटिन्छ । स्रोतका अनुसार प्रहरी वृत्त, दरबारमार्ग, लैनचौर लगायतले ३ जना घुमुवा राखेका छन् भने महाराजगञ्ज, बानेश्वर लगायतका वृत्तमा दुई जना घुमुवा छन् ।

कोटेश्वर प्रहरी प्रभागमा भने एकजना प्रहरी जवान नै घुमुवा राखिएका छन् । उनी यसअघि लामो समय साह्रखुट्टे प्रहरी वृत्तमा घुमुवा बसेका थिए ।

केही घुमुवा प्रहरी एउटै प्रहरी अधिकारीको वरिपरि घुमेको पनि देखिन्छन् । अर्थात्, हाकिमको जता जता सरुवा हुन्छ, उनीहरुलाई पनि त्यतै लग्ने गरिएको छ ।  कतिपयको हकमा भने यो लागू हुँदैन । उनीहरुको जागिर जुन जिल्लाबाट सुरु भएको छ, त्यहीँबाट अवकाश भएका उदाहरणहरु पनि प्रशस्तै छन् । कहाँ–कहाँबाट रकम उठाउने गरिएको छ भन्ने उनीहरुलाई थाहा हुने भएकाले पनि घुमुवालाई सामान्य अवस्थामा सारिँदैन ।

यसरी प्रहरी कार्यालयहरुको नेतृत्व गरेका अधिकारीहरुले आफू निकटका अधिकारीलाई घुमुवा राखेर अनुकुलता अनुसार प्रयोग गर्दा उनीहरु बदनाम छन् । 

प्रहरी प्रधान कार्यालय । तस्वीरः अनलाइनखबर
यसरी सुरु भएको थियो घुमुवा राख्ने चलन

नेपाल प्रहरीमा घुमुवा प्रहरी राख्ने चलन कहिलेबाट सुरु भयो भन्ने थाहा पाउन ०३५ सालतिर फर्किनु पर्छ, जतिबेला दुर्लभकुमार थापाले नेपाल प्रहरी हाँकिरहेका थिए ।

त्यसबेला प्रहरी न्यून संख्यामा थिए । थापा सूचना संकलनलाई फराकिलो बनाउने पर्ने पक्षमा थिए । त्यसले अपराध अनुसन्धानमा मात्र नभइ अपराधको रोकथाममा पनि टेवा पुग्ने उनको विश्वास थियो ।

उनले प्रहरीको मुख्य काम ‘जेनरल पुलिसिङ’ मात्र नभइ अपराधको नियन्त्रण र अनुसन्धान पनि भएको मान्यतालाई अघि बढाउँदै घुमुवा प्रहरी परिचालनलाई प्राथमिकतामा राखे । त्यसयता घुमुवा राख्ने चलन बढेर गएको हो ।

त्यसबेला काठमाडौं प्रहरीमा केरकार भनेर अपराध अनुसन्धानको लागि सानो युनिट थियो । जसलाई विशेष शाखा भनिन्थ्यो । त्यसअघिका आईजीपी खड्गजित बरालको पालामा पनि अपराध अनुसन्धानलाई ‘इफेक्टिभ’ बनाइएको थियो । अपराध अनुसन्धान र सूचना संकलनलाई उनले पनि प्राथमिकतामा राखेका थिए ।

त्यसवेला घुमुवाको प्रयोगले प्रहरीलाई अपराध अनुसन्धानमा धेरै सहयोग पुगेको पूर्वप्रहरी अधिकारीहरुको अनुभव छ । यद्यपि, घुमुवा प्रहरीसम्बन्धी कुनै संस्थागत निर्णय भने भएको थिएन । जसका कारण दिलबहादुर लामा ०३९ सालमा आईजीपी भएपछि घुमुवासम्बन्धी व्यवस्था प्राथमिकतामा परेन ।

त्यसयता घुमुवाबारे कुनै संस्थागत कदम चालिएको छैन । त्यसपछि नै हो, घुमुवा प्रहरीको दुरुपयोग हुन थालेको पनि । विस्तारै गाँजा खेती र तस्करीमा पनि घुमुवा प्रयोग हुन थाले ।

उनीहरुको संरक्षण र हामिकको आडमा सीमा नाकाहरुमा तस्करी बढ्यो । त्यहीक्रम बढ्दै जाँदा अहिले घुमुवा प्रहरीको स्थिति उद्देश्यभन्दा ठीक विपरित छ ।

आईजीपी खनालकै २३ घुमुवा !

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ।
प्रहरीका कारण संगठन बदनाम भएको भन्दै रमेशचन्द ठकुरी आईजीपी भएका वेला गृहमन्त्रालयले घुमुवा हटाउन निर्देशन दिएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान मात्रै गर्ने कार्यालयदेखि बाहेकका युनिटबाट विभिन्न चरणमा करिब दुई सय घुमुवा प्रहरीलाई तानेको थियो ।

त्यसवेला गृहले भनेको थियो, ‘अनुसन्धान गर्ने निकायबाहेक सादा पोशाकमा प्रहरी परिचालन नगर्नू । विशेष परिस्थितिमा प्रयोग गर्नु परे माथिल्लो कार्यालयका आदेश लिएर मात्रै घुमुवा राख्नू ।’ केन्द्रमा तानिएका ती अधिकारीहरुलाई बर्दीमा खट्ने गरी अन्यत्र जिल्लाहरुमा पठाइएको थियो । तर, केहीदिनमै ‘पावर एक्सरसाइज’ गरेर कतिपय पुरानै ठाउँमा फर्किएका थिए ।

घुमुवाको गतिविधिलाई नियन्त्रण गर्न चालिएको यो नै पहिलो कदम मानिन्छ । अहिले प्रहरी वृत्त, प्रभाग र चौकीहरुको त कुरै छाडौं, स्वयम् प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको सचिवालयले पनि २३ जना घुमुवा प्रहरी खटाएको छ ।

प्रदेश २ प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार तराईका जिल्लाहरुमा अहिले कतिपय घुमुवा सक्रिय छन् । ती अधिकारीले भने, ‘सचिवालयका घुमुवा प्रहरीहरु वीरगञ्ज, जनकपुर लगायतका क्षेत्रमा सक्रिय छन् । उनीहरुलाई के उद्देश्यले ल्याइएको हो चाहिँ थाहा भएन ।’

स्रोतका अनुसार आईजीपी सचिवालयले ती घुमुवाहरुलाई विभिन्न प्रदेश, क्षेत्र, जिल्ला, इलाका प्रहरी कार्यालयहरुबाट तानेर केन्द्रमा ल्याएको थियो । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, प्रशासन उपशाखाले विभिन्न प्रहरी युनिटहरुलाई पठाएको एक पत्रका अनुसार ती अधिकारीहरुलाई ६ महिनाका लागि तानिएको हो ।

पत्रमा भनिएको छ, ‘निम्न कार्यालयहरुमा दरबन्दी भएका प्रहरी कर्मचारीहरुलाई ६ महिनासम्मको लागि प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा काज खटाइएको हुँदा हाजिर हुन पठाउन हुन निर्देशानुसार अनुरोध छ ।’ पत्रमा विशेष ब्युरोका लागि भनिए पनि उनीहरुलाई घुमुवा प्रहरीको रुपमा खटाइएको सचिवालयका एक अधिकारी नै बताउँछन् ।

ती अधिकारीका भन्छन्, ‘प्रतिआतंकवाद र विशेष प्रकृतिको घटनाको अनुसन्धान गर्ने सुक्ष्म युनिटमा तानेर उनीहरुलाई घुमुवाका रुपमा आफू अनुकुल प्रयोग गरेर सचिवालयले विशेष ब्यूरोकै समेत दुरुपयोग गरेको छ ।’

पत्रअनुसार प्रहरी नायव निरीक्षक कृष्णदेवप्रसाद शाहलाई संघीय प्रहरी इकाइ कार्यालय सगरमाथा, प्रहरी सहायक निरीक्षक रामरेख राय यादवलाई क्षेत्रीय सशस्त्र प्रहरी गण हेटौंडा, प्रहरी हवल्दार शिवकुमार मण्डललाई जिल्ला प्रहरी कार्यालय जाजरकोट र रामेश्वरप्रसाद यावदलाई सशस्त्र प्रहरी गण हेटौंडाबाट तानिएको छ ।

असई रामरेखको टोली हाल जनकपुरमा सक्रिय छन् । त्यस्तै, प्रहरी हवल्दार विनोदकुमार शाहलाई अ.स.प्र. गुल्म नारायणी, सुरेन्द्र चौधरीलाई जिल्ला प्रहरी कार्यालय, सर्लाही, इलाका प्रहरी कार्यालय बस्तीपुर, सिन्धुलीबाट अरविन्दकुमार सिंह, इलाका प्रहरी कार्यालय खरानीटारबाट पैदाम्बर अन्सारी र प्रहरी वृत्त, जगातीबाट भगवान राय यादवलाई तानेर सचिवालयबाट घुमुवाको रुपमा प्रयोग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी जवान संजिवकुमार झा र प्रहरी चौकी रत्नावती सिन्धुलीका भुवाली शाहलाई पनि केन्द्रमा तानिएको छ । सचिवालय मातहत यति धेरै संख्यामा घुमुवा प्रहरी राख्नुको उद्देश्य आफूले बुझ्न नसकेको प्रदेश दुईका एक जिल्ला प्रहरी प्रमुख एसपी बताउँछन् । ‘केन्द्रबाट हस्तक्षेप गर्ने गरी के कामका लागि खटाइएको हो, आश्चर्यजनक छ’, ती एसपीले भने ।

घुमुवा प्रहरीले गल्ती गरेको देखिए कारबाही गरेको इतिहास छ – उत्तम सुवेदी, केन्द्रीय प्रहरी प्रवक्ता एवं एसएसपी

 

ती अधिकारी प्रश्न गर्छन्, ‘विशेष ब्यूरोको लागि भनेर तानिएका अधिकारीहरुलाई अर्कै ठाउँमा पठाउनुको उद्देश्य के हुन्छ रु तपाईंं वीरगञ्जको लागि भनेर ल्याएको कर्मचारीलाई रसुवा पठाउनु हुन्छ भने त्यसको उद्देश्य कसरी राम्रो हुन्छ ?’

त्यसो त केही वर्षअघिसम्म विशेष ब्यूरोमा छानिएका उत्कृष्ट प्रहरी अधिकारीहरुलाई मात्र राख्ने गरिन्थ्यो । बमबहादुर भण्डारी ब्यूरोमा हुँदा उनले सिफारिस गरेका अधिकारीहरु मात्रै त्यहाँ खटाइन्थ्यो ।

‘देवेन्द्र सुवेदी, राजेन्द्रसिंह भण्डारी लगायतको नेतृत्वको वेला पनि एकदमै सेलेक्टेड अधिकारी मात्रै ब्यूरोमा पठाइन्थे’, एक अनुसन्धान अधिकारी स्मरण गर्छन् । द्वन्द्वकालसम्म त प्रहरीमा विशेष ब्यूरो पनि छ भन्ने सर्वसाधारणलाई थाहै थिएन । यसअघि ११ मंसिरमा खनालले विशेष ब्यूरोलाई आफ्नो सचिवालय मातहत तानेका थिए ।

पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी संस्थागत स्वार्थको लागि घुमुवा प्रयोग गरिएको हो भने त्यो राम्रो भएको बताउँछन् । उनी भन्छन्, ‘जिल्लाका एसपी वा अन्यको छड्के हान्ने हो अथवा केका लागि हो ? त्यो उद्देश्यमा भर पर्ने कुरा हो ।’

यदी उनीहरु महिनावारी असुलीमा क्रियाशील छन् भने त्यो गलत भएको उनी बताउँछन् ।

केही घुमुवाका उत्कृष्ट काम

घुमुवा प्रहरी राख्नु नराम्रो भने होइन । राम्रो अफिसर खटिएका ठाउँमा तिनै घुमुवाले उत्कृष्ट नतिजा पनि दिएका छन् । किनकि, उनीहरु त्यसक्षेत्रमा हुने अपराधिक गतिविधि र अपराधीबारे जानकार हुन्छन् ।

जनकपुरमा दिवेश लोहनी, उत्तम सुवेदी जस्ता अधिकारीहरुले नेतृत्व गर्दा राम्रो नतिजा देखिएको एक पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) स्मरण गर्छन् । अपराध अनुसन्धानमा उनीहरुलाई प्रयोग गर्दा त्यसको प्रतिफल पनि उत्कृष्ट आएको उदाहरण प्रशस्तै भएको उनको भनाइ छ ।

एउटा अनुसन्धानको उदाहरण हेरौंः

१८ जेठ ०६९ सालमा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या भएपछि राजधानीमा प्रहरीले अनुसन्धान गरिरहेको थियो । त्यसवेला जनकपुरमा चोरीका घटना बढिरहेका थिए ।

त्यसक्रममा जनकपुरमा खटिएको घुमुवा प्रहरीको एक टोलीले एकजना आरोपितलाई पक्राउ गर्‍यो । चोरीको केशमा समातिएका उनीमाथि अरु सूचनासमेत आउन सक्ने आशंकामा प्रहरी अधिकारीले केरकार जारी राखे ।

जनकपुर बम विष्फोट प्रकरणका विषयमा केही सूचना आउन सक्छ कि भन्ने अधिकारीहरुको आश थियो । त्यसक्रममा प्रहरीले देखाएको प्रलोभनमा पर्दा ती अभियुक्तले आफूलाई एउटा ठूलो अपराधको सूचना भएको बताए । अधिकारीहरुले आश गरेको भन्दा ठूलो सूचना थियो, त्यो । सुरुमा उनीहरुले त्यो विश्वास गर्नै सकेका थिएनन् ।

न्यायाधीश बम हत्यामा संलग्न बाबु थापासहित करण लगायत । अनलाइनखबर फाइल
तर, केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० सम्म त्यो सूचना पुगेपछि झापाको बिर्तामोडका शिव भनिने करण चौधरी पक्राउ परे । त्यसक्रममा उनले न्यायाधीश बममाथि आफैंले गोली हानेको बताए । यद्यपि, अझै प्रहरीले उनको भनाइमा शंका गरिरहेको थियो ।

तर, जब उनले मुख्य अभियुक्त बाबु थापाका बारेका थुप्रै विवरणहरु प्रहरीलाई बताए, तब चोरी मुद्दाका अभियुक्तले दिएको सूचना सही ठहरियो ।

करणलाई अनुसन्धान अधिकारीहरुले घटनामा प्रयोग भएको मोबाइलको नम्बर सोधे । उनले पूरै नम्बर त भन्न सकेनन् । तर, अन्तिमका दुई नम्बर दिए । र, प्रहरीले तयार पारेको सूटरको स्केच पनि उनीसँग दुरुस्तै मेल खायो । त्यसपछि घटनामा सहयोगीको भूमिका खेलेका दीपक कर्णलाई पनि पक्राउ गर्न प्रहरी सफल भयो ।

यसरी घुमुवा प्रहरीकै कारण रणबहादुर हत्याको अनुसन्धानमा प्रहरीलाई महत्वपूर्ण क्लू मिलेको थियो ।

घुमुवा प्रहरी भन्छन् – शतप्रतिशत चोखो हुन सकिँदैन

प्रदेश ५ को एक जिल्ला प्रहरी कार्यालयमा खटिएका घुमुवा प्रहरी हवल्दारले सादा पोशाकमा बसेपछि शतप्रतिशत ‘पवित्र’ हुन नसकिने तर्क गरे । उनले अनलाइनखबरसँग भने, ‘हामीले अपराधीको सूचना ल्याउनुपर्छ भने उनीहरुसँग हिँड्नुपर्छ, संगत गर्नुपर्छ । उनीहरुले भनेका केही कुरा मान्दिनु पनि पर्छ ।’

तर, केही प्रहरीको गलत कार्यले घुमुवा प्रहरी भन्ने शब्द नै बदनाम भएको उनले टिप्पणी गरे । अपराधिक क्षेत्रमा लागेका व्यक्तिसँग विश्वासको वातावरण सिर्जना गर्न पनि कतिपय अवस्थामा गलत कार्य गर्नुपर्ने उनी बताउँछन् ।

यद्यपि, हाकिमको चाहनाअनुसार घुमुवालाई गलत काममा प्रयोग गरिने गरिएको उनी स्वीकार्छन् । ‘कोही राम्रो हाकिम आउँछन्, अपराध अनुसन्धान र सूचना संकलन गर्न मात्र लगाउँछन्’, उनले थपे, ‘तर, केही चाहिँ आउने वित्तिकै कहाँ–कहाँबाट पैसा उठाउने गरेको छ भनेर सोध्छन् ।’

कतिपय अवस्थामा भने घुमुवा प्रहरीले हाकिम र अपराधी दुवै पक्षसँग डिल गर्ने गरेको भेटिन्छ । जुन कुरा गम्भीर भएको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

अधिकारीहरु भन्छन्, ‘पहिले पहिले वीरगञ्जमा हुने अपहरणका घटनाबारे घुमुवा प्रहरीलाई अग्रिम जानकारी हुन्थ्यो । पैसा जताबाट आउँथ्यो उनीहरु त्यतै लाग्थे । द्वन्द्वको समयमा यो प्रवृत्ति झन् बढी थियो ।’

कतिपय अवस्थामा घुमुवाले व्यक्तिगत स्वार्थ प्रेरित सूचना ल्याउने गरेको अनुभव महानगरीय प्रहरी अपराध महाशाखाका एक पूर्वप्रमुखले सुनाए । उनका अनुसार कुनै एक व्यक्तिको फेरो समातेपछि दुश्मनी भएका अर्को पक्षका सूचना घुमुवाले ल्याउने गरेका उदाहरण पनि छन् ।

जसको एउटा ज्वलन्त उदाहरण हुन्, ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ । जसले ३ वर्षको अवधिमा ३८ क्वीन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याए ।

अनुसन्धान अधिकारीहरुका अनुसार उनले आफ्ना प्रतिष्पर्धी तस्करहरुको सूचना घुमुवामार्फत प्रहरीलाई चुहाउँथे । उनकै सूचनाले थुप्रै पटक सुन समातिएको उच्च स्तरीय छानबिन समितिले समेत खुलासा गरिसकेको छ ।

प्रहरी प्रवक्ता भन्छन्– गल्ती भेटिए कारवाही हुन्छ

घुमुवा प्रहरीको सन्दर्भमा हाल सर्वेन्द्र खनाल नेतृत्वको नेपाल प्रहरीको नीति के छ त रु केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम सुवेदी भन्छन्, ‘घुमुवा प्रहरीहरु वेलावेला विवादमा आउने गरेका छन् । तर, केही गल्ती भेटेको खण्डमा कारबारी गरेको इतिहास छ ।’

घुमुवा प्रहरीको जति विवादित छन्, त्यति वास्तविकता नभएको उनी दाबी गर्छन् । ‘उनीहरु सधैं एउटा समूहको निशानामा हुन्छन् । त्यसैले उजुरीहरु बढी आउने गरेका हुन्’, उनको तर्क छ, ‘घुमुवाको कामले सबै पक्ष सन्तुष्ट नहुने हुँदा पनि विवाद हुने गरेको हो ।’

उनीहरु अपराध नियन्त्रणको महत्वपूर्ण अंग भएको सुवेदी बताउँछन् । ‘अहिलेको हाम्रो नीति भनेको घुमुवा राख्ने वा नराख्ने भन्दा पनि गलत काम गर्न निरुत्साहित गर्ने हो’, उनले थपे, ‘त्यसका लागि हरेक ठाउँमा इञ्चार्जले सुपरभिजन गर्छन् ।’ हाल प्रदेश प्रहरी कार्यालयले जिल्लाका घुमुवामाथि निगरानी गर्ने गरेको सुनाए ।

#अनलाईन खबरबाट साभार