१५ चैत्र २०८०, बिहीबार
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र
  • काँचुली खबर

आगामी माघ २५ गतेदेखि हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र पारिएको छ । ५ नं. प्रदेशको बाँकेमा हुन गईरहेको प्रतियोगिताकालागि आवश्यक पूर्वाधारहरुको निर्माण प्रक्रियालाई अगाडी बढाईएको छ । कतिपय संरचनाहरु निर्माण भईरहेका छन भने कतिपय संरचना तथा खेल मैदानको निर्माण कार्य अझैं अगाडी बढ्न सकेको छैन । यद्ययी खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले समयमै सम्पूर्ण खेलमैदान निर्माण गर्न क्षेत्रिय खेलकुद विकास समिति बाँकेलाई निर्देशन दिएको बताएका छन ।
शुक्रबार बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानको अनुगमनका क्रममा सदस्य सचिव विष्टले कोहलपुरमै क्रिकेट खेल आयोजना गर्ने निर्णय भएकाले निर्धारित समयमै मैदान निर्माण कार्य सम्पन्न गर्न क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीलाई निर्देशन दिएका हुन । ‘हामी खेल सार्ने पक्षमा छैनौं’ सदस्य सचिव विष्टले भने, ‘निर्धारित समयमै खेल खेलाउन मिल्ने गरी मैदान तयार गर्ने तर्फ लाग्नुहोस ।’

क्रिकेट खेलका विषयमा अनेक टिप्पणीहरु आईरहेको प्रति लक्षित गर्दै सदस्य सचिव विष्टले भने, ‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट विधा तर्फको खेल कोहलपुर मैदानमै हुन्छ, ढुक्क हुनुहोस ।’ बजेटमा देखिएको समस्याले केही पूर्वाधारहरु निर्माणमा समस्या देखिएपनि प्रदेश तथा स्थानिय सरकारसँगको समन्वयमा मैदान निर्माण कार्य सम्पन्न गरीने विष्टले दावी गरे ।
समयमै क्यूरेटर नआउँदा मैदानमा पिच निर्माण कार्य सुरु गर्न नसकिएको क्षेत्रिय खेलकुद विकास समिति बाँकेका अध्यक्ष भिम वलीले बताए । भौगोलिक बनावटका दृष्टिकोणले कोहलपुर क्रिकेट मैदान उपयुक्त रहेको र छोटो समयमै मर्मत गर्न सकिने भएकाले आगामी आईतबारबाट क्यूरेटर सहित मैदान निर्माण कार्य अगाडी बढाईने वलीले जानकारी दिए । वलीले मैदान निर्माण कार्यमा समन्वयकारी भूमिका निर्वाहकालागि कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई आग्रह समेत गरेका छन ।

मैदान निर्माणकालागि प्राविधिक विषयमा क्षेत्रिय खेलकुद विकास समिति गम्भिर हुनुपर्ने बताउँदै कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले अन्य विषयहरुमा कोहलपुर नगरपालिका समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको बताए । रावतले क्रिकेट मैदान निर्माणकालागि कोहलपुर नगरपालिकाले जुनसुकै मुल्य चुकाउन तयार रहेको स्पष्ट पारे ।
हाल कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुर क्रिकेट मैदानमा आधुनिक शौचालय निर्माण गरिएको छ भने, आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै ड्रेसिङ रुम समेत निर्माण गर्न लागिएको छ । त्यसैगरी कोहलपुर नगर विकास समितिको १ करोड ३८ लाख लागतमा मैदानको उत्तरतर्फ तटबन्धन गर्ने कार्य समेत सुरु गरिएको छ ।

  • ७ मंसिर २०७५, शुक्रबार १९:१८ प्रकाशित
  • Nabintech