उत्कृष्ट सामुदायिक वन र निजीबनका किसान पुरस्कृत

डिभिजन वन कार्यालय बाँकेले जिल्ला भित्र रहेका १ सय १९ सामुदायिक वन उपभोक्ता समुह मध्येबाट उत्कृष्ट कार्य प्रदर्शन  गरेको भन्दै विभिन्न ३ वटा सामुदायिक वन उपभोक्ता समूह र ४ वटा निजीवनका किसानहरुलाई प्रमाणपत्र सहित नगद रकमले पुरस्कृत गरेको छ ।

आईतबार नेपालगन्जमा राखिएको जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक मार्फत उनिहरुलाई पुरस्कृत गरिएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले जानकारी दिए ।

पुरस्कृत हुनेहरुमा खजुरा गाउँपालिका वडा नम्बर – ५ स्थित गिजरा सामुदायिक वन उपभोक्ता समूह प्रथम, राप्तिसोनारी गाउँपालिका वडा नम्बर – २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूह द्वितीय र राप्तिसोनारी गाउँपालिका वडा नम्बर – ४ स्थित जलहन सामुदायिक वन उपभोक्ता समूह तृतीय रहेका छन । उनिहरुलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद रकम सहित प्रमाणपत्र प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेकि सहायक वन अधिकृत ज्योती घिमिरेले जानकारी दिईन ।

त्यसैगरी उत्कृष्ट निजिबन तर्फ नरैनापुर गाउँपालिका – ६ का किसान प्रेम चन्द्र मौर्य प्रथम, खजुरा गाउँपालिका – २ का किसान बाबुराम गौतम द्वितीय, नेपालगन्ज उपमहानगरपालिका – २२ का किसान जुमई दर्जी तृतीय र बैजनाथ गाउँपालिका – ५ का किसान सुरत बहादुर शाहीलाई सान्त्वना सहितको प्रमाणपत्र र नगद रकम प्रदान गरिएको सहायक वन अधिकृत घिमिरेले जानकारी दिईन । उनिहरुलाई क्रमश : १० हजार, ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको उनले बताईन ।

पुरस्कृत हुनेहरुलाई जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय कुमार श्रीवास्तव, डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले संयुक्त रुपमा प्रमाणपत्र साथै पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओली, सशस्त्र प्रहरी वल ३० नम्बर गण बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेष बहादुर शाह, कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक रामचन्द्र शर्मा, बाँके राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत पुरुसोत्तम शर्मा, बनस्पति अनुसन्धान केन्द्रका सुनिल शर्मा आचार्य, निजीवन संजाल बाँकेका अध्यक्ष मोहन रिजाल, विभिन्न सरकारी कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आर्थिक बर्ष २०७५/०७६ मा डिभिजन वन कार्यालय बाँकेले गरेका विभिन्न कार्यहरुको समिक्षा समेत गरिएको थियो । गत आर्थिक बर्षमा वन कार्यालयले गरेका प्रगती बिबरण सहितको प्रस्तुति डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले राखेका थिए । उनले प्रत्येक बर्ष जिल्ला भित्र रहेका सामुदायिक वन र निजिवनका किसानहरुलाई राम्रो काम गरे बापत मुल्यांकन गरेर पुरस्कृत गरिदै आएको जानकारी दिए ।