युवतीसँगै होटलमा बसेका हमाल मृत अवस्थामा भेटिए

कोहलपुरका एक युवा होटलमा झुण्डिएको अवस्थामा फेला परेका छन । दाङको तुलसीपुरस्थित मानसरोवर होटलको कोठामा झुण्डिएको अवस्थामा रमेश हमालको शव भेटिएको हो । हेर्दा आत्महत्या जस्तो देखिएपनि घटना रहश्यमयी भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । मृतक हमालसँगै एउटै कोठामा बसेकी एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकी युवतीले झण्डै डेढ महिनाअघि मात्रै मृत्तक हमालविरूद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा जबरजस्ती करणीको मुद्दा समेत हालेको खुल्न आएको छ ।

युवतीले हमालविरुद्ध बलात्कारको मुद्दा हाले पनि केही समयपछि नै फिर्ता लिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकी युवतीले आफू निदाएको समयमा हमालले डोरीले पासो लगाएर आत्महत्या गरेको बयान दिएकी छन् । युवतीको भनाई उद्धृत गर्दै जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले भने, ‘म निदाएको समयमा आवाज सुनेपछि उठेर हेर्दा झुण्डिएको देखें । मैले बचाउन अनेक प्रयास गर्दा पनि निकाल्न सकिनँ । अनि तत्काल मैले दौडिएर गई होटल मालिकलाई बोलाएर ल्याएकी हुँ ।’

घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै एसपी पाण्डे भने, ‘बलात्कारको मुद्दा हालेको केही समयमै युवतीले आफैं मुद्दा फिर्ता लिएको खुल्न आएको छ, शायद उनीहरूको बाहिर नै कुरा मिल्यो होला ।’

नयाँ पेजबाट साभार