सिभिल बैंकको ९६ औं शाखा कोहलपुरमा उद्घाटन

सिभिल बैंकले आफ्नो ९६ औं शाखा कोहलपुरमा संचालनमा ल्याएको छ । बिहिबार कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले शाखाको उद्घाटन गरेका छन । बाँकेको दोस्रो ठुलो शहर कोहलपुरमा बैंक तथा बित्तीय संस्थाको संख्या योसंगै ३१ पुगेको छ । यहाँ थप शाखा खोल्ने क्रममा जारी छ ।

कोहलपुरका मेयर रावतले शाखा उद्घाटन गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र पहुँच नभएकाको सारथी बन्न बैंक तथा वित्तीय क्षेत्रलाई सुझाव दिए । कृषि क्षेत्रमा नगरपालिकाले ल्याएका योजनामा सहकार्य गर्न जोड दिए । रावतले बैंक तथा वित्तीय क्षेत्रको उपस्थितीले जनतामा परिवर्तन ल्याउन सक्नुपर्नेमा जोड दिए ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुृर अधिकारीले कोहलपुरमा बैंक तथा वित्तीय क्षेत्रको संख्या बढ्नुले यहाँको परिवर्तन झल्काएको बताए । अध्यक्ष अधिकारीले उत्पादनमुकल क्षेत्रमा लगानी बृद्धि भइरहेको बताउँदै अस्थिर ब्याजदर उद्योगी, व्यवसायीका लागि चुनौती बनेको उल्लेख गरे ।

बैंकको उद्घाटन समारोहमा बोल्दै बैंकका प्रदेश प्रमुख किरण धमलाले कोहलपुर क्षेत्रमा सिभिल बैंकले सेवाग्राही माझ फरक छाप छोड्ने बताए । पछिल्लो समय वित्तीय क्षेत्रमा ठुलो परिवर्तन आएको बताउँदै धमलाले बैंकले त्यस्तै नाफा खाना खान्छन् भन्नु गलत हुने उल्लेख गरे ।

कार्यक्रममा कोहलपुर वडा नम्बर ११ का वडा अध्यक्ष कर्ण थापा, इलाका प्रशासन कार्यालयका प्रमुख दत्तराज हमाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रदिप वाग्ले लगायतले आफ्नो मन्तव्य राखेका थिए ।