पर्यटक भित्रने मुलुकमा भारत पहिलो, चिन दोस्रो

सन् २०१८ मा छिमेकी मुलुक भारत र चीनबाट धेरै सङ्ख्यामा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्ला वर्षजस्तै नेपालमा बढी पर्यटक भित्रने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा छन् । भारतबाट सन् २०१८ मा एक लाख ९४ हजार ३२३ र सन् २०१७ मा एक लाख ६० हजार १३२ पर्यटक नेपाल आएका थिए । सोही अवधिमा क्रमशः चीनबाट एक लाख ५३ हजार ६३३ र एक लाख चार हजार ६ सय ६४ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

बढी पर्यटक भित्रने मुलुकमा संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा छ भने श्रीलङ्का चौथो र संयुक्त अधिराज्य बेलायत पाँचौँ स्थानमा रहेका छन् । सन् २०१७ मा पनि बढी पर्यटक आउने मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा थिए । अमेरिका तेस्रो र श्रीलङ्का चौथो, बेलायत पाँचौ स्थानमा रहेको थियो । सन् २०१८ मा अमेरिकाबाट ९१ हजार ८९५, बेलायतबाट ६३ हजार ४६६ र श्रीलङ्काबाट ६९ हजार ६४० पर्यटक नेपाल आएका थिए ।

सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी हो । यो सङ्ख्यामध्ये पुरुष छ लाख २४ हजार ९२८ र महिला पाँच लाख ४८ हजार १४४ रहेका थिए । अघिल्लो वर्ष सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो हवाई र स्थल दुवै मार्गबाट आउने पर्यटकको सङ्ख्या हो । पर्यटकको सङ्ख्या बढे पनि समग्रमा पर्यटकको बसाइँ अवधि भने थोरै घटेको देखिएको छ । सन् २०१८ मा पर्यटकको बसाइँ अवधि १२.४ दिन रहेको छ । अघिल्लो वर्ष १२.६ रहेको थियो ।

नेपाल आउने विदेशी पर्यटकमध्ये अधिकांश बिदा मनाउन र मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन् । सन् २०१८ मा सात लाख तीन हजार ८४३ बिदा मनाउन र एक लाख ८७ हजार ६९२ धार्मिक कामका लागि आएका थिए । सन् २०१७ मा छ लाख ५८ हजार १५३ बिदा र मनोरञ्जन र एक लाख ४१ हजार ३३ धार्मिक उद्देश्यका लागि नेपाल आएका थिए ।