भारतीय एयरलाइन्सलाई उछिन्दै नेपाल एअरलाइन्सले राख्यो नयाँ रेकर्ड

सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स-२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो वर्ष एक नम्बरमा रहेको भारतको जेट एयरलाइन्सलाई उछिन्दै एक नम्बरमा स्थान जमाएको हो । आर्थिक सङ्कटमा परेपछि जेट एयरवेज केही महीनादेखि बन्द रहेको छ ।

बढी पर्यटक बोक्ने एयरलाइन्सको दोस्रोमा जेट एयरवेज, तेस्रोमा कतार, चौथो स्थानमा फ्लाई दुबई र एयर इन्डिया रहेका छन् । सन् २०१७ मा जेट एयरवेज प्रथम, नेपाल एयरलाइन्स दोस्रो, कतार एयरवेज तेस्रो, एयर अरेबिया चौथो र फ्लाई दुबई पाँचौँ स्थानमा रहेको थियो ।

निगमको वार्षिक प्रतिवेदन अनुसार सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा प्रदायक कम्पनीमा नेपाल एयरलाइन्स पहिलो स्थानमा पुग्न सफल भएको छ । उक्त अवधिमा निगमले चार लाख ९३ हजार १७० यात्रुलाई सेवा दिई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत ओगट्न सफल भएको छ । निगमले भारतका तीन गन्तव्यसहित छ देशका आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमले हाल दुई वाइडबडी ए-३३०, दुई न्यारोबडी ए-३२० जहाजले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ । निगमको एक मात्र बोइङ ७५७ बिक्रीका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ ।