प्रहरीले सुरक्षा कार्ययोजना सार्वजनिक गरेकै दिन बाँकेमा पत्रकार कुटिए

जिल्ला प्रहरी कार्यालय बाँकेले शान्ति सुरक्षाकालागि ११ बुँदे कार्ययोजना सार्वजनिक गरेकै दिन बाँकेका ३ जना पत्रकारमाथी हातपात भएको छ । भर्खरै सरुवा भएर बाँके आएका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जनतालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाई सबै प्रकारको भयत्रासबाट मुक्ती दिलाउने घोषणा गरेकै दिन पत्रकारमाथी हातपात भएको हो ।

एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख दुर्गा रोकाय, पत्रकार जागेश्वर चौधरी र भिम पौडेललाई बुधवार दिउँसो बाटिका होटलका कर्मचारीले कुटपिट गरेका हुन । होटलका कर्मचारीले कुटपिट गर्नेक्रममा एभिन्यूज टेलिभिजनको क्यामेरा र पत्रकारहरुको मोवाईलसमेत क्षतिग्रस्त भएको छ । केही समयपहिले होटल बाटिकाबाट भारतीय सेनामा भर्ना गराईदिने भन्दै युवासँग रकम लिएको समूह ३५ लाख रुपैयाँसहित पक्राउ परेको थियो । सोही समाचारको पिटिसी लिने क्रममा होटल बाहिर होटलका कर्मचारीहरुले फुटेज डिलिट गर्न भन्दै पत्रकारहरुलाई कुटपिट गर्दै क्यामरा खोसेका थिए ।

उनीहरुले पत्रकार रोकायलाई कुटपिट गर्दै नियन्त्रणमा समेत राखेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले पत्रकारहरुलाई कुटपिट गर्ने होटलका कर्मचारी भुवनबहादुर खड्कासहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । यसैबीच बाँकेका पत्रकारहरुले एसपी वलीलाई भेटेर पत्रकारलाई कुटपिट गर्नेमाथि कडा कारवाहीको माग गरेका छन् ।