भारतिय तरकारीको विषादी जाँच गर्ने मन्त्री पौडेलको घोषणा

५ नं. प्रदेश सरकारकी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले भारतीय बजारबाट आयात गरीने तरकारीको विषादी चेकजाँच गर्ने घोषणा गरेकी छन । रुपन्देहीको बुटवल र बाँके जिल्लाको नेपालगञ्जमा विगत केही समय देखि बन्द रहेका विषादी अवशेष द्रुत विश्लेषण एकाई (प्रयोगशाला) लाई पुन संचालनमा ल्याउन मन्त्री पौडेलले निर्देशन दिएकी हुन ।

मन्त्री पौडेलका अनुसार कर्मचारी अभावमा बन्द रहेका दुई वटा विषादी मापन गर्ने प्रयोगशालालाई जनशक्ती बढाएर पुनः सञ्चालन गर्न लागिएको हो । मन्त्री पौडेलले ‘केन्द्र सरकारबाट सञ्चालनको स्वीकृत लिई प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गरी सञ्चालन गर्ने योजना बनाएको बताईन । मन्त्री पौडेलले पहिलो चरणमा बुटवल कृषि उपज थोक बजार केन्द्र बुटवलमा रहेको प्रयोगशाला सञ्चालन गर्ने योजना बनाएको बताईन । जसको प्रारम्भिक अनुगमन गरेर के कस्तो अवस्थामा रहेको छ भन्ने विषयमा जानकारी लिने र प्रदेश सरकारबाट कर्मचारी पठाएर सञ्चालन गर्ने योजना रहेको मन्त्रीका स्वकिय सचिव सुर्य रोकायले जानकारी दिए ।

केन्द्रीय सरकारको मातहतमा रहेका नेपालभरका विषादी अवशेष द्रुत विश्लेषण एकाई (प्रयोगशाला) कर्मचारी अभावको कारण बन्द भएका थिए । केही समय पहिला सञ्चालनमा रहेका प्रयोशाला कर्मचारी समायोजन पश्चात कर्मचारीहरु समायोजन भएर गएपछि बन्द भएका थिए । जसको कारण बुटवलमा रहेका विषादी अवशेष द्रुत विश्लेषण एकाई (प्रयोगशाला) बन्द भएको थियो । रोपाईको सिजन सुरु भएसंगै मलको अभाव भएको गुनासो बढे पछि मन्त्री आरती पौडेलले चासो देखाएकी हुन ।