एकै ठाँउमा पूर्ब माओबादीका तीन ठुला नेता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण र समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई सोमबार एकै ठाउँमा देखिए। कुनै बेला यी तीन नेताहरु पूर्ब माओबादीमा सँगै सहकार्य गरेका थिए । तीन पार्टीका अध्यक्ष कुनै राजनीतिक छलफलका लागि भेला भएका थिएनन्।

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य, गोरखाका वामपन्थी नेता श्रीनाथ अधिकारीको निधन भएपछि कुपन्डोलस्थित पार्टी कार्यालय पुगेर उनीहरुले श्रद्धाञ्जली दिए।

लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित अधिकारीको उपचारको क्रममा आइतबार बेलुकी निधन भएको थियो। सोमबार पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि अधिकारीको पार्थिव शरीर राखिएको थियो।

महासचिव वैद्यले पार्टीको झन्डा ओढाएर अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए। श्रद्धाञ्जली दिन नेकपा अध्यक्ष दाहाल, समाजवादी पार्टीका अध्यक्ष भट्टराई, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा नेता जनार्दन शर्मालगायत नेता पुगेका थिए।

अधिकारीलाई श्रद्धाञ्जली दिँदै भट्टराईले भने, ‘२०३० को दशकदेखि श्रमीकवर्गीय आन्दोलनमा लागेर अधिकारीले कायम गर्नुभएको त्याग र निष्ठाको राजनीतिको उच्च मानकले हामी सबैलाई लामो समयसम्म दिशाबोध गरिरहनेछ।’

२०११ सालमा गोरखाको हंशपुरमा जन्मिएका अधिकारी २०३२ सालदेखि पूर्णकालीन रुपमा कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए। दशवर्षे जनयुद्ध लडेका अधिकारी माओवादी पार्टी विभाजनसँगै बैद्य नेतृत्वको पार्टीमा लागेका थिए।

२०४८ सालमा गोरखामा संयुक्त जनमोर्चाबाट उमेद्वार बनेका अधिकारी पराजित भएका थिए। अधिकारीको सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छोरा नारायण अधिकारीले जानकारी दिए। सेतोपाटीबाट साभार।