स्थानीय तहका पदाधिकारीलाई स्वास्थ्य सम्बन्धी अभिमुखिकरण

स्वास्थ्य कार्यालय बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको संयोजनमा कोहलपुर नगरपालिकाका वडा अध्यक्ष, दलित महिला सदस्य र स्वास्थ्य चौकी इन्चार्जहरुलाई स्वास्थ्य सेवा सम्बन्धी दुई दिने क्षमता विकास तथा अभिमुखिकरण तालिम शुरु गरिएको छ ।

जिल्ला समन्वय सिमति बाँकेका संयोजक अजय श्रीवास्तवलेसो अभिमूखिकरण कार्यक्रमको मंगलबार कोहलपुरमा उदघाटन गरेका हुन । श्रीवास्तवले स्वास्थ्य क्षेत्रको विकास पनि विकासको महत्वपूर्ण पक्ष रहेकाले मानिस स्वस्थ्य नभई कुनै पनि विकास गर्न नसकिने बताए । उनले विशेष जोड दिदै भने, ‘कोहलपुर नगरपालिकाले बाँकेमा जसरी साक्षर नगरपालिका घोषणामा पहिलो भयो त्यसरी नै कुपोषण मुक्त नगरपालिका घोषणामा पनि पहिलो भएर देखाओस् ।’ बाँके अझै पनि स्वास्थ्यको क्षेत्रमा पछाडि परेको र त्यसमा सुधार ल्याउन पालिकाहरुले धेरै मेहनत गर्नु पर्ने अवस्था रहेको श्रीवास्तवले सुझाव दिए ।

मंगलबार र बुधबार सञ्चालन हुने सो कार्यक्रम कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले प्रत्येक वडामा रहेका पाँच जना जनप्रतिनिधि वडाको पाँच स्थानबाट स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम चलाउदा हरेक वडामा छिटै स्वस्थ्य सम्बन्धी जनतालाई जानकारी प्राप्त गर्ने बताए । साथै प्रमुख रावतले प्रत्येक वडाका जनप्रतिनिधिहरु र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले वडामा महिला, बालबालिका तथा अन्य कुपोषणमा परेका व्यक्तिहरुको यथार्थ तथ्याङ्क राख्न आग्रह समेत गरे ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख प्रेम के.सी.ले सहभागीहरुलाई स्वास्थ्य सेवा सम्बन्धी जिम्मेवारी तथा अधिकार, गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको महत्व , उपयोग र पहुँचमा अभिवृद्धी, तथ्यमा आभारित सहभागीतामुलक स्वास्थ्य योजना तर्जमा तथा पालिका र वडा स्तरमा योजना तयार पार्ने प्रक्रियाहरुको बारेमा जानकारी गराएका छन् । सो अभिमुखिकरणको सहजीकरण प्रदेश स्वास्थ्य इकाई कार्यालय बाँकेका संयोजक राम बहादुर चन्दले गरेका थिए ।