घर बहाल सम्बन्धि स्पष्ट निति बनाउन माग

घर बहाल सम्बन्धी स्पष्ट नीति बनाउन माग गरिएको छ । बाँकेका दुई स्थानिय निकाय कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकामा आइतबार ज्ञापन पत्र बुझाउँदै घर बहाल सम्बन्धी स्पष्ट नीति ल्याउन माग गरिएको हो ।
स्थानीय सरकारले घर बहाल सम्बन्धी स्पष्ट नीति निर्माण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने नेपाल घर बहाल उपभोक्ता मंच बाँकेका कार्यवहाक अध्यक्ष तिलक सिंह कार्कीले माग गरे । विभिन्न ७ बुँदे माग सहित कोहलपुर नगरपालिका पुगेको मंचका पदाधिकारीहरुले नगर प्रमुख लुट बहादुर रावतलाई ज्ञापनपत्र बुझाएका थिए ।
कार्कीले घर बहाल कर समेत डेरावालासँग असुल गरिने परिपाटीको अन्त्य गरिनुपर्ने बताए । ‘अहिले घर बहाल कर घरमा बस्ने भाडावालासँग असुल्ने गरिएको छ’ उनले भने, ‘यसको अन्त्य गर्दै घरधनीबाट नै घर बहाल कर लिइनुपर्छ ।’

घर जग्गा बहाल सम्बन्धी स्पष्ट नीति निर्माण गर्ने र नीति निर्माण गर्दा मंचसँग समन्वय हुनुपर्ने माग समेत राखिएको छ । ‘घर जग्गा भाडामा दिँदा वा लिँदा दुई पक्ष विच लिखित सम्झौता गर्नुपर्छ’ उनले भने, ‘सम्झौता गराउँदा नेपाल घर बहाल उपभोक्ता मंचको रोहोबर र नगरपालिकाले पनि त्यसको प्रमाणित गर्नुपर्छ ।’

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख रावतले घर बहाल कर स्वंय घरमालिकले नै तिर्नुपर्ने बताए । ‘घर बहाल कर भाडामा बस्ने मानिसले तिर्ने होइन’ उनले भने, ‘घर भाडामा दिने घरधनीले तिर्नुपर्छ ।’ ‘व्यवसायीबाट नाफा आएको मात्र हामीले कर लिने हो तर हामीले घरमा बसेको कर लिने गर्दनौं’ नगर प्रमुख रावतले भने, ‘भाडामा बस्ने व्यक्तिहरुले भने कर तिर्नुपर्देन । उसले कोठाको भाडामात्र घरमुलीलाई दिने हो ।’