बस दुर्घटना हुँदा २९ जनाको मृत्यु

भारतको लखनउबाट दिल्ली जाँदै गरेका बस दुर्घटनामा २९ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश यमुना एक्सप्रेसको बस सोमबार बिहान आगरा नजिकै दुर्घटना भएको हो ।

५० यात्रु बोकेर लखनउबाट दिल्लीको जाँदै गरेको बस दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बस चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चालक निदाएर बसको नियन्त्रण गुमाउँदा बस राजमार्गबाट तल नहरमा खसेर दुर्घटना भएको बताइएको छ ।

बिहान ४ बजेर ३० मिनेटमा भएको दुर्घटना लगत्तै स्थानीय तथा सुरक्षाकर्मीहरु उद्दारमा जुटेका थिए । घाइतेहरुको लखनउस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केही महिला तथा बालबालिका पनि रहेका छन् ।

घटनापछि मुख्यमन्त्री योगी आदित्यनाथले उद्दार तथा राहत कार्यमा तदारुकता दिन निर्देशन दिएका छन् । मृतकका परिवारलाई सरकारले राहतस्वरुप ५-५ लाख रुपैयाँ दिने भएको छ । भारत संसारमै सबैैभन्दा बढी सवारी साधन दुर्घटना हुने राष्ट्रमध्येको एक हो । भारतमा हरेक ४ मिनेटमा एउटा दुर्घटना हुने गरेको तथ्यांक रहेको छ ।