बिमा रकमको लोभमा ४ वर्षीया छोरीको हत्या

२५ लाख बिमा रकमको लोभमा एक पुरुषले आफ्नै छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका-६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले असार १६ गते ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरेका हुन् । यादवले छोरीको शव पोखरीमा फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बीमाको रकम हात पार्नका लागि नाबालिका छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए ।

रौतहटको गरुडामा रहेको प्रभु बैंकमा कान्छी छोरीको नामबाट २५ लाखको बिमा गराएको २९ औं दिनमा हत्या भएको प्रहरीले बताएको छ । पौने २ लाख बैंकलाई बुझाइसकेका यादवले पैसा कमाउने लोभमा छोरीको हत्या गरेको प्रहरी नायव उपरीक्षक कार्कीको भनाइ छ । छोरीलाई यादवले घरमै कुटपिट गरी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।