सर्लाही घटनाको तथ्य खोतल्दै मानव अधिकारवादीहरु

सर्लाही घटनाको सत्यतथ्य बुझ्न मानवअधिकारवादी संस्थाहरु त्यसतर्फ प्रस्थान गरेका छन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज समेत रहेका ४७ वर्षीय कुमार पौडेलको मृत्युको तथ्य पत्ता लगाउन मानवअधिकारवादीहरु सर्लाही पुगेका हुन । असार ५ गते दिउँसो प्रहरी कारबाहीमा मृत्यु भएको भनिएको घटनाको सत्यतथ्य बुझ्न एक टोली सर्लाही प्रस्थान गरेको इन्सेकले जनाएको छ ।

इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवानको नेतृत्वमा मानव अधिकार संस्थाका प्रतिनिधि सम्मिलित टोली असार ६ गते घटनास्थल प्रस्थान गरेको इन्सेकले जनाएको हो । लालबन्दी नगरपालिका९१ मा रहेको जङ्गलमा दुई ओटा मोटरसाइकलमा रहेका चार जना व्यक्तिले गस्तीमा रहेको प्रहरीमाथि गोली चलाएपछि जबाफी फायर गर्दा पौडलेको मृत्यु भएको र अन्य तीन जना फरार भएको प्रहरीले जनाएको थियो ।

टोलीले विभिन्न माध्यमबाट सङ्कलन गरेको विवरणका आधारमा तयार पारिएको प्रतिवेदन केही समयभित्र सार्वजनिक गरिने पनि इन्सेकले जनाएको छ ।