एक लाख घुससहित इञ्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई रू एक लाख घुससहित पक्राउ गरेको छ । राजविराज नगरपालिका-६ स्थित उनको डेराबाट श्रेष्ठलाई घुसवापत लिएको एक लाखसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

आयोगको इटहरीस्थित सम्पर्क कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुको नेतृत्वमा आएको टोलीले बिहिबार राजविराज नगरपालिका-६ स्थित उनको डेरामा छापा मार्दा एक लाख घुस लिएको रकम फेला पारेको राजविराज नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रेमकुमार यादवले बताए ।

बोदे बसाइन नगरपालिकास्थित तरही र देउरी गाउँ जोड्ने स्वर्ण खोलाको झोलुङ्गे पुल निर्माण कार्यको पेश्की फछ्र्यौटका लागि मूल्याङ्कन गर्ने क्रममा रु एक लाख घुस लिएको आयोगको जिकिर छ । स्वर्ण खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजीव रायले बिहानै श्रेष्ठको डेरामा रु एक लाख बुझाएका थिए ।

पहिलो किस्तावापत पेश्की लिएको आठ लाख बराबरको काम सम्पन्न नभएको भन्दै मूल्याङ्कन हुन नसक्दा उपभोक्ता समितिले दोस्रो किस्ता वापतको पेश्की रकम उठाउन पाएको थिएन । तत्कालीन जिल्ला विकास समितिले उपलब्ध गराएको रकमबाट विसं २०७० देखि नै थालिएको पुल निर्माण मूल्याङ्कन नहुँदा अधुरै छ । पक्राउ परेका श्रेष्ठले स्वर्ण खोलाको काम बोदे बसाइन नगरपालिकाअन्तर्गत परेकाले आफूले मूल्याङ्कन गर्न नमिल्ने बताए पनि उपभोक्ता समितिले मूल्याङ्कन गरी दिन दबाब दिँदै आएको थियो ।