दीपबहादुर श्रीष : जो बाघसँग लडेर जिउँदै फर्किए !

मृत्युसँग लडेर जिउँदै फर्किएका बाँकेको खजुरा गाँउपालिका ३ धौलागिरीका दीपबहादुर श्रीषलाई बाँकेमा भब्य स्वागत गरिएको छ । गत जेठ १३ गते बाघको आक्रमणमा परेर गम्भीर घाइते भएका श्रीष अस्पतालबाट डिस्चार्ज भएर फर्किएका हुन । बाघले आक्रमण गरेपछि लामो समय बाघसँग भिडेका श्रीष सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
श्रीषलाई उपचारपछि घर फर्किने क्रममा गाउँलेहरुले सोमवार बाजागाजासहित स्वागत गरेका छन् । डिस्चार्ज हुने खबर पाएका स्थानियहरु श्रीषको स्वागतकालागि ९ किलोमिटर टाढा रहेको अस्पतालसम्म पुगेका थिए । शिक्षण अस्पताल नेपालगञ्जमा दुई साता लामो उपचारपछि घर फर्किने क्रममा श्रीषको स्वागतका लागि धौलागिरीका स्थानीय बासिन्दा बाजागाजासहित अस्पताल पुगेका हुन ।

बाघको आक्रमणबाट गम्भीर घाईते भएका श्रीष उपचारपछि घर फर्किएपनि आफै हिँडडुल गर्न भने सक्दैनन् । बाघको आक्रमणबाट श्रीषको पाखुरा, ढाड र शरीरका अन्य भागमा चोट लागेको छ । यसैबिच श्रीषको दैनिकीमा सहजताकालागि खजुरा गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष कान्तुराम गौतमले ह्विलचेयर प्रदान गरेका छन ।