कोहलपुर नगरपालिकाले दियो ५८ जनालाई रोजगार

कोहलपुर नगरपालिकाले ५८ जना वेरोजगार युवायुवतीहरुलाई रोजगारी दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पहिलो चरणमा पाँच वटा वडाका ५८ बेरोजगारलाई रोजगार दिईएको हो । पहिलो चरणमा वडा नं. ३, ८, ११, १२ र १३ का युवायुवतीहरुलाई एक महिनाकालागि रोजगार प्रदान गरिएको नगरपालिका सञेतले जनाएको छ । नगरपालिकाले एउटा वडाबाट १५ जनाका दरले यसै आर्थिक वर्षमा तीन सयलाई रोजगारी दिने तयारी गरेको छ ।

रोजगारका लागि छनोट भएका युवायुवतीहरुलाई नगरको सरसफाईमा खटाईएको र वडा कार्यालयबाट आएका योजनाका आधारमा अन्य काममा समेत खटाईने कोहलपुर नगरपालिकाका रोजगार अधिकृत भद्र थापाले बताए । युवाको योग्यता, क्षमता, दक्षता र सीपअनुसार काम दिइने बताउँदै उनले धेरैजसो युवालाई विकास, निर्माणमा खटाईने बताए । ‘पढेलेखेका युवालाई कार्यालयको काममा पनि खटाउने योजना छ,’ थापाले भने ।

कोहलपुर नगरपालिकामा पाँच हजार २५ युवाले रोजगारका लागि निवेदन दिएका थिए । तिनै मध्येबाट विपन्न, अल्पसंख्यक, सिमान्तकृत र पछाडि परेका समुदायका युवालाई छनोट गरी रोजगार दिईएको हो । यसैबिच नेपालगन्ज उपमहानगरपालिकाले पनि युवालाई रोजगारी दिने तयारी गरेको छ । उपमहानगरका रोजगार अधिकृत हरिबोल भट्टराईले वडाबाट योजना माग गरिएको बताए । उनले अबको एक हप्ताभित्र नेपालगन्जमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुने बताए ।