विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य वली पक्राउ

सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य बलबहादुर वली ‘सितल’ पक्राउ परेका छन् । प्रहरीले मंगलबार विहान भेरीउत्तरगंगा नगरपालिका–५, भजेनीबाट वलीलाई पक्राउ गरेको हो । उनी नेकपाको भेरी व्यूरो ईन्चार्ज समेत हुन् ।

प्रहरीले वलीसँगै नेकपाका भेरी व्यूरो सदस्य तथा सुर्खेत जिल्ला सेक्रेटरी खड्गबहादुर खड्का यमराजलाई पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले वली र खड्कालाई मंगलबार विहान साढे नौ बजे पक्राउ गरेको जानकारी दिए । प्रवक्ता क्षेत्रीले पक्राउ परेकाहरुको साथबाट महत्वपूर्ण दस्तावेज नियन्त्रणमा लिईएको बताए ।

पक्राउ परेका वली र खड्का दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको र थप अनुसन्धान भईरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए । वलीको घर भने दाङ हो ।

www.nagarikkhabar.com बाट साभार ।