‘बालमैत्री उपमहानगर’ म्यागेजिनको बिमोचन

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्तरीय बाल क्लव सञ्जालले ‘बालमैत्री उपमहानगर’ म्यागेजिन पत्रिकाको प्रकाशन शुरु गरेको छ । पत्रिकाको मङ्गलवार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले विमोचन गरेका छन । बिमोचन समारोहलाई सम्वोधन गर्दै प्रमुख राणाले नेपालगन्ज उपमहानगरपालिका भित्र वडा नं. १० बाल क्लव सञ्जालले उदारणीय कार्य गरेको भन्दै सन्जालको प्रशंसा गरेका थिए ।

बालमैत्री उपमहानगरपालिका बनाउन आफूहरु लागि परेको उल्लेख गर्दै उनले यो अभियानमा सबैले सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे ।

वडा नं. १० का अध्यक्ष बिन्दुभुषण बस्नेतले वडामा बालबालिकाको क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको बालक्लव सञ्जालले पत्रिका प्रकाशन गरेर थप नयाँ काम गरेको बताए ।

नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख महिला विकास अधिकृत शोभा शाहले नेपालगन्ज उपमहानगरपालिका भित्रका २३ वडा मध्ये १० नं. वडा बालक्लव सञ्जालले पत्रिका प्रकाशन गरेर उदाहरणीय इतिहास कायम गरेको उल्लेख गरीन ।

५६ पृष्ठको म्यागेजिनमा बालबालिकामैत्री सामाग्रीलाई प्राथमिकता दिईएको सम्पादन संयोजक बसन्त बस्नेतले बताए । पत्रिका विमोचन समारोहमा प्रकाशन समूहका सदस्यहरुलाई प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको सल्लाहकार सम्पादक ऋतिक शाहीले जानकारी दिए ।