तराईमै फल्न थाल्यो स्याउ !

हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ तराईमा फल्न थालेको छ । रुपन्देहीको लुम्बिनी नर्सरीले लो चिलिङ्ग जातको स्याउ फलाएको हो। यसको बोट भारतको कलकत्ताबाट ल्याइएको थियो। तराईमा स्याउ फलाउने विषयमा अध्ययन गरिरहेका नर्सरीका सञ्चालक रमेश पाण्डेले दुई वर्ष अघि सो जातको स्याउको बिरुवा लगाएका थिए। गत वर्ष ४र५ वटा मात्रै फल लागेका थिए। यो वर्ष भने स्याउको बोटमा लटरम्म फल लागेका छन्।

जंगली प्रजातिको मिलिङ्ग जातको स्याउको बोटमा लो चिलिङ्ग जातको बोटको कलमेबाट यो स्याउको बोट तयार गरिएको हो। चिसो नभएको स्थानमा समेत यो जातको स्याउ फलेको छ। जापानी प्रजातिको यो स्याउ रुपन्देही मात्रै नभई गुल्मी र पाल्पामा समेत फलेको हो। सामान्यत स्याउ हिमाली र उच्च पहाडी क्षेत्रमा असारमा फल लाग्छ। तर गर्मी मौसमका कारण तराईमा बैशाखमै फल देखिएको उनले बताए। गत वर्ष फलेको फल गुलियो रहेको पाण्डेले बताए।
गत वर्ष आधा दर्जन फलमात्रै पाकेको थियो। यो वर्ष फल झरेन भने एक क्विन्टल स्याउ हुने पाण्डेले बताए। उनकै नर्सरीबाट विरुवा लगेका मणिग्रामका रमेश पराजुलीको घरमा समेत स्याउ फलेको छ। तराईमा समेत स्याउ फल्छ भन्ने सुनेका पराजुलीकै आग्रहमा नर्सरी व्यवसायी पाण्डेले बोट ल्याएका थिए। भारतका कतिपय क्षेत्रमा उच्च तापक्रममा समेत स्याउ फलाउने गरिएको छ।

अन्नपूर्णबाट साभार