निर्माणाधिन बसपार्कको संरचना हावाले भत्कायो (भिडियो सहित )

निर्माणाधिन अवस्थामा रहेको नेपालगन्ज बसपार्कमा जडान गरिएका ट्रष्टहरुमा हावाहुरीले क्षती पुर्याएको छ । बिहिबार राती आएको हावाहुरीले बसपार्कभित्र रहेको यात्रु प्रतिक्षालयको ट्रष्टमा क्षती पुर्याएको हो । अत्याधुनिक बसपार्क निर्माण गर्ने भनिएपनि सामान्य हावाहुरीबाटै बसपार्कका संरचनाहरु भत्कीएपछि स्थानियहरुले चिन्ता ब्यक्त गरेका छन । निर्माणाधिन अवस्थामै रहेको यात्रुप्रतिक्षालय भत्कीएपछि निर्माण कम्पनीको गुणस्तरीयतामा प्रश्नचिन्ह खडा भएको छ ।

नगर विकास कोषको ऋण लगानीमा नेपालगन्ज उपमहानगरपालिकाले गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण योजना सुरु गरेको थियो । तर निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको योजनाको काममा समेत चरम लापर्बाही देखिएको हो । पन्ध्र महिनाभित्र निर्माण सक्ने गरी युनाइटेड बिल्डर्सले अप्रिल २०१६ मा बसपार्कको जिम्मा लिएको थियो । अव्यवस्थित रुपमा सञ्चालित नेपालगञ्जको बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउन १५ महिनाभित्र निर्माण सक्ने सम्झौता भएता पनि सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा पुनः म्याद थप गरिएको थियो । निर्माण ढिलाइ भएपछि यातायात साधन पार्किङ गर्न, टिकट काउन्टर व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्न तथा टिकट काट्न समस्या भएको भेरी अञ्चल यातायात ब्यवसायी समितिका कर्मचारी बिष्णु सिंह ठकुरीले बताए ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण नेपालगञ्ज बसपार्कमा यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छ । निर्माण कार्यले गति लिन नसक्दा बसपार्क अलपत्र अबस्थामा छ । जसका कारण दिनहुजसो बसपार्कमा गाडी फस्ने सडक जाम हुने, ट्राफिक समस्या र दुर्घटनाका समस्याहरु भईरहेकोे चालक तथा गाडी धनीहरुको गुनासो छ ।
बसपार्क निर्माणको क्रममा जथाभावी माटो थुपारिँदा बसपार्क क्षेत्रको ब्यपार ब्यवसायमा समेत प्रभाब परेको छ । निर्माण कम्पनीले गत जुन महिनाभित्र काम सक्ने गरी रु. २० करोड लागत अनुमानमा नेपालगन्ज उपमहानगरपालीकासँग ठेक्का लिएको थियो । साढे चार बिगाह क्षेत्रफलमा फैलिएको बसपार्कमा टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र लगायतका संरचनाहरु निर्माण गरिने बताईएको छ ।