आर्मी पुरुष फुटबलको फाइनलमा

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्ज रंगशालामा मंगलवार भएको फुटवल खेलमा प्रदेश ५ लाई पराजित गरि त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेको छ । ट्राईब्रेकरमा प्रदेश ५ लाई ३–१ ले पराजित गरि आर्मी फाइनलमा प्रवेश गरेको हो ।  निर्धारित ९० मिनेटको अवधिमा दुवै समुहले दुई–दुई गोल गरेपछि ट्राइब्रेकरमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र शन्तोष तामाङले गोल गरे । जितेन्द्र कार्की र दीपक गुरुङले गोल गर्न सकेनन् । 
ट्राइब्रेकरमा प्रदेश ५ का कृष्ण रानाभाटले गोल गर्दा दिपेन सिंह ठकुरी, चेतन चौधरी र विवेक पुनले गोल गर्नबाट चुके ।  ट्राइब्रेकरअघि खेलमा आर्मीले २–० को अग्रता जोगाउन सकेन् । खेलको २० औं मिनेटमा दिपेनसिंह ठकुरीको आत्मघाती गोलबाट आर्मीले अग्रता बनाएको थियो । खेलको ३१ औं मिनेटमा दीपकुमार लामाले गोल गर्दै आर्मीको अग्रता २–० को बनाए ।


तर, खेलको ७५ औं मिनेटमा विनोद केसीले पेनाल्टीमा गोल गर्दै प्रदेश ५ लाई खेलमा फर्काए । त्यसपछि खेलको ८० औं मिनेटमा विनोदले पेनाल्टीमा नै व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । मंगलवार बेलुकी नेपाल पुलिस क्लब र एपीएफ क्लब बीच खेल हुने भएको छ ।