सीके राउतसँग होइन, प्रचण्डको तुलना माओ, स्टालिन र लेनिनसँग हुन्छ

तराईको केही ईलकामा पृथकतावादी आन्दोलन तथा अभियान चलाइरहेको सीके राउत समूहसँग ओली सरकारले गरेको १२ बुँदे समझदारीको मसी सुक्न नपाउँदै सरकारको आलोचना ह्वात्तै बढेको छ । सरकारमा रहेकाहरू राउतसँगको सहमतिलाई कसरी हुन्छ ‘पोजेटिभ भाइब’ दिने प्रयासमा हरदम लागेका देखिन्छन् भने सत्तारुढ दलकै केही नेता, आमजनता र विपक्षी पार्टीका नेताहरूले सहमतिको कठोर विरोध गरेका छन् । यद्यपि नेकपाभित्रै पनि बिरोधका स्वरहरू उठिरहेका छन् ।

खासगरी प्रमुख शंकाको विषय भनेको सरकारले गरेको सहमतिभन्दा पनि जनकपुर पुगेपछि सीके राउतका कार्यकर्ताले देखाएको राष्ट्रघाति रवैयाले मानिसहरू झस्केका छन् । के सीके राउत अझै पनि फ्री मधेशको पक्षमा छन्, कि तत्कालको निम्ति उनका कार्यकर्ताहरूलाई थामथाम थुमथुम पार्न मधेश आजादको नाटकमा अभिनय गरिरहेका छन्, त्यो स्पष्ट हुन बाँकी नै छ । तर काठमाडौंमा प्रधानमन्त्री, गृहमन्त्री लगायत शीर्ष नेताहरूसँग हात मिलाएर जनकपुर पुगेका राउतको गतिविधि भने सन्तोषजनक देखिन्न । यो थाहा पाउन उनको नामको सामजिक सञ्जाल फेसबूक र ट्विटरका अपडेटहरू काफी छन् ।
राउतको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा र्‍याली निकाल्यो । तर त्यो र्‍याली स्वभाविक थिएन, निकै भिन्न थियो र त्यो र्‍याली संविधान अनुकूल त थिएन नै, नितान्त विखण्डनको पक्षमा थियो । स्वागत र्‍यालीमा स्वतन्त्र मधेशको झण्डा प्रयोग गर्नुका साथै ‘सुरक्षागार्ड’ प्रदर्शन गरियो । उनीहरूले बुलेट प्रुफजस्तो देखिने ज्याकेट लगाए । खै किन हो कुन्नि, उनीहरूले कालो चश्मा र मास्क लगाएर अनुहार छोपेका थिए । तर यता राउतले काठमाडौंमा सरकारसँग भने स्वतन्त्र मधेशको पर्चा, पम्पलेट र झण्डा प्रयोग नगर्ने सहमति गरेका थिए ।

माथिका प्रसङ्ग तपशील हुन् । यसका बारेमा बहस जारी छ । इतिहासको कठघरामा यी बहसहरूले स्थान पाइरहने नै छन् । मुख्य कुरा त सीके राउतको नियत र नियति के हो त्यो पनि समयक्रमसँगै बाहिर आउँदै जाला । उनको तत्कालीन र दीर्घकालीन रणनिति विगतमा उनले भिडियो सन्देशमार्फत् जारी गरेका विखण्डनकारी प्रचार जस्तै हो कि ओलीको साथरसंगतले मनस्थितिमा बदलाव आएको छ, त्यो पनि लोकबासीका नाममा जगजाहेर हुँदैजाला । अपेक्षा गरौं ।

नेकपाका अध्यक्ष एवं देशका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट सीके राउतसँग सहमति गरे । हस्ताक्षर गृहमन्त्रीले गरे । अदालत कसरी प्रयोग भयो, वार्ताहरू कुन-कुन समूहसँग कस्ता नियतका साथ गरिए, त्यो अहिले नै भन्न हतारो हुनेछ । तर राष्ट्रिय सभामा ल्याउनेदेखि लिएर मन्त्रीसम्म बनाउन सकिने तर राउतले विखण्डनको बाटो त्याग्नुपर्ने ओली सरकारको ललीपपका प्रारूप बाहिर आएका छन् । राउत रातारात वैज्ञानिक, बुद्धिजीवी सबैथोक भएका छन्, तर ओलीले राउतलाई किन प्रचण्डसँग तुलना गरे रु यो अचम्म भएको छ ।

प्रचण्ड र सीके राउतको तुलना गरेर केपी ओलीले फेरि एकपटक आफ्नो संक्रिण सोचको उजागर गरेका छन् । फेरि एकपटक उही छुच्चो मुखको चक्कु चलाएका छन् । यही विषयमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सीके राउतसँग आफूलाई नजोडेको भए हुने भनेर प्रतिक्रिया दिएका छन् । सोमवार पोखरा विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । पक्कै यो प्रम ओलीले प्रचण्डलाई सीके राउतसँग तुलना गरेर खिस्सी गर्न खोजेका हुन् कि सीके राउतको उचाइ बढाइदिन खोजेका हुन्, त्यो भने शंकास्पद छ ।

भाषणको क्रममा ओलीले सीके राउतलाई असाधारण निर्णय क्षमता भएको, युद्ध पनि गर्न सक्ने, शान्ति पनि गर्न सक्ने, लोकतन्त्रको अभ्यास पनि गर्न सक्ने, देशको नेतृत्व पनि गर्न सक्ने यस्तो एउटै व्यक्ति भनेर चित्रण गरे । अन्तत: यस्तो व्यक्ति प्रचण्ड पनि भएको कुरा राखे । राउतलाई मूलधारको राजनीतिमा ल्याउने बहानामा विखण्डनको नारा बोकेर हिँडिरहरेको, पार्टीको फर्मेसन पनि राम्रो नभएको, चुनाव नलडेको, वैचारिक धार नै नभएको र स्वतन्त्र मधेसको वकालत गर्ने राउतलाई कसरी प्रचण्डसँग तुलना गर्न मिल्छ ?

हो प्रचण्ड मानिस हुन्, गल्ति कमजोरी सहितका । तर दुईपटक प्रधानमन्त्री भइसकेको मानिस, देशमा गणतन्त्र, समावेशी संविधान जस्ता मूलभूत अधिकारहरू स्थापित गर्न जीवनका यामहरू गुजारेको मानिस, दक्षिण एसियामा नै नेतृत्वको हिसाबले पहलकदमी लिन सक्ने वैचारिक नेता, देश, विदेशले पत्याएको नेतालाई कसरी सीके राउतसँग तुलना गर्न मिल्छ ? कसरी प्रधानमन्त्री जस्तो मानिस वार्तामा आएको विद्रोही शक्तिको प्रमुखलाई आफ्नो अध्यक्ष जस्तो भन्न मिल्छ ?

ओलीको बोलीले धेरैपटक समस्या निम्तिएको छ । यसपटक पनि कार्यकर्ता पंक्तिसम्म विवाद छ । यो रहिरनेछ । जस्तो कि यही सोमवार बिहान बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्दै प्रचण्डले जनकपुर विमानस्थलमा राउतको स्वागतका क्रममा भएका नारावादी, प्लेकार्ड, ब्यानर र दस्ता प्रदर्शनबारे जिज्ञासा राखेका थिए । जवाफ स्वरूप प्रधानमन्त्रीले सरकारसँगको सहमतिबारे राउतका कार्यकर्ता तहको बुझाइमा समस्या भएको हुनाले त्यस्तो गतिविधि भएको हुनसक्ने बताएका थिए । तर यस्तो कसरी हुनसक्छ रु यो सञ्चारको पहुँचको दुनिया छ । जब कि सरकार र राउतबीच भएको ११ बुँदे सहमतिको छैटौं बुँदामा संविधानको व्यवस्था र सहमति प्रतिकूलका प्रचार सामग्री उत्पादन, वितरण, प्रदर्शन गर्न नपाइने उल्लेख छ ।

राउतसँग भएका सहमतिहरूबारे जेसुकै बहस सिर्जना भएपनि नेकपा पार्टीको मूल स्प्रिडभन्दा पनि ओलीले सस्तो लोकप्रियता र गिर्दै गरेको सरकारको शाख जोगाउन यस्तो किसिमको कच्चा कदम चाल्न पुगे । राउतसँगको सहमतिसँगै वास्तवमा प्रचण्ड को हुन्, भन्ने कुरा उनले बिर्से । प्रचण्ड उनै थिए, जसले उनलाई प्रधानमन्त्री बनाएका थिए । जोखिमका बीच पार्टी एकता गरेर ओलीको बालुवाटारको यात्रा सहज बनाइदिएका थिए ।
प्रचण्ड भनेका नेपालका माओ हुन् । उत्पादन र समान अधिकारका लागि सङ्घर्ष, वर्ग सङ्घर्ष र त्यसको वैज्ञानिक प्रयोग नेपालको भूमिमा प्रचण्डले गरे । १२ वर्षको जनयुद्धले जनताहरूको चेतना र स्तरमा बदलाब ल्याएको छ । प्रचण्डले समाजवादी क्रान्तिमा पुग्न १२ वर्ष लडेर नयाँ जनवादी क्रान्ति गर्नुभयो । जब समाजवाद लागू गर्न अघि बढ्दै हुनुहुन्थ्यो, त्यतिबेला नै नेकपाको जन्म भयो । पार्टी एकता भयो र अहिले समाजवादको बहसले स्थान पाएको छ ।
माओकै शब्दमा भन्ने हो भने, ‘दाह्रा-नङ्ग्रा देखाएर आउने बाघभन्दा दश गुणा डरलाग्दा बाघ, साधारण ब्वाँसोभन्दा भेडाको छाला ओढेका दश गुणा पापी ब्वाँसो, साधारण गोलीभन्दा चिनीले बेरिएका दस गुणा विध्वंसक गोली’का विरुद्ध प्रचण्डले नेपालमा जनयुद्धको घोषणा गरेर निकै ठूलो जोखिम मोले । ती प्रवृतिका विरुद्धमा शुरूमा राजनितिक लडाईं, सांस्कृतिक लडाईं, पहिचान र जनताको अस्तित्वको लडाईं, अर्धसामन्ती तथा अर्धऔपनिवेशिक प्रवृत्तिविरुद्धको लडाईं सञ्चालन गरे ।

समनताका र क्रान्तिका शत्रुका रूपमा रहेका कथित जमिनदार तथा दलाल वर्गलाई मध्यमवर्ग तथा राष्ट्रिय पूँजीपति, निम्न पूँजीपति, अर्धसर्वहारा, सर्वहारालाई क्रान्तिका मित्रका रूपमा प्रचण्डले आन्दोलनमा होमे । उनले मजदूर र किसानलाई आधारभूत वर्गका रूपमा लिएर अर्धसर्वहारा, निम्न पूँजीपति र राष्ट्रिय पूँजीपतिलाई साथमा लिएर जन आन्दोलनको सृष्टि गरे, यद्यपि जन आन्दोलनमा अन्य दलको पनि भूमिका नभएको हैन, तर विचारको जगको निर्माणकर्ता प्रचण्ड नै थिए ।

हो हिंस्रक वा पृथकतावादी आन्दोलनमा रहेका समूह वा शक्तिलाई राज्यको मूल प्रवाहमा ल्याउनु राज्यको दायित्व हो । ओलीले आफ्नो दायित्व पूरा गरे । तर एउटै मञ्चमा बसेका प्रचण्ड को हुन्, त्यसको गरिमा राख्ने कुरा पनि ओलीको दायित्वभित्र पर्छ । जनमत संग्रहका बारेमा ओलीले भनिरहनु आवश्यक छैन, संविधान नै बोलेको छ कि नेपालको संविधानको भाग ३२, धारा २७५ मा यसबारे लेखिएको छ । जसमा ‘राष्ट्रिय महत्त्वको कुनै विषयमा जनमत संग्रहबाट निर्णय गर्न संघीय संसद्‍मा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ सदस्यको बहुमतबाट आवश्यक रहन्छ ।

कतिपय मुलुकमा माओ एक विवादास्पद् व्यक्ति मानिएता पनि चीनमा राजकीय रूपमा महान क्रान्तिकारी, राजनीतिक रणनीतिकार, सैनिक पुरोधा अनि देशरक्षक मानिन्छन् । नेपालमा पनि प्रचण्डको स्थान माओको जस्तै हो । कसैले यो कुरा मानोस् कि नमानोस् । प्रचण्ड नयाँ प्रजातान्त्रिक क्रान्तिको सिद्धान्तकार, समाजवादी क्रान्ति र समाजवादी निर्माणको सिद्धान्तकार, क्रान्तिकारी सेना निर्माण र सैन्य रणनीतिको सिद्धान्तकार, आदर्शवादी तथा राजनीतिक र सांस्कृतिक कार्यभारको सिद्धान्तकार, जनताको वृहत् पार्टी निर्माणको सिद्धान्तकार, अन्तर्राष्ट्रिय रणनीति तथा कूटनीतिक कार्यको सिद्धान्तकार, विचार पद्धति तथा कार्यविधिको सिद्धान्तकार हुन् । के सीके राउत यी सबै हुन् त ?

प्रचण्ड लेनिन पनि हुन् । सन् १८९२ देखि लिएर नमरुञ्जेलसम्म आफ्नो जीवनको सम्पूर्ण समय कम्युनिस्ट क्रान्तिकारी सङ्घर्षमा लगाएका भ्लादिमिर लेनिन विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरु हुन् । लेनिनले क्रान्तिकारी कम्युनिस्ट पार्टीका बारेमा नै नयाँ अवधारणा निर्माण गरे । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकताको विन्दु नै यही प्रचण्डले अंगालेको लेनिनवादी नीतिको परिणाम हो । लेनिनले आफ्नो पालामा कम्युनिस्ट आन्दोलनको कार्यभारलाई समाल्दै रुसी समाज र विश्वको अध्ययन मसिनो गरी गरे । त्यसैले प्रचण्डले नेपालमा भन्दैछन्, ‘विप्लवले मेरो नक्कल गर्न खोजे, तर उनी टिक्दैनन्, सखाप हुनेछन् ।’

प्रचण्ड स्टालिन पनि हुन् । स्टालिन (सन् १८७१-१९५३) सोभियत राजनीतिक नेता । स्टालिनले समाजवाद निर्माणका लागि देशका अन्य नेताहरूसँग मिलेर सक्रिय संघर्ष गरे । पार्टीविरोधी धाराहरू विशेष गरेर ट्रोत्स्कीवाद तथा दक्षिणपन्थी अवसरवादको पराजयमा निकै ठूलो भूमिका खेलेका थिए । स्टालिन नामको अर्थ हुन्छ, लौह पुरुष । स्टालिनले जुन तरिकाले आफ्नो जिन्दगी जिए, लाग्छ उनले आफ्नो नाम सार्थक गरे । उनले रुसलाई यति शक्तिशाली बनाए कि दोस्रो विश्वयुद्धमा हिटलरको जर्मन सेनालाई समेत पराजित गरे । नेपालमा पनि राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि प्रचण्डले कैयौं दल र शक्तिहरूसँग मिले ।

प्रचण्ड नेपालको राजनीतिमा केवल लौहपुरुष मात्र हैनन्, क्रान्तिकारीहरूको, प्रगतिवादीहरूको तथा उत्पीडित वर्ग र समुदायको प्रतीक हुन् । आदर्श हुन् । आलोचनालाई पनि हाँसीहाँसी ग्रहण गर्ने उनले आफूलाई जस्तोसुकै पीडाको गाडीमा पनि सफल नेता र देशको अविभावकको भूमिका निभएका छन् । यसकारण प्रधानमन्त्री जस्तो गरिमामा रहेको व्यक्तिले प्रचण्डका उपर सीके राउतको उदाहरण छिर्के हानेर आनन्द लिन खोज्नु केवल नमीठो दुस्साहस मात्र हो । जनताले पत्याउँदैनन् ।

लोकान्तरबाट साभार