‘आर्मी बन्ने रहर थियो, समाजसेवी भएँ’ : ज्ञानेन्द्रराज वली

राप्तीसोनारी गाँउपालिका वडा नं. २ कचनापुरका ज्ञानेन्द्रराज वली अहिले ३० वर्षका भए । जिल्लाकै सबैभन्दा दुर्गम बगौडा क्षेत्रमा जन्मीएका वलीले विद्यालय स्तरको शिक्षा जिल्ला सदरमुकाम नेपालगन्जबाट पुरा गरे । नेपालगन्जको ब्राईटल्याण्ड स्कुलमा १२ कक्षासम्म अध्ययन गरेका वली विद्यार्थी उमेरमै राजनितिमा सक्रिय भए ।
सुरुमा ईण्डियन आर्मि बन्ने उद्धेश्य राखेका वली लगातारको प्रयासमा असफल भएपछि राजनितिमा आएको बताउँछन । ‘ईण्डियन आर्मि बन्ने रहर जागेको थियो’ वलीले भने ‘३ चोटीको प्रयासमा पनि असफल भएपछि आर्मी बन्ने सपना छोडिदिए ।’
भारतीय सेनामा भर्ना हुन भारतको गोरखपुरसम्म पुगेको दिनहरु सम्झदैं वलीले भने, ‘ईण्यिन आर्मीमा भर्ना हुन नपाएपछि ब्रिटिस आर्मीकालागी प्रयास गरे तर त्यहाँ पनि छनोट हुन सकिन ।’
आर्मी बन्ने सपना तुहिएपछि विस्तारै राजनितिमा सक्रिय हुँदै गएको वली बताउँछन । २०६४ सालमा तत्कालीन नेकपा एमालेको युवा संगठन युथ फोर्सको नेपालगन्ज नगर कमिटि सदस्यबाट राजनितिक यात्रा सुरु गरेका वली युवा संघ नेपालगन्ज नगर कमिटिको अध्यक्ष हुँदै हाल जनप्रतिनिधी हुन सफल भएका छन ।
राजनितिक यात्रा सुरु गरेको झण्डै १० वर्षपछि वलीले वि.सं. २०७४ सालमा पहिलोपटक स्थानिय निर्वाचनको उम्मेदवार हुने अवसर पाए । तत्कालिन नेकपा एमालेले वलीलाई राप्तीसोनारी गाउँपालिका वडा नं. २ को वडा सदस्यको उम्मेदवार बनाएको थियो । राप्तीसोनारीको माटोमा खासै नझिजेका वलीलाई चुनाव जित्न कठिन थियो तर नतिजा सहजै उनको पक्षमा देखियो ।

‘वडावासीले म प्रति देखाएको विश्वासलाई जितमा बदल्न सफल भएँ’ वली भन्छन, ‘अब सम्पूर्ण जिवन समाजसेवामै विताउने योजनामा छु ।’ सामाजिक तथा राजनितिक रुपमा सक्रिय भएकै कारण आफुलाई स्थानियहरुले विश्वास गरेको वलीको बुझाई छ ।
वडा सदस्यमा विजयी भएयता वलीले आफ्नो पारिश्रमिक वापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको बताउँछन । आफ्नो निर्वाचन क्षेत्रको वेलवासमा करिव २ लाख ६० हजार लागतमा प्रतिक्षालय निर्माण गराएका वलीले ब्यक्तिगत लगानीमा लक्ष्मि मा.वि. को खेलमैदान मर्मत गर्नुकासाथै मदुवामा रहेको मन्दीरमा शिवको मुर्ति समेत स्थापना गराएका छन । युवाहरुलाई मध्यनजर गर्दै आफ्नै लगानीमा जिम क्लब समेत संचालन गर्ने योजना बनाईरहेका वलीले वडापालिकासँगको समन्वयमा स्थानिय स्तरमा नयाँ ट्याक खोल्ने, ग्राभेल गर्ने, कजवे पुल बनाउने लगायत विकास-निर्माणका अन्य योजनाहरु समेत संचालन गरिरहेका छन । छोटो समयमै राजनितिमा उदाएका वली सफल निर्माण ब्यवसायी समेत हुन ।

(ज्ञानेन्द्रराज वलीसँगको कुराकानीका आधारमा तयार पारिएको रिपोर्ट)