हिन्दु संस्कारसँग जोडिएका मुस्लीम !

मधेशी, मुस्लिम र पहाडी समुदायको बसोबास रहेको बहुजातीय तथा बहुभाषिक शहर हो, नेपालगन्ज।

नेपालगन्जमा एउटा हिन्दु धर्मावलम्बी घरबाट पूजा सामाग्री बोकेर निस्किँदा मस्जिदको बाटो हुँदै मन्दिर पुग्छ। त्यसैगरी नमाज पढ्न घरबाट निस्केको मुस्लिम धर्मावलम्बी मन्दिरको बाटो हुँदै मस्जिद पुग्नु यहाँको धार्मिक सहिष्णुताको अनुपम नमूना हो।

त्यसमाथि एकले अर्को व्यक्तिसँग कुराकानी गर्दा एकै साथ नेपाली, थारु र उर्दु भाषा प्रयोग गर्ने सामर्थ्य राख्छन्, अधिकांश नेपालगन्जबासी।

त्यसैले त नेपालगन्जमा दसैं, तिहार, होलीजस्तै जितिया, इद र मोहरमजस्ता पर्वको रौनक पनि विशेष हुने गर्दछ। धर्मका हिसाबले हिन्दु र इस्लाममा बाडिँएको भए पनि नेपालगन्जका मुस्लिम समुदाय इद, बकरइद र मोहरममा जस्तै दसैं र तिहारमा पनि उत्तीकै आफ्नोपन महशुस गर्छन्। एकअर्कामा शुभकामना आदानप्रदान गर्छन्।

मुस्लिम समुदायले मनाउने चाडपर्वहरुमा हिन्दु समुदायलाई पाहुनाका रुपमा स्वागत गरिन्छ र परम्परा अनुसार नै एकअर्कामा पर्वको उल्लास साटासाट गरिन्छ। ठिक यहि परिपाटी दसैं, तिहारलगायतका चाडपर्वमा पनि देख्न पाइन्छ।

नेपालगन्जले बाँडेको धार्मिक सहिष्णुताको यो अनुपम नमूनाले यसपटकको दसैंमा पनि निरन्तरता पायो। जसको एक उदाहरण बने अब्दुल वाहिद मन्सुरी चुन्ना। नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका चुन्ना दसैंको टिका थापिरहेका स्थानीय शक्ति शाहको घरमा पुग्दा माहोलले एकाएक फरक मोड लियो।

दसैंका बेला हिन्दुको घरमा टिका थाप्न एक मुस्लिम पुग्नुलाई आम रुपमा सामान्य अर्थ लिइँदैन। तर, नेपालगन्जका लागि यो विषय नौलो भने थिएन। चुन्ना पुगेसँगै शाहको घरमा दसैंको झनै उल्लास थपियो।

दसैं भएपनि मुस्लिम समुदायका चुन्ना दसैंको टीका थाप्न दिनभर नै व्यस्त भइरहे। ४० वर्षीय चुन्नाले आफ्नो दसैंको व्यस्तता यसरी सुनाए, यसपाला दसैं शुक्रबार पर्यो। मुस्लिमहरुका लागि शुक्रबार विशेष दिन हो। शुक्रबार अनिवार्य रुपमा नमाज पढ्नु पर्छ। त्यसैले बिहान मस्जिद पुगेर नमाज पढें। त्यसपछि शक्तिको घरमा गएको हुँ। पहिले शक्तिको बुवा आमाको हातबाट दसैंको टीका जमरा लगाएँ। आशिर्वाद लिएँ। त्यसपछि टिका जमरा लगाइदिने पालो मेरो थियो। क्रमैसँग शक्ति र परिवारका अन्य सदस्यहरुलाई टीका जमरा लगाई दिएँ।

दसैंलाई आमरुपमा मासु खाने चाडको रुपमा लिइन्छ। तर, मुस्लिम धर्मावलम्बीहरुमा हलाल गरेको मात्रै मासु खानु पर्छ भन्ने मान्यता छ। यस मान्यताप्रति शक्ति मात्रै होइन अधिकांश नेपालगन्जबासी जानकार छन्। त्यसैले मेरो लागि शक्तिले हलाल गरेकै मासुको व्यवस्था गरिदिए। अनि हामी सँगै बसेर खाना खायौं र रमाइलो गर्यौं।

त्यसपछि म अर्को साथी किस्मत सिंह थारुको घर गएँ। अंकल आन्टीसँग टीका थापें। अनि मैले पनि शक्तिकोमा जस्तै परिवारका अन्य सदस्यहरुलाई टीका जमरा लगादिएर आर्शिवाद दिएँ। चुन्नाले दसैंमा टीका जमरा लगाउन थालेको २७ वर्ष भन्दा धेरै समय भइसकेको छ। २०४७/०४८ सालतिर चुन्ना, शक्तिकी दिदी पूजा र किस्मत सिंह थारु नेपालगन्जको महेन्द्र माविमा पढ्थे।

उनीहरु स्कुले जीवनका मिल्ने साथीहरु थिए। स्कुले मित्रताले उनीहरुको सम्बन्ध पारिवारिक सम्बन्धमा बदलिएको थियो। उनीहरुको मित्रतालाई प्रत्येक वर्ष आउने विभिन्न चाडपर्वहरु दसैं, तिहार, इद र मोहरमले झनै गाढा बनाइदिने गर्दथ्यो। स्कुले जीवनदेखि नै उनीहरुले यसरी नै एकअर्काका चाडपर्व मनाउँदै आएका छन्।

अन्सारी पुनः धाराप्रवाह आफ्नो अनुभूति पोख्छन्, ‘मेरा लागि इद र मोहरम जस्तै दसैं र तिहार पनि प्रिय चाडपर्वहरु हुन्। मैले दसैं मात्रै होइन, भाइटीका पनि मनाउँछु। शक्ति र किस्मतको घरमा गएर दिदीबहिनीहरुलाई तिहारको टीका पनि लगाइदिन्छु।

अनि सेलरोटी खाएर रमाउँछु। मलाई सेलरोटी निक्कै मन पर्छ। मैले सेलरोटी पकाउने तरिका पनि सिकेको छु। पहिला मलाई सेलरोटी खान मन लाग्यो भने रोटी पकाउने भाँडा पनि म छिमेकी हिन्दु साथीको घरबाट मागेर ल्याउँथे र काम चलाउँथे।

शक्ति किस्मत र मैले दसैं, तिहार, इद र मोहरम मनाउँदै आएका छौं। मैले इदमा शक्ति र किस्मतलाई घर मै बोलाउँछु। दसैं, तिहारजस्तै हामी सँगै इद पनि मनाउँछौं।’

चुन्ना नेपालगन्जको घरबारी टोलमा बस्थे। किस्मतको घर भने नेपालगन्जबाट करिब ३५ किलोमिटर टाढा बाँकेको थपुवा गाउँमा थियो।

दसैं आउनासाथ किस्मतको घरमा चुन्ना आउने दिनको प्रतिक्षा सुरु हुन्थ्यो। चुन्ना आउने खबरले घरमा खुसियाली छाउने गरेको सम्झिन्छन् किस्मत पनि।

१५\१६ वर्ष पहिलेसम्म दसैंमा चुन्ना नेपालगन्जबाट बस चढेर कोहलपुर हुदैं थपुवा गाउँसम्म पुग्थे। किस्मत गाउँबाट राजमार्गसम्म साइकल लिएर उनलाई लिन आउँथे। अनि दुवैजना साइकल चडेर थपुवा गाउँ पुग्थे। चुन्ना किस्मतको घर पुग्नु अगावै कुखुराको भालेलाई समातेर राखिएको हुन्थ्यो।

किस्मतको परिवारसँग भेटघाट सकिना साथ चुन्नाले हलाल गरेर भाले काट्थे। मासुको व्यवस्था भएपछि दसैंको टीकाटालो सुरु हुन्थ्यो। अनि उनीहरु गाउँ पुगेर थारु समुदायले दसैंमा नाच्ने सखिया नाच हेर्थे।

त्यतिबेला अहिलेजस्तो सवारी साधन सहज रुपमा पाउन सकिदैंनथ्यो। त्यसकारण पनि नेपालगन्जबाट थपुवा पुग्न त्यति सहज थिएन। उतिबेलाको दिन सम्झिँदै किस्मतले भने, ‘तैपनि जसोतसो चुन्ना दाइ आइहाल्नु हुन्थ्यो। त्यसको केही वर्षपछि चुन्ना दाइले स्कट्र्स मोटरसाइकल किनेपछि थपुवा र नेपालगन्जको दुरी छोटिएको हो।’

त्यसको केही वर्षपछि त किस्मतको परिवार पनि नेपालगन्ज बसाइ सर्यो। सोपश्चात् भने दुवै जनालाई साथीको घरमा आउजाउ सहज हुन थाल्यो। र चाडपर्वको उल्लास झनै थपिन थाल्यो।

शक्ति भन्छन्, ‘चाडबाड भनेकै एक-आपसमा शान्ति, सद्भाव र प्रेम साटासाट गर्ने माध्यम हो। हामी पनि त्यही माध्यममार्फत एकअर्कामा जोडिएका न हौं। वास्तवमा म दसै‌ं, तिहारलाई इदजत्तिकै मन पराउँछु।’

 

www.nepallive.com बाट साभार