७ बैशाख २०८१, शुक्रबार
छोराले झाडीमा फालेपछि बृद्ध बुवाको मृत्यु !
  • काँचुली खबर

जनकपुरधाम | धनुषामा छोराले बुवालाई झाडीमा फालेर ज्यान लिएको घटना सार्वजनिक भएको छ । नगराइन नगरपालिकास्थित बेहरा गाउँका एक युवकले झाडीमा फालेर करिब ७० वर्षीय बुवा रामचन्द्र महतोको ज्यान लिएका हुन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाका अनुसार रामचन्द्रका करिब ४/५ छोरा छन् । एक छोराले मोटरसाइकलमा राखेर ६ दिन अगाडि नै घरबाट करिब ३५ किलोमिटर दुरीमा पर्ने बेलाचापीस्थित झाडीमा छाडेका थिए ।

एकछिनमा आउँछु भनेको छोरो फर्केर आएन । त्यसपछि स्थानीयले खुवाउन थाले, कोही चाउचाउ ल्याएर दिन्थे, त कोही विस्कुट । तर बुधवार बिहान अचानक उनको मृत्यु भएको छ ।

मृतक महतोको दाहिने हातमा घाउ देखिएको प्रहरी निरीक्षक कुशवाहाले बताए । उनको मृत्यु भएपछि फुलगामा चौकीसँग सहकार्य गरेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । ‘बुवालाई झाडीमा फाल्ने छोरो कुन् हो अहिले पत्ता लागेका छैन, अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘पहिचान खुल्ने वितिकै नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।’

प्रहरीका अनुसार भोक र पानीले उनी दिनरात छट्पटाउने गर्थे । खान नपाएर महतोको मृत्यु भएको अनुमान गरिएको छ । खाना अभावमा उनको शरीर सुकिसकेको देखिन्छ । उनको दाहिने हातमा घाउसमेत देखिएको छ ।

स्थानीयका अनुसार महतो लामो समयदेखि बिरामी थिए । उपचार गराउनुको साटो झाडीमा लगेर जन्म दिने बुवाको ज्यान लिएर छोराले अपराध गरेकाले कडा कारबाही गर्न स्थानीयले माग छ । मृतक महतोको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको छ ।

 

साभार : अन्नपुर्ण

  • १७ आश्विन २०७५, बुधबार २०:२३ प्रकाशित
  • Nabintech